२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

कांग्रेसभित्रको शक्ति सन्तुलन र आगामी निर्वाचन

shivam cement
नवराज न्यौपाने
२०८२ पुष २७ गते ०६:००
Shares
कांग्रेसभित्रको शक्ति सन्तुलन र आगामी निर्वाचन

नेपाली कांग्रेस मुलुकको लोकतान्त्रिक आन्दोलनको इतिहाससँग गहिरो रूपमा गाँसिएको पार्टी हो । निरंकुशता विरुद्धको संघर्षदेखि संविधान निर्माणसम्म कांग्रेसको भूमिका निर्णायक रहँदै आएको छ । तर यही ऐतिहासिक विरासत बोकेको पार्टी आज बाह्य प्रतिस्पर्धीभन्दा बढी आफ्नै आन्तरिक संरचना, पद–शक्ति सन्तुलन र व्यवस्थापनका कारण कमजोर बन्दै गएको छ । पछिल्ला वर्षहरूमा कांग्रेसको राजनीतिक यात्रा हेर्दा, विचार वा नीतिभन्दा पनि नेतृत्व र गुटबाट सिर्जित विवादले समस्यामा छ ।

कांग्रेसभित्र पद र शक्ति केही सीमित व्यक्तिहरू वरिपरि केन्द्रित हुँदै गएको अनुभूति कार्यकर्ता तहमा गहिरो रूपमा फैलिएको छ । पार्टी सभापति, महामन्त्री र केन्द्रीय नेतृत्वको घेराभित्रै अधिकांश महत्वपूर्ण निर्णय सीमित हुँदा संगठनको तल्लो तहले अपनत्व महसुस गर्न सकेको छैन । जिल्ला, क्षेत्र र वडा तहसम्म संगठन विस्तार र सुदृढीकरणको जिम्मेवारी बोकेका कार्यकर्ताहरू निर्णय प्रक्रियाबाट टाढा राखिँदा संगठनको जरा नै कमजोर बन्दै गएको छ । यसले पार्टीलाई माथिबाट चलाइने संरचनामा सीमित बनाएको छ, जसले लोकतान्त्रिक अभ्यासको आत्मालाई नै चुनौती दिन्छ ।

राजनीतिक दलमा पद भनेको सेवा र जिम्मेवारीको माध्यम हुनुपर्ने मान्यता क्रमशः कमजोर हुँदै गएको छ । पद प्राप्ति नै अन्तिम लक्ष्य बन्न थालेपछि राजनीतिक संस्कारमा स्वार्थ, प्रतिस्पर्धा र अस्वस्थ दौड हाबी भएको देखिन्छ । यसले संगठनभित्र विश्वास र सहकार्यको वातावरण खल्बल्याएको छ । पदको लोभले विचार, नीति र जनसेवाको महत्व ओझेलमा पर्दा पार्टीको जीवन्तता घट्नु स्वाभाविक हो । यही कारण कांग्रेसको सांगठनिक ऊर्जा कमजोर बन्दै गएको अनुभूति सर्वत्र छ ।

कांग्रेसको इतिहास गुटगत राजनीतिबाट मुक्त भने कहिल्यै रहेन । तर विगतमा गुटहरू विचार, नीति र राजनीतिक धारसँग जोडिएका हुन्थे । आज त्यो परम्परा कमजोर हुँदै व्यक्ति केन्द्रित शक्ति प्रतिस्पर्धामा सीमित भएको छ । गुटहरू विचार निर्माणका मञ्चभन्दा पनि पद र अवसरको सौदाबाजी गर्ने समूहका रूपमा देखिन थालेका छन् । यसले पार्टीभित्र स्वस्थ बहस र वैचारिक स्पष्टता विकास हुन सकेको छैन । परिणामस्वरूप संगठन एकढिक्का हुने सट्टा खण्डित हुँदै गएको छ ।

पद बाँडफाँड, जिम्मेवारी तोक्ने र चुनावी टिकट वितरणका क्रममा योग्यता, योगदान र जनाधारभन्दा निष्ठा र नजिकपन हाबी हुँदा असन्तुष्टि जन्मिनु स्वाभाविक हुन्छ । यही असन्तुष्टि चुनावका बेला अन्तर्घात, निष्क्रियता र विद्रोहको रूपमा प्रकट हुन्छ । कांग्रेसले विगतका धेरै चुनावमा यही समस्या भोग्दै आएको छ । जित्न सकिने क्षेत्रहरूमा पनि आन्तरिक असहयोगका कारण हार बेहोर्नु पार्टीको पुरानो रोगजस्तै बनेको छ ।

कांग्रेसको अर्को गम्भीर चुनौती पुस्तान्तरणसँग सम्बन्धित छ । दशकौँदेखि निर्णायक भूमिकामा रहेका नेतृत्वले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न हिच्किचाइरहेको देखिन्छ । भाषण र दस्तावेजमा युवाको प्रशंसा गरिए पनि निर्णय प्रक्रियामा उनीहरूको प्रभाव नगण्य छ । यसले युवापुस्तामा निराशा र वितृष्णा बढाएको छ । ऊर्जा, नवीन सोच र प्रविधिसँग नजिक रहेको युवा पुस्तालाई समेट्न नसक्दा कांग्रेसको सामाजिक पहुँच विशेषगरी शहरी क्षेत्र र युवा मतदातामाझ कमजोर बन्दै गएको छ ।

आन्तरिक शक्ति सन्तुलन बिग्रँदा त्यसको प्रत्यक्ष असर निर्वाचनमा देखिन्छ । टिकट वितरणको विवाद, असन्तुष्ट उम्मेदवार र स्वतन्त्र उम्मेदवारी कांग्रेसका नियमित चुनावी समस्याका रूपमा दोहोरिँदै आएका छन् । संगठन कमजोर हुँदा कार्यकर्ता परिचालन प्रभावकारी हुन सक्दैन, जसले जित्न सकिने चुनाव पनि गुम्ने अवस्था सिर्जना गर्छ । यही कमजोरीका कारण कांग्रेस आफ्नै शक्तिमा भन्दा गठबन्धनमा बढी निर्भर देखिन्छ । गठबन्धन तत्कालीन रूपमा उपयोगी भए पनि दीर्घकालीन रूपमा यसले पार्टीको स्वतन्त्र राजनीतिक पहिचान र आत्मविश्वास कमजोर पार्ने खतरा बोकेको छ ।

यदि कांग्रेसले आगामी निर्वाचनमा जनतामाझ विश्वासयोग्य विकल्पको रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छ भने आन्तरिक शक्ति सन्तुलनमा मौलिक सुधार अपरिहार्य छ । निर्णय प्रक्रिया समावेशी बनाउनु, तल्लो तहसम्मको सहभागिता सुनिश्चित गर्नु, टिकट वितरणमा स्पष्ट र पारदर्शी मापदण्ड लागू गर्नु आजको आवश्यकता हो । युवालाई केवल भाषणको विषय होइन, नेतृत्वको केन्द्रमा ल्याउने साहसिक निर्णय बिना परिवर्तन सम्भव छैन । गुटभन्दा संगठन र व्यक्तिभन्दा संस्थालाई प्राथमिकता दिने राजनीतिक इच्छाशक्ति देखाउन सके मात्र कांग्रेस पुनः सशक्त बन्न सक्छ ।

नेपाली कांग्रेसको आगामी राजनीतिक यात्रा विपक्षी दलको रणनीतिभन्दा पनि आफ्नै आन्तरिक व्यवस्थापनले तय गर्नेछ । पद र शक्ति व्यवस्थापन गर्न सके कांग्रेस पुनः जनताको भरोसाको केन्द्र बन्न सक्छ । तर यो अवसर गुमाएमा पार्टीको गौरवशाली इतिहास वर्तमानको बोझमा सीमित हुने जोखिम बढ्दै जानेछ । कांग्रेसका लागि अब समय आत्मसमिक्षा र साहसी सुधारको हो, नत्र इतिहासले दिएको अवसर आफैंले गुमाउने खतरा नजिकिँदै छ ।

सम्बन्धित खबर