२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

४९ हजार किलो गुजरगानो बरामद

shivam cement
पूर्ण सार्की
२०८२ पुष २८ गते २१:२३
Shares
४९ हजार किलो गुजरगानो बरामद

सुर्खेत : सुर्खेतमा अवैध रूपमा संकलित ४९ हजार किलोभन्दा बढी गुजरगानो बरामद गरिएको छ । सुर्खेतको लेकबेशी नगरपालिका–८ स्थित आरनटुडा भन्ने स्थानबाट गुजरगानो (स्थानीय नामः विरलकानो) जातको ४९ हजार ४ सय २६ दशमलव ७ किलो जडीबुटी बरामद गरी नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

कार्यालय सुर्खेतका वरिष्ठ वन अधिकृत नवराज पौडेलको नेतृत्वमा गत पुस २२ गते खटिएको टोलीले अवैध रूपमा संकलन गरी राखिएको ठुलो परिमाणको जडीबुटी बरामद गरेको हो । उक्त जडीबुटी सोही स्थानमा बसोबास गर्ने वीरसिंह नेपालीको घरमा बिना अनुमति संकलन गरी राखिएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

घर खानतलासीका क्रममा जडीबुटी बरामद गरी सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएको हो । बरामद गरिएको जडीबुटी सशस्त्र वन सुरक्षा पोस्ट काँक्रेविहारमा ल्याइ तौल गरिएको र हाल त्यहीँ सुरक्षित रूपमा राखिएको छ । जडीबुटीको परिमाण अत्यधिक भएकाले ओसारपसार र तौल गर्न मात्रै तीन दिन लागेको वन कार्यालयले जनाएको छ ।

घटनासम्बन्धी थप अनुसन्धानका लागि अनुसन्धान अधिकारी तोकिएको छ भने अवैध संकलन, भण्डारण तथा ओसारपसारमा संलग्न व्यक्तिमाथि प्रचलित वन ऐन तथा नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ ।

सम्बन्धित खबर