
सुनसरी : हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ सोनियाहीमा बिहीबार बिहान मार्वल बोकेको ट्रक पल्टिदा पाँच जनाको मृत्यु भएको छ । उक्त घटनालाई लिएर मोरङको विराटनगर बिहीबार दिनभर तनावग्रस्त बनेको छ । विराटनगरबाट हुलाकी राजमार्ग हुँदै राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भइ सडकमा पल्टिँदा घटनास्थलमै ५ कामदारको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेहरू पाँचैजना बर्जु गाउँपालिकाका हुन् । दुर्घटनामा ट्रकभित्र लोड गरिएको मार्वलले किचेर पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डिएसपी)चन्द्र खड्काले मध्यान्हलाई जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाउनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ र २८ वर्षीय निशु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् । ज्यान गुमाउने सबै बर्जु गाउँपालिका वडा नं १ का हुन् । घटनापछि मोरङको विराटनगर तनावग्रस्त बनेको छ भने सुनसरीको बर्जु गाउँपालिका शोकमग्न बनेको छ । यसैबीच सुनसरीको बर्जुमा पनि स्थानीयले सडक अवरूद्ध गरेका छन् ।
दुर्घटनापछि आक्रोशित स्थानीयले सुनसरीको बर्जुमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् । उनीहरूले शुक्रबारे चोकमा बिहीबार टायर बालेर प्रदर्शन गरेका थिए भने यातायात सेवा ठप्प पारेका थिए ।
मृतकका परिवारलाई क्षतिपूर्ति र दोषी चालकलाई कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ । ट्रक चालक सुनसरीको दुहबी नगरपालिका–३ का अन्दाजी २८ वर्षीय विरेन्द्र कुमार विश्वास दुर्घटनापछि फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।