
सल्यान : मानिस र घरपालुवा चौपायामाथि लगातार आक्रमण गर्दै आएको संरक्षित वन्यजन्तु वन्यजन्तु जंगली पाटेबाघलाई नियन्त्रण गर्न वा आवश्यक परे मार्नसमेत आदेश जारी गरिएको छ । कालिमाटी गाउँपालिका–६ र ७ का घुँइयावारी क्षेत्र वरपर पछिल्लो एक सातामा बाघको आक्रमणबाट स्थानीय धनसरी रावत र चन्द्रबहादुर खप्तडी मगरसहित तीन जनाको ज्यान गएको छ । यस्तै, दुई वटा घरपालुवा पशु (गोरु र गाई) पनि बाघले आक्रमण गरी मारेको जनाइएको छ । लगातारका घटनापछि गाउँमा त्रासको वातावरण फैलिएको छ ।
‘बाघले मानिसलाई नै खोजेर आक्रमण गर्न थालेको छ, अब त घरबाहिर निस्कन पनि डर लाग्ने अवस्था छ,’ स्थानीय बासिन्दा बताउँछन् । यही अवस्थालाई मध्यनजर गर्दै स्थानीय जनप्रतिनिधि र बासिन्दाले बाघ नियन्त्रणका लागि तत्काल पहल गर्न माग गरेका थिए ।
डिभिजन वन कार्यालय, सल्यानका प्रमुख टेकबहादुर रावलले बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै पाटेबाघलाई पक्रन वा आवश्यक परे मार्न जारी भएको आदेश कार्यान्वयनका लागि अनुरोध गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (पाँचौँ संशोधन सहित) र नियमावलीअनुसार गठित सिफारिस समितिको सुझावका आधारमा उक्त निर्णय लिइएको हो ।
यसैबीच, कालिमाटी गाउँपालिकाले बाघको आक्रमणबाट ज्यान गुमाएका दुई परिवारलाई राहत प्रदान गरेको छ । पुस २५ गते कालिमाटी–७ की ४२ वर्षीया धनसरी रावत र पुस २९ गते वडा नम्बर–६ हात्तीढुङ्गाका ६६ वर्षीय चन्द्रबहादुर खप्तडी मगरको बाघको आक्रमणमा ज्यान गएको थियो ।
पीडित परिवारको घरमै पुगेर गाउँपालिका अध्यक्ष दानबहादुर केसीले शोक व्यक्त गर्दै पालिकाको तर्फबाट प्रति परिवार ५० हजार रुपैयाँ राहत उपलब्ध गराएक छन् ।
उनले यस क्षेत्रका नागरिक अत्यन्तै पीडा र आक्रोशमा रहेको उल्लेख गर्दै सरोकारवाला निकायले छिटोभन्दा छिटो बाघको व्यवस्थापन, नियन्त्रण तथा आवश्यक परे ‘सुट’ गर्ने प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।