२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

ताप्लेजुङवासीकाे वनभाेज महाेत्सव

shivam cement
२०८२ माघ ५ गते १२:४७
Shares
ताप्लेजुङवासीकाे वनभाेज महाेत्सव

काठमाडौं : राजधानीमा विभिन्न पेशा व्यवसाय सञ्चालन गरी बसाेवास गर्दै आएका ताप्लेजुङवासीले बृहत् वनभाेज कार्यक्रम आयोजना गर्ने भएका छन् । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले माघ १० गते शनिबार कीर्तिपुरको चोभारस्थित हुप्पील्यान्डमा १४औं तापलेजुङ वनभाेज कार्यक्रम आयोजना गर्न लागेको हो ।

ताप्लेजुङवासीहरूलाई एउटै साझा मञ्चमा एकत्रित गराउँदै सामाजिक एकता, भावनात्मक सम्बन्ध, सांस्कृतिक निरन्तरता तथा सामूहिक उत्तरदायित्वको भावना विकास गर्ने लक्षसहित वनभोज कार्यक्रम आयोजना गर्न लागिएको ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंका अध्यक्ष बलबहादुर तामाङले बताए ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले महाेत्सवका रूपमा आयोजना गर्न लागिएको वनभाेज एक महत्वपूर्ण सामाजिक अभियानका रूपमा स्थापित हुँदै आएको बताउँदै आगामी शुक्रबार चाेभारमा आयोजना हुने वनभाेजमा करिब ५ हजार जिल्लावासी सहभागी हुने बताए । 

कार्यक्रममा ताप्लेजुङ जिल्लाको बहुजातीय तथा बहुसांस्कृतिक पहिचान झल्काउने तामाङ सेलो डफ्फु, च्याब्रुङ, स्याब्रु, साकेला, कौडा, गुरुङ नृत्य, लाखे नाचलगायत विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेसमेत उनले बताए ।

कार्यक्रममा सहभागीहरूका लागि चियर रेस, डोरी तान, छेलो हान्ने, घैंटो फुटाउनेलगायतका मनोरञ्जनात्मक खेलहरू समेत व्यवस्था गरिएको वनभोज संयोजक लोजक लामा लुईटले जानकारी दिए । 

केन्द्रका उपाध्यक्ष सन्ताेष मादेनले स्वागत मन्तव्य राख्दै २०६२ सालदेखि हरेक वर्ष वनभाेज कार्यक्रम आयोजना गरिँदै आएको बताए ।

केन्द्रले ताप्लेजुङ पर्यटन प्रवर्धनका लागि काठमाडौंमा विभिन्न कार्यक्रम गर्दै आएको  छ। खानपिन व्यवस्थापन समिति संयाेजक लाेकमणि लिम्बूले ६५० रूपैयाँमा मिलिजुली क्याटरिङले तीन पटककाे खाजा खानाका लागि प्रबन्ध गर्ने बताए ।

ताप्लेजुङ जिल्लाप्रतिको आत्मियता, साझा पहिचान तथा आपसी सद्भावलाई संस्थागत रूपमा प्रवर्धन गर्ने उद्देश्यले २०६२ सालदेखि निरन्तर रूपमा वनभोज कार्यक्रम आयोजना हुँदै आएको छ । 

कार्यक्रमको आर्थिक व्यवस्थापन टिकट बिक्री, स्वेच्छिक दान तथा प्रायोजक सहयोगमार्फत गरिएको छ । टिकट व्यवस्थापन, यातायात व्यवस्था, खानपान, तथा स्टेज व्यवस्थापन, अतिथि सत्कार, सांस्कृतिक तथा खेलकुद कार्यक्रम, प्रचार-प्रसार र स्वयंसेवक व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको केन्द्रले बताएको छ ।

केन्द्रका निवर्तमान अध्यक्ष टंक श्रेष्ठले उपत्यकामा बस्ने जिल्लावासीकाे भेटघाट र एकताको उपयुक्त मञ्च र त्रिवेणी बनेको भन्दै सराेकार केन्द्रले पर्यटन आर्थिक तथा सामाजिक कार्यक्रम गरिरहने जानकारी दिए ।

सम्बन्धित खबर