२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

बर्दियामा चितुवा आतंक, स्थानीय त्रसित

shivam cement
सपना बोहरा
२०८२ पुष २७ गते ०६:३०
Shares
बर्दियामा चितुवा आतंक, स्थानीय त्रसित

काठमाडौं : बारबर्दिया नगरपालिका–१० बैदीस्थित फेनापति सामुदायिक वनमा घाँस काट्न गएकी ५० वर्षीया पार्वती डाँगीले चितुवाको आक्रमणमा परेर ज्यान गुमाइन् ।  डाँगी घरदेखि करिब २.५ किलोमिटर दक्षिणमा रहेको सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । सोही क्रममा एक्कासि चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । 

गत पुस २ गते सोही वडा निवासी ३१ वर्षीया दिनेश चौधरीको पनि चितुवाको आक्रमणबाटै मृत्यु भएको थियो । बर्दियामा चितुवाको आक्रमणबाट पुस ६ गते बारबर्दिया नगरपालिका–६ मनिकापुरका ५३ वर्षीय जलवीर थारू र २५ वर्षीय ईश्वर थारू घाइते भएका थिए । उनीहरूलाई मनिकापुर नगरअस्पताल नजिकै चितुवाले आक्रमण गरेका थियो । उनीहरू बाटोमा हिँडिरहेको समयमा चितुवाले आक्रमण गरेको थियो । 

यसरी दिनहुँजसो चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित छन् । आक्रोशित वन्यजन्तुपीडितहरूले काठमाडौं आएर प्रदर्शन गरेका छन् । दिनहुँ चितुवालगायत अन्य वन्यजन्तुको आक्रमण बढ्न थालेपछि पटकपटक सरकारलाई जानकारी गराएका थिए । सरकारबाट कुनै सुनुवाइ नभएपछि बर्दियाका वन्यजन्तुपीडित काठमाडौंमा आएर प्रदर्शन गरेका हुन् । 

उनीहरूले वर्षौंदेखि बाघ, चितुवा र हात्तीबाट प्रत्येक हप्ताजसो मानिसहरूको ज्यान लिइरहे पनि सरकारले आममानिसको सुरक्षाप्रति चासो नदेखाएको गुनासो गरेका छन् ।  

मानवअधिकार बर्दियाकी अध्यक्ष हिमा सुनारले पछिल्लो समय वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गएको बताइन् । दिनहुँ वन्यजन्तुको आक्रमणबाट स्थानीयको ज्यान गइरहेको छ,’ उनले भनिन्, ‘यहाँको अवस्था भयावह छ ।’ 

वन्यजन्तुको त्रासले दैनिकी काम गर्न समस्यासमेत भएको उनले बताइन् । ‘वन्यजन्तुको त्रासले विद्यार्थीहरू विद्यालय जान डराउँछन्, खेती  गर्न खेतबारीमा जान डर छ, चौपायालाई वनजंगल चराउन, घास दाउरा गर्न डर छ,’ उनले भनिन्, ‘सरकारलाई हामीले धेरै ध्यानाकर्षण गरायौं तर चासो देखाएनन् ।’ 

वन कार्यालय तथा स्थानीय तहहरूले सचेतना कार्यक्रम चलाउने गरे पनि कार्यक्रमले वन्यजन्तुले आक्रमण गर्न नछोडने उनी बताउँछिन् । वन्यजन्ुतको आक्रमणबाट मृत्यु भएका व्यक्तिहरूले उचित राहत तथा खेतीबारीमा नोक्सानी भएको क्षतिपूर्ति नपाएको उनले बताइन् ।

बर्दियामा चितुवाको आक्रमण बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । पछिल्लो नौ महिनामा वन्यजन्तुको आक्रमणबाट बर्दियामा ११ जनाको ज्यान गइसकेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार चितुवाको आक्रमणबाट मात्रै ६ जनाको मृत्यु भइसकेको छ । 

त्यस्तै, बाघको आक्रमणबाट एक जना, गोहीको आक्रमणबाट दुई जनाको मत्यु भएको कोषका वरिष्ठ संरक्षण अधिकृत अजित तुम्वाहाङ्फेले जानकारी दिएका छन् ।  बर्दियामा १ सयवटा हात्ती, १ सय १५ वटा बाघ छन् । बर्दियामा हालसम्म कति चितुवा छन् भन्ने यकिन तथ्यांक छैन । बर्दियावासी चितवाबाट नै बढी आतंकित भएका छन् तर गणना भएको छैन । 

बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिमी सीमा नै गेरुवा नदी हो र यो वन्यजन्तुहरूको महत्वपूर्ण पानीको स्रोत हो । त्यही नदी किनारसँगैको वन उनीहरूको बासस्थान हो । जसले गर्दा मानव र वन्यजन्तुको द्वन्द्व बढ्दै गएको छ । 

‘सुक्खा मौसममा खडेरीले बाघलगायत जंगली जनावरहरूलाई पानीको खोजमा मानव बस्तीमा प्रवेश गर्न बाध्य पारेको छ,’ उनले भने, ‘पानीको सतह घटेकाले गाउँलेहरूलाई नदी पार गरेर वनमा प्रवेश गर्न सजिलो भएको छ ।’ 

स्थानीयहरू वनजंगलमा घाँस दाउरा गर्ने समय वा जंगलको बाटो हिँडिरहेकालाई चितुवाले बढी आक्रमण गर्ने गरेको उनको भनाइ छ । 

पछिल्लो समयमा बर्दियामा चितुवाको आक्रमण बढ्दै गएको छ । सामुदायिक वन क्षेत्रमा चितुवाको आक्रमण लगातार हुन थालेपछि स्थानीयमा त्रास र आक्रोश बढेको छ । यसअघि पुस ३ गते चितुवाको नियन्त्रण तथा दीर्घकालीन समाधानको माग गर्दै बारबर्दिया नगरपालिका–१० का स्थानीयले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका थिए । 

बर्दियाको राजापुर नगरपालिका–१० कर्मनीमा गहुँबारीबाट स्थानीयले घेरा हालेर चितुवालाई नियन्त्रणमा लिएका थिए । चितुवा गहुँबारीमा आएपछि ठुलो संख्यामा गाउँलेले घरेर राखेका थिए । सो चितुवालाई डिभिजन वन कार्यालयको समन्वयमा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले बेहोस पारेर नियन्त्रणमा लिएको थियो । लगातार आक्रमणका घटना हुन थालेको भन्दै स्थानीयले चितुवा आतंक नियन्त्रणको माग गर्दै आएका छन् । 

सम्बन्धित खबर