२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

इतिहास कहिल्यै आकस्मिक रूपमा बन्दैन

shivam cement
अभिषेक अनुराग
२०८२ पुष ३० गते ०६:००
Shares
इतिहास कहिल्यै आकस्मिक रूपमा बन्दैन

इतिहास कहिल्यै आकस्मिक रूपमा बन्दैन । समय–समयमा उसले केही पात्रहरूलाई चयन गर्छ, जसका काँधमा युगको भार थोपर्छ र जसका निर्णयहरूले पुस्तौँको नियति निर्धारण गर्छ । आजको नेपाली राजनीतिक क्षितिजमा जनताका प्रिय नेता गगन थापा त्यही ऐतिहासिक मोडमा उभिनुभएको छ– जहाँ उत्पीडित जाति, क्षेत्र र लिङ्गलाई केवल नारामा होइन, राज्यसत्ताको केन्द्रमा उभ्याउने साहसी निर्णयको अपेक्षा इतिहास स्वयंले गरिरहेको छ ।

यस्तो अठोट नयाँ होइन । यसको जरा इतिहासको उज्यालो पानामा विश्वेश्वरप्रसाद कोइरालाले कोरेर जानुभएको छ । समाजवाद उहाँका लागि केवल राजनीतिक सिद्धान्त थिएन; त्यो नेपालको सामाजिक यथार्थबाट जन्मिएको विवेकशील चेतना थियो । धनी र गरिबबीचको अथाह खाडल, पहाड र मधेसबीचको मनोवैज्ञानिक दूरी र जात–जातिबीच जरा गाडेर बसेको असमानता– यी सबैलाई बीपीले नेपालको मूल समस्या मानेका थिए । र, उहाँ सही हुनुहुन्थ्यो । ती प्रश्नहरू आज पनि नेपाली समाजका खुला घाउहरूकै रूपमा विद्यमान छन् ।

त्यसैले बीपीले साहसपूर्वक नेपाली कांग्रेसको नेतृत्व संरचनामै उत्पीडित वर्गको आवाज स्थापित गर्नुभयो । धनमानसिंह परियारलाई महामन्त्री बनाउनु केवल पद बाँडफाँट थिएन; त्यो दलित समुदायको राजनीतिक आत्मसम्मानको पुनःस्थापना थियो । मधेसमा महेन्द्रनारायण निधिलाई नेतृत्वमा उभ्याउनु भूगोल मात्र होइन, पहिचान र स्वाभिमानलाई मान्यता दिनु थियो । यही समावेशी दृष्टिकोणका कारण कांग्रेसले तीव्र गतिमा संगठन विस्तार ग¥यो र आन्दोलनलाई देशव्यापी रूपान्तरण गर्न सक्यो ।

लोकतान्त्रिक आन्दोलन होस् वा वामपन्थी राजनीतिक संघर्ष– दलित समुदायबाट उदाएका नेतृत्वहरूको चर्चा गर्दा आहुति, प्रकाण्ड र प्रकाश स्नेहीजस्ता नामहरू अनिवार्य रूपमा आउँछन् । यी नामहरू केवल व्यक्तित्व मात्र होइनन्, यी त प्रतिरोध र विचारका प्रतीक हुन् । विशेषतः प्रकाश स्नेहीको जीवनयात्रा हेर्दा, उहाँ सुदूरको दुर्गम भूभागबाट उदाएको त्यो तारा जस्तै देखिनुहुन्छ, जसले अँध्यारो आकाशमा पनि आफ्नो प्रकाश हराउन दिएन । आजको दिनसम्म आइपुग्दा निर्भीक ढङ्गले चट्टानझैँ आफ्ना विचार जनतामाझ राख्न सक्ने निडर नेता दलित समुदायमा मात्र होइन, सायद गैरदलित समुदायमा समेत दुर्लभ छन् ।

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका प्रकाश स्नेहीले जीवनका अनगिन्ती चुनौतीहरूसँग सम्झौता गर्न अस्वीकार गर्नुभयो । माओवादी विद्रोहको उग्र कालखण्डमा समेत ‘ज्यानै मारिदिन्छु’ भन्ने धम्कीका बीच नडगमगाई नेपाली कांग्रेसको राजनीतिक धारामा अडिग रहनु सामान्य साहस होइन । वर्षौँदेखि कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहनु उहाँको वैचारिक दृढता, निडरता र गहिरो राजनीतिक आस्थाको प्रमाण हो । संगठन निर्माण गर्ने क्षमता, विचारलाई व्यवहारमा उतार्ने कौशल र संघर्षलाई निरन्तरता दिने धैर्य–यी उहाँका विशिष्ट पहिचान हुन् ।

गगन थापालाई नेपाली कांग्रेसको आगामी सभापति बनाइनुपर्छ भनेर देशभरि कांग्रेसजन सक्रिय हुनु केवल व्यक्तिगत निष्ठाको विषय होइन; त्यो कांग्रेसलाई नयाँ वैचारिक उचाइमा पु¥याउने आकांक्षाको अभिव्यक्ति हो । गगन अप्ठ्यारोमा पर्दा खुलेर बहस र पैरवी गर्ने सीमित पात्रहरूमध्ये प्रकाश स्नेही अग्रपंक्तिमा देखिनु यही कारणले हो ।

अब प्रश्न इतिहासको हो । यदि कांग्रेसको विशेष महाधिवेशनले साँच्चिकै नेतृत्व चयन गर्ने साहस देखायो भने र यदि गगन थापाले बीपीको समावेशी परम्परालाई आत्मसात् गर्दै प्रकाश रसाइली स्नेहीलाई महामन्त्री बनाउने अठोट गरे भने त्यो निर्णय केवल पदको घोषणा मात्र हुनेछैन । त्यो क्षमता, संघर्ष र प्रतिनिधित्वप्रतिको सम्मान हुनेछ । त्यो निर्णय करिब ६० लाख दलित समुदायको मनमा आशाको उज्यालो दीप बाल्ने ऐतिहासिक क्षण हुनेछ । त्यस दिन इतिहासले लेख्नेछ– गगन थापाले केवल सत्ता होइन, न्याय रोजे । र, त्यस निर्णयको स्मरण नेपाली राजनीतिमा दीर्घकालसम्म गरिनेछ ।

सम्बन्धित खबर