
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ गोरेकाडास्थित हिमालय नमूना आधारभूत विद्यालयका प्रधानाध्यापक झलक खत्रीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।
प्रधानाध्यापक खत्रीको गत मंसिर ११ गते बाँफिकोट–७ बास्तालामा मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । उनको निधनपछि परिवारमा उत्पन्न आर्थिक संकटलाई केही हदसम्म समाधान गर्ने उद्देश्यले देश तथा विदेशमा रहेका शुभेच्छुक, सहयोगी र समाजसेवीबाट रकम संकलन गरी खत्री परिवारलाई हस्तान्तरण गरिएको हो ।
खत्री परिवारले सहयोग गर्ने सम्पूर्ण दाताप्रति धन्यवाद व्यक्त गरेको छ । सरल स्वभावका खत्री सामाजिक काममा समेत सक्रिय र अग्रणी रहेको स्थानीयवासीहरूले बताएका छन् ।
सहयोगी दाताहरूले राहतस्वरूप संकलन गरिएको रकम तोकिएको उद्देश्यअनुसार मृतक खत्रीको घरपरिवारलाई उपलब्ध गराउन भूमिका खेलेका समाजसेवीहरूप्रति समेत आभार व्यक्त गरेका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा नेकपा सम्बद्ध नेता तथा समाजसेवी गोरख कुसारी, बाँफिकोट गाउँपालिका–७ का वडा अध्यक्ष नरबहादुर खत्री, ढारबाङस्थित विद्यालयका प्रधानाध्यापक हिरालाल खनाललगायतको उपस्थिति रहेको थियो । संकलित रकम देश तथा विदेशमा रहेका सहयोगीहरूबाट प्राप्त भएको आयोजक पक्षले जनाएको छ ।