
काठमाडौं : नेपाली सेनाका अवकाश प्राप्त उपरथि भरतचन्द्र गुरुङको गीति भिडिओ ‘छ सलाम मायालाई’ विमोचन भएको छ । गुरुङ सेवा समाजद्वारा शनिबार काठमाडौंको युनिभर्सल रेसेप्सन प्यालेस, सुकेधारामा आयोजित कार्यक्रममा समाजका अध्यक्ष महेन्द्रबहादुर गुरुङले गीति भिडियोको विमोचन गरेका हुन् ।

नेपाली सेनाका सहायक रथि गौरव गुरूङको रचना, पूर्व रथि डा. आशबहादुर तामाङको पटकथा लेखन रहेको गीति भिडिओमा संगीतकार मदनसिंह नेपालीको संगीत र संगीतकार मिलन मोक्तानको निर्देशन रहेको छ । ओखलढुंगा रुम्जाटारका लोकशैली र रक म्युजिक मिसिएको उक्त गीति भिडियो नितान्त मनोरन्जनका लागि तयार भएको गायक पूर्व उपरथि गुरुङले बताए ।

भिडिओमा गायक गुरूङसहित उनकी धर्मपत्नी चाँदनी घले गुरूङलगायतले अभिनय गरेका छन् । कार्यक्रममा हाल बेलायतमा बसेर कला संस्कृतिको संरक्षण तथा समाजसेवा समर्पित रहेका रुम्जाटार लामा गुरुङ समाजका चेलीद्वय राजदेवी गुरुङ र प्रेमकुमारी गुरुङलाई समाजका अध्यक्ष गुरूङले सम्मानपत्रका साथ दोसल्ला ओढाइ सम्मान गरेका थिए । समाजका सचिव सञ्जु गुरुङले सञ्चालन गरेको कार्यक्रममा गायक गुरूङले प्रत्यक्ष रूपमा गीति भिडिओको प्रस्तुत गरिएको थियो ।

स्वर्गीय क्या. इन्द्रजीत गुरुङ तथा श्रीमती महालक्ष्मी गुरुङको तस्वीरमा माल्यार्पणपछि पानसमा दियो बालेर शुभारम्भ भएको कार्यक्रममा समाजका उपाध्यक्ष उपरथि नवराज गुरुङले स्वागत मन्तव्य राखेका थिए । संगीतकार नेपाली, संगीतकार मिलन मोक्तानलगायतले गीत, संगीत र गायनबारे संक्षिप्त मन्तव्य राखेका थिए ।

कार्यक्रममा क्याप्टेन गणेश गुरुङ, अग्रज समाजसेवी क्याप्टेन मोहन कुमार गुरुङ, रुम्जाटार गुम्बा फाउण्डेशनका अध्यक्ष होमनाथ गुरुङलगायतका समाजसेवीको कार्यक्रममा उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा गीतकार समूहका अध्यक्ष वसन्त बित्यासी थापा, नेपालको पहिलो ड्रमर देव रानारहित खोटाङ गुरुङ सेवा समाजका अध्यक्ष होमनाथ गुरुङ रुम्जाटार गुम्बा फाउन्डेशनको पूर्वअध्यक्ष शिआई टेकबहादुर गुरुङ, आमा समुह खोटाङकी अध्यक्ष सुनिता गुरुङ, रुम्जाटार गुरुङ सेवा समाजका पूर्वअध्यक्ष चन्द्रकला गुरुङ तथा नेपाली सेनाका उपरथी, रथी र सहायक उपस्थित थियो ।