२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

सरल छविका थिए प्रशान्त

shivam cement
२०८२ पुष २८ गते १९:०८
Shares
सरल छविका थिए प्रशान्त

काठमाडौं : प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीले चिनेको एउटा नाम हो । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’को तेस्रो सिजनको विजेता बनेपछि उनको लोकप्रियता विश्वभर फैलियो ।

आइतबार ४२ वर्षको उमेरमा ‘कार्डियक अरेष्ट’ कारण उनले संसार छाडे । आइतबार बिहानीकै समयमा उनीबारे सुनिएको यो खबरमा दार्जिलिङवासीलगायत संसारभर रहेका नेपाली भाषी निशब्द छन् ।  

नेपाली भाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता पाउँछ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण बनेका थिए, ‘गायक तामाङ ।’ उनी विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपाली भाषीले सहभागिता जनाउने र विजेता बन्ने क्रमले अहिलेसम्म निरन्तरता पाएको छ । ‘इण्डियन आइडल’ को अन्तिम १२ मा परेपछि उनको चर्चा नेपालसँगै विश्वभरका नेपाली माझ भयो । 

गायक तामाङ उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाए । सोही क्रममा गीतकार तथा चलचित्र निर्माता राजेश घतानी जोडिए । नेपाली भाषीले त्यो समयमा पाएको ठूलो सफलता रहेकाले दार्जिलिङ पुगेर जिताउने अभियानमा आफूसहित केही साथीहरू जोडिएको निर्माता घतानीले बताए । 

उनले भने, ‘अन्तिम १० मा परेपछि मैले केही साथीलाई आग्रह गरेर दार्जिलिङमा गएर कार्यक्रम गर्यौ, हाम्रो उदेश्य प्रशान्तलाई विजेता बनाउनु थियो, हामीले त्यहाँ कार्यक्रम गर्ने र सो रकम मत दिन खर्च गर्न थाल्यौं ।’ उक्त समयमा नेपालबाट निर्माता घतानीसँगै ‘हेयर डिजाइनर’ निल डेविड कटवाल, गायक बाबु बोगटी लगायत त्यहाँ पुगेका थिए । निर्माता घतानीका अनुसार त्यहाँ हुने छुट्टाछुट्टै कार्यक्रममा गायिका प्रविशा अधिकारी, कलाकार विल्सन विक्रम राईसहित सहभागी भए । 

‘हामीले उदयीमान कलाकारलाई लगेर कार्यक्रम गरेर सहयोग जुटाउने गरेका थियौं, त्यसको चर्चा नेपालसँगै विश्वभरका नेपाली माझ भयो, त्यसपछि अभियान कै रूपमा त्यो अगाडि बढ्यो,’ निर्माता घतानीले भने । उनले गायक तामाङलाई अन्तिम तीनमा परेपछि घर आएको समयमा भेटेका थिए । अन्तिम तीनलाई गृह जिल्लामा लैजाने ढाँचा उक्त कार्यक्रमको थियो । सोहीअनुसार घर आउँदा गायक तामाङ र निर्माता घतानीको भेटघाट भयो । त्यो सामीप्यता विस्तारै बढ्दै गयो र दाजुभाइको सम्बन्धमा परिणत भयो । 

‘उहाँ (प्रशान्त) विजेता भएपछि मैले केही राखेको थिएँ, निकै सरल र शान्त स्वभाव थियो, हामी विस्तारै यति नजिक भयौ की पारिवारिक कुराहरू हुन् थाल्यो, उहाँ एक असल र इमान्दार मान्छे, उहाँका बारेमा व्यक्त गर्ने शब्द नै छैनन्,’ निर्माता घतानीले भने, ‘उहाँ नेपाली चलचित्रसँग ‘हिम्मत–२’ मार्फत जोडिनुभयो, दीपक श्रेष्ठले उक्त चलचित्रको सम्पूर्ण गीतमा गायक तामाङको स्वर राख्नुभएको थियो, भारत गएर स्वर रेकर्ड गरेपछि निर्देशक श्रेष्ठले गायक तामाङको निकै तारिफ गर्नुभयो ।’ 

उनका अनुसार विश्वभरका नेपालीले रुचाएको र माया गरेको आवाजले नेपाली चलचित्रमा स्थान पाउनुपर्छ भनेर पहिलो पटक पार्श्व गायनमा ल्याएको हो । ‘उहाँको सरलता देखेर म छक्क पाएको थिएँ, विश्वभरका नेपालीका प्रिय पात्रले नेपाल र नेपाली गीतसंगीतलाई गर्ने माया अद्भूत थियो, उहाँमा इण्डियन आइडल विजेता भएको घमण्ड फिटिक्कै थिएन, निकै सरल मान्छे,’ निर्देशक श्रेष्ठले भने ।

पार्श्वगायकको रूपमा चलचित्रसँग जोडिएपछि गायक तामाङले अभिनेताको रुपमा चलचित्र ‘गोर्खा पल्टन’बाट सुरुवात गरे । उक्त चलचित्रमा लाहुरेको भूमिका निर्वाह गरेका गायक तामाङले गाएको गीत ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ निकै लोकप्रिय भएको थियो । 

त्यसपछि उनले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’, ‘परदेशी–२’ जस्ता चलचित्रमा काम गरेका छन् । गएको ५ मंसिर प्रदर्शन भएको ‘पहिचानको लडाइँ’ उनले अभिनय गरेको अन्तिम नेपाली चलचित्र बन्न पुग्यो । 

अभिनय सुरुवात गरेदेखि उनले आफूलाई गायकभन्दा पनि अभिनेताको रुपमा अगाडि बढाए । ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको श्रृंखला ‘पाताल लोक’ मा देखिएपछि अभिनेताको रूपमा तामाङको चर्चा भारतमा भयो । 

त्यसपछि उनले भारतीय अभिनेता सलमान खानको चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गरे । भारत र चीनबीच भूराजनीतिक तनाव निम्त्याउने ‘गलवान झडप’को कथावस्तुमा बनेको उक्त चलचित्र विसं. २०८३ को वैशाख ४ मा प्रदर्शन हुँदैछ । उक्त चलचित्रको छायांकन सकेर अभिनेता तामाङ स्वरांकन गर्ने तयारीमा थिए । 

उनी दिल्लीस्थित घरमा आराम गरिरहेका थिए, जहाँ उनले अन्तिम सास लिए । कोभिड–१९ का कारण आफ्नो आमा गुमाएपछि उनी परिवारलाई धेरै समय दिन्थे । निर्माता घतानीका अनुसार उनकी श्रीमती काम विशेषले बाहिर जाँदा वा घरमा नहुँदा तीन वर्षकी छोरीको हेरचाह गरेर नै समय बिताउने गर्थे । श्रीमती एयरहोस्टेस भएका कारण घरमा रहेर छोरीको रेखदेख गर्ने जिम्मा पनि गायक तामाङकै थियो । 

‘आमा गुमाएपछि छोरीलाई उहाँले छाडेको मलाई याद छैन, कार्यक्रमकै प्रस्ताव आउँदा श्रीमती काममा छिन् र बिदा मिलेको छैन भनेर अस्वीकार गर्ने गर्नुहुथ्यो, छोरीमा उहाँले आमाको प्रतिबिम्व देख्ने गरेको बताउनुहुन्थ्यो,’ निर्माता घतानीले भने । 

कोभिड–१९ का कारण आमाको निधन हुँदा गायक तामाङ स्वयं कोभिडको बिरामी थिए । आफ्नो आमाको अन्त्येष्टिमा सहभागी हुन् नपाएको पीडा उनले मनमा सधैं रहिरह्यो । त्यही भएर छोरीलाई सक्दो खुसी बनाउने र परिवारलाई समय दिने उनको स्वभाव थियो । उनले सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गरेका गरेका थिए । सन् २०२२ मा उनको छोरीको जन्म भएको थियो ।

उनको पार्थिव शरीरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दार्जिलिङको जीटीए सरकारले सोमबार नयाँ दिल्लीबाट गायक तामाङको शवलाई दार्जिलिङ लैजाने भएको छ ।

दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा अहिले शल्यपरीक्षणको काम चलिरहेको जानकारी निर्माता घतानीले दिए । निर्माता घतानीका अनुसार गायक तामाङका बुबाआमाको निधन भइसकेकाले उनकी पत्नी र ससुराली पक्षका आफन्त दिल्ली पुगेका छन् । –रासस

सम्बन्धित खबर