
काठमाडौं : हजुरआमा कहिलेकाहीँ सम्झनाहरूमा हराउनुहुन्छ—कालो भादगाउँले टोपी सुम्सुम्याउँदै अनि त्यो पुरानो तस्बिरतिर हेर्दै । ती आँखामा विगतका दिनहरू प्रष्ट झल्कन्छन् । आफ्ना बुवाको फोटो फ्रेम नियाल्दै, उहाँ आफ्नै प्रतिबिम्बसँग हल्का मुस्कान साट्नुहुन्छ र धेरै वर्षदेखि लुकिरहेका कथाहरू विस्तारै सतहमा आउन थाल्छन् ।
कथा त्यो समयको हो जुन बेला जहानियाँ शासनले बोली र व्यवहारमा कठोर बन्देज लगाएर अन्यायको गाँठो कस्दै गइरहेको थियो । वर्षौँदेखि त्यही शासनका सेवक रहेका काजीको कर्तव्यबोधले अन्तत : एक दिन उनको विवेकका अगाडि घुँडा टेक्यो—र उनले अत्याचार गर्नेहरूको सेवा अब कहिल्यै नगर्ने निर्णय लिए ।
काजी गहिरो निराशामा डुबे र जीवनको सबैभन्दा कठिन मोडमा पुगे, तर उनको दृढताले भने उनलाई नयाँ किसिमको स्वतन्त्रताको बाटोतिर धकेल्न थालिसकेको थियो ।
राणाशासनले देशमाथिको आफ्नो नियन्त्रणलाई गहिरो पार्दै लगेको पृष्ठभूमिमा विदेशी मदिरा गाउँ–गाउँ छिर्न थालिसकेका थिए । काजीको गाउँ पनि त्यसबाट अलग रहन सकेन। विदेशी मदिराको प्रभावले गाउँलेहरूको पहिचान र गौरवमाथि बढ्दै गएको खतरा काजीले बुझिसकेका थिए । यो मौन खतरालाई चुनौती दिन काजी रैथाने ज्ञान र स्थानीय स्रोतसाधन प्रयोग गर्दै मदिरा बनाउने सम्भावना खोज्न थाले ।
वर्षौँको परीक्षण, असफलता र निरन्तर अभ्यासपछि काजी अन्ततः त्यस्तो मिश्रणसम्म पुगे, जसप्रति उनी गर्व गर्न सक्थे ।
तर, सामन्तहरूको आँखाको कसिङ्गर बनिसकेका काजीका उपलब्धिहरूलाई खरानी बनाउने योजना अघि बढिसकेको थियो । र अन्ततः, धुवाँ र ज्वालाको बीचमा काजीको वर्षौँको संघर्ष र उनको अस्तित्व सदाका लागि उडेर समाप्त भयो ।
समय बित्दै गयो—वर्षहरू फेरिए, पुस्ताहरू बदलिँदै गए र काजीको विरासत इतिहासको गहिराइमा विस्तारै ओझेल पर्दै गयो । तर, केही कथाहरू समयले पनि मेटाउन नसक्ने खालका हुन्छन्। र ती कथाहरू पछ्याउँदै हिँडेका काजीका पुस्ताले एक दिन उनको इतिहासलाई पुनर्जीवित गर्ने सुनौलो अवसर पाउँछन् ।
काजीको कथा अब केवल इतिहासमा सीमित रहेन। उनको अधुरो सपनाले आज नयाँ युगमा नयाँ जीवन पाएको छ । साहस, अटलता र कर्तव्यको जगबाट जन्मिएको काजीको रम अब ‘जुङ्गे काजी रम’ को नामले चिनिनेछ। र यसको हरेक घुड्कीमा काजीको कथा गुन्जिरहनेछ ।