२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

जागिर लगाइदिने भन्दै ठगी धन्दा

shivam cement
सपना बोहरा
२०८२ माघ १ गते ०६:४०
Shares
जागिर लगाइदिने भन्दै ठगी धन्दा

काठमाडौं : कक्षा १२ मा पढदै गरेका एक विद्यार्थी जागिरको खोजीमा थिए । उनको नजर टिकटकमा आकर्षक जागिर लगाइदिने भन्दै प्रचारमा गयो । जब सेन्टरलाई जागिर लगाइदिने भन्दै उनले अनुरोध गरे । सेन्टरमा २ हजार रुपैयाँको फर्म भरेपछि छिट्टै आकर्षक जागिर पाइने प्रलोभनमा पारे । उनले फर्म भरेको महिना दिन नपुग्दै जब सेन्टर नै सम्पर्कविहीन भयो । उनले आफू ठगिएको भन्दै साइबर ब्युरोमा उजुरी दिए । 

स्नातक सकेर जागिरको खोजीमा रहेकी एक युवतीले जब सेन्टरलाई ५ हजार रुपैयाँ बुझाइन् । जब सेन्टरमा तलबअनुसारको शुल्क लिइँदो रहेछ । ३० हजारदेखि माथिको जागिरका लागि ५ हजार रुपैयाँको फर्म भर्नुपर्नेरहेछ । ‘फर्म भरेपछि एक महिनाभित्र जागिर पाउनुहुन्छ भनिएको थियो, ‘ती युवतीले भनिन्, ‘केको जागिर पाउनु, उल्टै ५ हजार रुपैयाँ गयो ।’

देशमा बेरोजगारको संख्या बढ्दो छ । अधिकांशले पढेअनुसारको जागिर पाइरहेका छैनन् । त्यसको फाइदा विभिन्न अनलाइनमार्फत जब सेन्टरको नाममा ठगी धन्दा चलाइरहेका छन् । पछिल्लो नौ महिनामा मात्रै ८ सय ३ जनाले जब सेन्टरको नाममा ठगी भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् । ब्युरोमा उजुरी दिएका अधिकांशले जागिर लगाइदिने प्रलोभनमा पैसा लिएर ठगेको उल्लेख गरेका छन् । 

सामाजिक सञ्जाल र मोबाइल बैंकिङको तीव्र विस्तारसँगै साइबर ठगीका घटना भयावह रूपमा बढिरहेका छन् । विशेषगरी अनलाइन जागिर, लटरी, सस्तो मूल्यमा महँगो सामान, बैंक केवाइसी भेरिफिकेसनजस्ता प्रलोभनमा परेर विद्यार्थीदेखि कर्मचारी र व्यवसायीसम्मले लाखौं रुपैयाँ गुमाएका छन् । 

पछिल्लो समय फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्स एप, म्यासेन्जर, भाइबरलगायत प्लेटर्फमबाट अनलाइन जबको आवरणमा लिंकहरू पठाएर ठगी हुने गरेका घटना बढ्न थालेको ब्युरोले जनाएको छ । 

विभिन्न सामाजिक सञ्जालमार्फत अनलाइन ठगी बढेपछि नेपाल प्रहरीको साइबर ब्युरोले सचेत रहनसमेत आग्रह गरेको छ । ‘यसका साथै इसेजा, खल्तीजस्ता वालेट तथा बैंकिङ/वित्तीय संस्थाबाट बोलेको भनेर ओटिपी मागी रकम ट्रान्सफर गर्नेसम्मका घटना वृद्धि भएको छ,’ ब्युरोका एसपी दीपकराज अवस्थीले भने, ‘विभिन्न प्रलोभनमा हुने अनलाइन ठगीबाट जोगिन नागरिक आफैं सचेत हुनुपर्छ ।’

आकर्षक जागिरको प्रलोभन देखाएर लिंकहरू पठाउने र धोकापूर्ण तरिकाले प्रलोभनमा पारेर ठगी गर्ने घटना अत्यधिक बढेको पाइएकाले सचेत रहन उनले अनुरोधसमेत गरे । 

यसका साथै खल्ती, ई–सेवाजस्ता विभिन्न वालेट तथा बैंक/वित्तीय संस्थाबाट बोलेको भनेर ओटिपी मागी पैसा ट्रान्सफर गर्ने, गिफ्ट प्याकेज, अनलाइन सपिङलगायतका बहानामा पनि ठगी गर्ने कार्य भइरहेको ब्युरोको विज्ञप्तिमा उल्लेख छ । 

ब्युरोले यस्तो अवस्थामा आमजनमानसमा गलत विज्ञापनमा विश्वास नगर्न, आआफ्नो व्यक्तिगत बैंकिङ खाताको सही सदुपयोग गर्नका साथै प्रविधिको सुरक्षिततवरले प्रयोग गर्नुपर्ने उनले बताए । ‘धेरैजसो पीडितले ठगी भएको थाहा पाउँदा ढिलो भइसकेको हुन्छ र पैसा फिर्ता हुने सम्भावना न्यून देखिन्छ,’ उनले भने, ‘नचिनेका व्यक्तिले पठाएका लिंक खोल्नु र प्रलोभनमा पार्नुहुँदैन । फोन तथा सन्देशप्रति उच्च सतर्कता अपनाउनुपर्छ ।’

सम्बन्धित खबर