
काठमाडौं : छिमेकी मुलुक भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ ।
भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हवाई तथा स्थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए । प्रवक्ता बुढाथोकीले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको उल्लेख गर्दै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको जानकारी दिए । निपाह भाइरस चमेरो, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखेर रोकथामका उपाय अपनाइएको उनको भनाइ छ ।
निपा संक्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वारेन्टाइनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान मन्त्रालयले सबैमा अपिल समेत गरेको छ ।
निपाह भाइरस एक घातक जोनोटिक भाइरस हो । जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्छ । यो भाइरस मुख्य रूपमा फलफूल खाने चमेरो (फ्रुट ब्याट) बाट मानिसमा सर्छ । अहिले यो भाइरस फेरि चर्चामा आएको छ किनकि भारतको पश्चिम बंगाल राज्यमा जनवरी २०२६ को सुरुवातमा यसका केसहरू पुष्टि भएका छन् ।
जनवरी २०२६ मा पश्चिम बंगालको बारासात क्षेत्रमा दुई जना नर्समा निपाह भाइरसको संक्रमण पुष्टि भएको छ । दुवै नर्सहरू नारायण मल्टिस्पेसियालिटी अस्पतालमा कार्यरत थिए र गम्भीर अवस्थामा छन् । एक जना कोमामा र अर्की भेन्टिलेटरमा छन् । यी केसहरू १९ वर्षपछि पश्चिम बंगालमा निपाहको पुनरागमन हो । पहिले २००१ र २००७ मा केसहरू देखिएका थिए ।
केही रिपोर्टहरूमा ५ वटासम्म केसहरू उल्लेख गरिएका छन् । करिब १२० जना उच्च जोखिममा रहेका सम्पर्कहरूलाई क्वारेन्टाइन र निगरानीमा राखिएको छ । भारतीय स्वास्थ्य अधिकारीहरूले राष्ट्रिय संयुक्त प्रकोप प्रतिकार्य टोली परिचालन गरेका छन् । संक्रमणको स्रोत खोजी भइरहेको छ । सम्भवतः काँचो खजुरको रस वा बिरामीको सम्पर्कबाट यो सर्दछ । चमेरोहरूको सर्वेक्षणमा सक्रिय भाइरस नभेटिए पनि एकमा एन्टिबडी फेला परेको छ । जसले विगतको संक्रमण देखाउँछ । भारतमा यसअघि केरलामा नियमित प्रकोपहरू हुँदै आएका छन् । तर यो पटक पश्चिम बंगालमा देखिनुले नयाँ चिन्ता बढाएको छ । अहिलेसम्म लकडाउन घोषणा गरिएको छैन तर निगरानी र परीक्षण बढाइएको छ ।
नेपालमा अहिलेसम्म निपाह भाइरसको कुनै केस पुष्टि भएको छैन । तर भारतको पश्चिम बंगालसँगको खुला सीमा र फ्रुट ब्याटहरूको उपस्थितिले जोखिम बढाएको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पतालहरूलाई निपाहजस्ता लक्षण भएका बिरामी र अचानक मृत्युका केसहरू रिपोर्ट गर्न निर्देशन दिएको छ ।
पूर्वी सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य डेस्कहरूलाई अलर्ट गरिएको छ । स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय बैठक गरी सतर्कता अपनाउने निर्णय गरेको छ । विज्ञहरूका अनुसार चमेरोबाट सर्नसक्ने यो भाइरस सीमापारि फैलिनसक्छ । त्यसैले रोकथाममा जोड दिइएको छ ।
निपाह भाइरसका लक्षण र रोकथाम
लक्षणहरू : सुरुमा ज्वरो, टाउको दुख्ने, खोकी, श्वासप्रश्वासमा समस्या हुन्छ । पछि मस्तिष्क सुन्निने (इन्सेफलाइटिस), कोमा र मृत्यु हुनसक्छ ।
सर्ने तरिका : चमेरोले टोकेका वा दुषित फलफूल÷खजुरको काँचो रस खाँदा र संक्रमित व्यक्तिको र्याल, खकार वा शारीरिक सम्पर्कबाट (मानिसबाट मानिसमा) सर्नसक्छ ।
रोकथामका उपायहरू :
काँचो खजुरको रस नपिउने ।
चमेरोले टोकेका फलफूल नखाने ।
संक्रमितसँग सम्पर्क भएमा तुरुन्तै स्वास्थ्य जाँच गराउने ।
हात धुने, मास्क लगाउने जस्ता सामान्य सावधानी अपनाउने ।
अहिले निपाहका लागि कुनै विशेष औषधि वा खोप उपलब्ध छैन, तर सहयोगी उपचारले ज्यान बचाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यसलाई प्राथमिकतामा राखेको छ र खोप विकास भइरहेको छ । नेपालमा जोखिम कम भए पनि सतर्क रहनु आवश्यक रहेको र कुनै लक्षण देखिए तुरुन्तै नजिकको अस्पतालमा सम्पर्क गर्न चिकित्सकको सल्लाह छ ।