२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

४ हजार ७ सय विद्यार्थी पढ्ने ज्ञानोदय हाँकिरहेकी विष्णु

shivam cement
भावना पाठक
२०८२ पुष २६ गते ०६:२५
Shares
४ हजार ७ सय विद्यार्थी पढ्ने ज्ञानोदय हाँकिरहेकी विष्णु

ज्ञानोदय माध्यमिक विद्यालय, जहाँ निजी विद्यालय छोडेर आउने विद्यार्थीकै ठुलो चाप छ । विद्यार्थी संख्या मात्र होइन, गुणस्तरमा पनि ज्ञानोदय उत्तिकै अब्बल छ । प्रधानाध्यापक विष्णु घिमिरे रिमालले महिलाले नेतृत्व गरेको विद्यालय कस्तो हुन्छ ? भन्ने दरिलो जवाफ दिएकी छन् । 

काठमाडौंको बाफलमा २०२० सालमा स्थापना भएको स्कुलमा उनी २०७२ सालपछि जोडिएकी हुन् । सुरुमा सहायक प्रधानाध्यापक भएर काम गरेकी उनी २०८० सालदेखि प्रधानाध्यापक छिन् । ४ हजार ७ सयभन्दा धेरै विद्यार्थी भएको उक्त विद्यालय देशकै उत्कृष्ट सामुदायिक विद्यालयमा पर्छ । २०५२ सालको एसएलसीमा ९० प्रतिशत विद्यार्थी पास भएपछि स्कुलको प्रोफाइल फेरिएको थियो । निरन्तर राम्रो नतिजा ल्याएर देशकै उत्कृष्ट विद्यालय बनेको ज्ञानोदय धेरै विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको छ । यस्तो स्कुलको विरासत जोगाउने जिम्मा प्रधानाध्यापक घिमिरेको काँधमा छ । 

आफू महिला भएकै कारण नेतृत्वमा आउन आफूलाई कुनै अप्ठेरो वा विभेद नभएको उनी बताउँछिन् । महिला भएकै कारण कुनै चुनौती नभए पनि विद्यालयको गरिमा जोगाउनु उनीमाथि चुनौती छ । विद्यालयमा विद्यार्थी संख्याका आधारमा पर्याप्त भौतिक संरचना छैन । बुक फ्री फ्राइडे र शिक्षामा सिप कार्यक्रमका लागि कक्षाकोठा व्यवस्थापन गर्न गाह्रो छ । सरकारी तलब मात्र होइन, विद्यालयको आन्तरिक स्रोतबाट समेत शिक्षक राखिएको छ । निःशुल्क शिक्षाको नारा लागिरहेको समयमा विद्यालयको सबैको खर्च–व्यवस्थापन गर्न सहज छैन । 

आफूले काम गर्ने संस्थामा उनलाई दिदी, आमाजस्तो व्यवहार गर्ने बताउँछिन् । ‘काममा सबैको साथ छ । टिममा मिलेर काम गर्दा नेतृत्व पनि सफल हुन्छ भन्ने लाग्छ,’ उनले भनिन् । 

त्यसो त उनी प्रधानाध्यापक नहुँदै विद्यालयले एउटा स्थान हासिल गरिसकेको थियो । अब त्यो स्थान जोगाउनु नै आफ्नो चुनौती ठान्छिन् उनी । ‘आएका सबै विद्यार्थीलाई भर्ना गर्न सक्ने स्थिति छैन । विद्यार्थी संख्याका आधारमा भौतिक संरचनाको अभाव छ,’ प्रधानाध्यापक रिमाल भन्छिन्, ‘त्यो अभावलाई व्यवस्थापन गरेर अझै धेरै विद्यार्थीलाई समेट्ने प्रयास भइरहेको छ ।’ 

उनले अबको १० वर्षमा ज्ञानोदयलाई प्रत्येक कक्षाकोठा आइसिटीमैत्री बनाउने सपना देखेकी छन् । बालमैत्री कक्षाकोठासहित भौतिक सुविधाले सम्पन्न भवनको पनि कल्पना गरेकी छन् । विद्यालयको आँगनमा विद्यार्थी खेलिरहेको दृश्य, हरियाली, शान्त वातावरण उनले कल्पना गरेको ज्ञानोदय हो । उनले आफ्नो यो सपना पूरा गर्न काठमाडौं महानगरले पनि सहयोग गरोस् भन्ने चाहना राखेकी छन् । ज्ञानोदयमा पढ्ने विद्यार्थी र पढाउने शिक्षक भन्नेबित्तिकै ओहो ज्ञानोदयमा भन्ने होस् भन्ने उनको चाहना छ । त्यसका लागि उनी आफैं पनि सकेसम्म खटिएकी छन् । 

सम्बन्धित खबर