
काठमाडौं : स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन् । उनले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।
स्वास्थ्य बिमा भुक्तानीको दायित्व बढेर बोर्ड दबाबमा परेका बेला काफ्लेको राजीनामा दिएको बुझिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा बोर्डले लामो समयदेखि उपचार खर्चबापतको रकम ४० करोड रुपैयाँ भुक्तानी नदिएपछि माघ १ गतेदेखि स्वास्थ्य बिमा सेवा बन्द गरेको छ ।
त्यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्दले पनि बिरामीहरूको उपचार गरेबापतको ४० करोड रुपैयाँ बिमा बोर्डले भुक्तानी नगरेको भन्दै स्वास्थ्य बिमा सेवा बन्द गर्ने तयारी गरेको छ ।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई झण्डै १३ अर्ब रुपैयाँ बढी भुक्तानी दिन बाँकी छ । अर्थ मन्त्रालयले यही मोडलमा बिमा कार्यक्रम चल्ने हो भने थप अनुदान दिन नसक्ने स्पष्ट पारेको छ । सरकारले आवश्यक सहयोग नगर्दा स्वास्थ्य बिमा कार्यक्रम नै संकटमा परेको छ ।
लाखौं नागरिकले सेवा लिने अस्पतालले नै यस्तो निर्णय गरेपछि स्वास्थ्य बिमा बोर्डमाथि नै प्रश्न उठेको छ । स्वास्थ्य बिमा बोर्डले देशभरका अस्पताललाई बिमा रकमबाफतको झन्डै १३ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने बाँकी छ ।
'संकटको घडीमा निर्देशकको राजीनामा आउनु भन्दा ठुलो दुःख अरु के हुन्छ र ?,' बोर्डका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी विकेश मल्लले भने, 'राजीनामा दिएको भन्ने खबर आएको छ ।’
स्वास्थ्य बिमा कार्यक्रम 'फेल' भएरै निर्देशकले राजीनामा दिएको हो भन्ने प्रश्नमा सूचना अधिकारी मल्लले भने, ‘बोर्डको अवस्था त्यस्तै छ, हुन पनि सक्छ, तर निमित्त राखेर सेवा प्रवाह गर्न सकिने प्रावधान छ ।’
तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा तनहुँका काफ्ले स्वास्थ्य बिमा बोर्डमा नियुक्त भएका थिए ।