
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमाबाट दिइने सेवा बन्द गरेको छ । स्वास्थ्य बिमा बोर्डले उपचार खर्चबापतको रकम ४० करोड रुपैयाँ भुक्तानी लामो समयदेखि नदिएपछि माघ १ गतेदेखि स्वास्थ्य बिमा सेवा बन्द गरेको हो ।
‘उपचार खर्चबापतको रकम नपाएपछि अस्पतालले पहिले नै माघ १ गतेदेखि स्वास्थ्य बिमाअन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय बोर्डलाई जानकारी गराइसकेको थियो,’ अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले भने, ‘अस्पतालले भुक्तानी पाएन, कसरी बिरामीको उपचार गर्ने ? सेवा बन्द गर्नुपर्ने अवस्था आयो ।’
माघ सुरुसँगै अस्पतालले बिमा स्वास्थ्यका सम्पूर्ण सेवा बन्द गरेको हो । ‘सधंै घाटा खाएर सेवा दिन सक्दैनौं,’ उनले भने, ‘सरकारले बिमा रकम उपलब्ध गराउन नसक्दा दैनिक ५ सय बिरामी स्वास्थ्य बिमा सेवाबाट वञ्चित हुनुपर्यो ।’ सरकारले स्वास्थ्य बिमाको रकम नदिँदा २०७७ सालदेखि नै अस्पतालले प्रदान गर्दै आइरहेको स्वास्थ्य बिमा सेवा बन्द गर्नुपरेको उनले बताए ।
देशकै प्रमुख सरकारी अस्पतालमध्ये शिक्षण अस्पतालले त स्वास्थ्य बिमा सेवा बन्द गर्नुपर्ने स्थिति आएको छ । शिक्षण अस्पतालजस्तो केन्द्रीय र रेफरल अस्पतालले नै स्वास्थ्य बिमा सेवा बन्द गर्ने निर्णयमा पुगेपछि गम्भीर विषय बनेको छ । बिमा बोर्डले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई ४० करोड भुक्तानी दिन बाँकी रहेको भन्दै स्वास्थ्य बिमाको सेवा बन्द गरेको छ ।
त्यस्तै, अर्को महत्वपूर्ण अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द पनि स्वास्थ्य बिमा सेवा बन्द गर्ने तयारीमा छ । बिरामीहरूको उपचार गरेबापतको ४० करोड रुपैयाँ बिमा बोर्डले भुक्तानी नगरेको भन्दै केन्द्रले पनि अब स्वास्थ्य बिमा सेवा बन्द गर्ने तयारी गरेको हो । केन्द्रका अनुसार बजेट अभावका कारण स्वास्थ्य बिमा सेवा बन्द गर्ने जानकारी बिमा बोर्ड र स्वास्थ्य मन्त्रालयलाई पठाइसकेको छ ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका सूचना अधिकारी सुदीपचन्द्र दाहालले स्वास्थ्य बिमा बन्द गर्नुपर्ने अवस्था आएको बताउँछन् । ‘केन्द्रले गाह्रो अवस्थामा मुस्किलले सेवा दिँदै आएको छ,’ उनले भने, ‘हामीले भुक्तानी नपाएर सेवा बन्द गर्छौं भनेर बिमा बोर्डमा पत्र पठाइसकेका छौं, यस्तै हो भने कुन दिन बन्द हुन्छ ।’ बोर्डले कुनै जवाफ नदिएको उनले बताए । ‘स्वास्थ्य मन्त्रालयले बिमा ऐन परिमार्जन गरेर छिट्टै नै बिमा रकम भुक्तानी गर्छौं भनेर आश्वासन दिएको छ,’ उनले भने, ‘आश्वासनले मात्रै अस्पताल चल्दैन ।’ विपन्न र बिमित गरेर ३४ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको सूचना अधिकारी दाहालले बताए ।
लाखौं नागरिकले सेवा लिने अस्पतालले नै यस्तो निर्णय गरेपछि स्वास्थ्य बिमा बोर्डमाथि नै प्रश्न उठेको छ । स्वास्थ्य बिमा बोर्डले देशभरका अस्पताललाई बिमा रकमबाफतको झन्डै १३ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने बाँकी छ ।
सरकारबाट आउने अनुदान न्यून भएको कारण अस्पतालमा स्वास्थ्य बिमा सेवाबारे समस्या भएको बोर्डका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी विकेश मल्ल बताउँछन् । सरकारले चालु आर्थिक वर्षका लागि छुट्याएको बजेट सबै खर्च भइसकेको र त्यसपछि पनि दाबी भुक्तानी निरन्तर बढ्दै गएकाले समस्या देखिएको उनको भनाइ छ ।
स्वास्थ्य बिमा सेवा बन्द गरेका र गर्ने तयारीमा रहेका अस्पतालले गलत कार्य गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् । ‘अस्पतालमा बिमा रकमको समस्या छ भने बिमा बोर्डसँग समन्वय गर्नुपर्यो, छलफल गर्नुपर्यो,’ उनले भने, ‘एउटा सूचनाको भरमा आफूखुसी सेवा बन्द गर्न मिल्छ ?’ स्वास्थ्य बिमा सेवाबारे स्वास्थ्य मन्त्रालय र बिमा बोर्डबीच छलफल भइरहेको र निकास निकाल्ने प्रक्रियामा रहेको उनले बताए । ‘कस्ताकस्ता समस्याको त वार्तावाट समाधान हुन्छ,’ उनले भने, ‘सेवा प्रदायकबीच समाधान हुँदैन ?’ स्वास्थ्य बिमा सेवाका सहजताका लागि ऐन परिमाजर्नबारे क्याबिनेटमा पेस गर्न लागिएको उनले बताए ।
देशभर ५ सय १० वटा अस्पताल स्वास्थ्य बिमा बोर्डसँग आबद्ध छन् । जसबाट १ करोड नागरिकले स्वास्थ्य बिमाको सेवा लिन्छन् । दैनिक ५० हजारले जनाले स्वास्थ्य बिमामार्फत सेवा लिने गरेको बोर्डले जनाएको छ । बोर्डका अनुसार एक महिनाको अवधिमा साढे २ अर्बबराबरको बिमितहरूले सेवा लिन्छन् ।
सरकारले ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ । २०७२ सालमा गठन भएको स्वास्थ्य बिमा बोर्डले ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको हो ।
बिमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको ३ हजार ५ सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख रुपैयाँबराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा गराउन सक्नेछन् ।
पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्य ७ सयका दरले बिमा रकम थप गर्नुपर्नेछ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य २० हजारदेखि २ लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ ।