२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

कस्तो हुनुपर्छ हाम्रा उम्मेदवारहरू ?

shivam cement
रामेश्वर भण्डारी
२०८२ माघ १५ गते ०६:००
Shares
कस्तो हुनुपर्छ हाम्रा उम्मेदवारहरू ?

लोकतन्त्रको उत्सव भनिने निर्वाचन नजिकिँदै जाँदा नागरिकको मनमा सधैं एउटै प्रश्न उठ्छ– हामीलाई कस्तो उम्मेदवार चाहिन्छ ? कस्तो उम्मेदवारले हाम्रो सपना पूरा गर्न सक्छ ? परम्परागत नाराले भरिएका पोस्टरहरू, उराठलाग्दा भाषणहरू र खोक्रा आश्वासनको भीडमा यो प्रश्न झन् गहिरो बन्दै गएको छ ।

हामीलाई सबैभन्दा पहिले इमानदार उम्मेदवार चाहिन्छ, जसको बोली र व्यवहार एकै होस् । जो चुनाव जित्नुअघि मात्र होइन, जितिसकेपछि पनि जनताको आँखामा आँखा जुधाएर संवाद गर्न सक्ने नैतिक बल बोकेर आओस् । भ्रष्टाचारलाई ‘प्रणालीको बाध्यता’ भनेर सम्झौताको भाषा नबोलोस् । त्यो नैतिक होस्, जिम्मेवार होस् । यस्तो उम्मेदवार आजको पहिलो आवश्यकता हो । हामी त्यही उम्मेदवारलाई लोकतान्त्रिक पद्धतिको आदर्श प्रतिनिधि ठान्न सकौं ।

हाम्रो उम्मेदवारले पद भनेको सम्मान मात्र होइन, जिम्मेवारी हो भन्ने बुझोस् । नीति–कानुन, अर्थ, शिक्षा, स्वास्थ्य र स्थानीय आवश्यकताबारे न्यूनतम ज्ञान राख्ने व्यक्ति होस् । बरू भाषणमा दक्ष नहोस्, तर काम र कर्तव्यमा आफ्नो क्षमतालाई उजागर गर्न सकोस् । आजको युगको आवश्यकता महसुस गर्ने उम्मेदवार बिना देशको गति अघि बढ्न सक्दैन ।

जनतासँग भावनात्मक र जिम्मेवारीपूर्वक जोडिएको उम्मेदवार आजको अर्को महत्वपूर्ण शर्त हो । चुनावको बेला मात्र देखिने, जितेपछि गाडीको कालो सिसाभित्र हराउने नेता चाहिएको होइन । जनताको दुःख, पीडा र प्रश्न बोकेर ऊ संसद् पुगोस, जनताकै बीचमा आएर प्रतिबद्धता पूरा गरोस् । जसलाई जनताले गर्वका साथ आफ्नो प्रतिनिधि भन्न सकून् । सिंहदरबार धाउने होइन, गाउँको आँगनबाट देश देख्न सक्ने उम्मेदवार नै भरोसायोग्य हुन्छ । यो जनताले बुझिसकेका छन् ।

हामीलाई निडर उम्मेदवार चाहिन्छ । गलतलाई गलत भन्न सक्ने, आफ्नै दलभित्रको बेथितिसँग पनि सम्झौता नगर्ने, शक्तिको दबाबमा नझुक्ने उम्मेदवारले लोकतन्त्रको प्रवद्र्धन गर्न सक्छ । लोकप्रियता घट्ला कि भनेर सत्य लुकाउनेले सधैं सम्झौता गर्छ । अलोकप्रिय भए पनि सही निर्णय लिन सक्ने आँट भएको नेता आजको राजनीतिमा चाहिन्छ । त्यो दुर्लभ होला, तर अत्यावश्यक छ ।

दीर्घकालीन सोच भएको उम्मेदवार बिना समृद्धिको सपना पूरा हुँदैन । भोलिको चुनाव जित्ने रणनीतिभन्दा पर, भोलिका लागि देश कस्तो बनाउने भन्ने दृष्टि राख्ने नेता नै साँचो अर्थमा योग्य उम्मेदवार हो । अब निर्णय जनताकै हातमा छ । पुराना अनुहार, पुराना नारा र पुराना दलको मोहभन्दा माथि उठेर सोच्न सक्ने मान्छे देशलाई चाहिएको हो । फेरि पुरानै गल्ती दोहोर्याउन हुन्न । सही उम्मेदवारको छनोटले मात्र सही भविष्यको ढोका खोल्न सक्छ । लोकतन्त्र बलियो बनाउने जिम्मेवारी मतदाताको विवेकमै निर्भर छ ।

पाँच वर्षमा सिन्को पनि नभाँच्नेहरूलाई हामीले पटक–पटक सत्ता सुम्पियौँ । उनीहरूका रूप फेरिए, बोली फेरियो, तर चरित्र फेरिएन । यही चक्रमा अल्झिरहेकै कारण लोकतन्त्र संस्थागत हुन सकेन, लोकतान्त्रिक आदर्श चुनावी अनुष्ठानमा सीमित भयो । प्रश्न उब्जिन्छ– यस्तो प्रवृत्तिबाट मुक्त हुन लोकतान्त्रिक राज्यमा कस्तो उम्मेदवार चाहिन्छ ?

लोकतान्त्रिक समाज निर्माण गर्ने उम्मेदवार आचरणमै लोकतान्त्रिक हुनुपर्छ । उसले सत्ता पाउने लक्ष्यभन्दा पहिला जनताको जीवनस्तर सुधार्ने संकल्प र साहस राख्नुपर्छ । निर्णय गर्दा ‘म’ होइन, ‘हामी’ भन्ने, असहमति सुन्न सक्ने र आलोचनालाई शत्रुता नठान्नेले मात्र लोकतान्त्रिक चरित्रलाई स्थापित गर्न सक्छ ।

त्यस्तो उम्मेदवारले जनतालाई डर देखाएर होइन, भरोसा जगाएर राजनीति गर्नुपर्छ । वर्ग र क्षेत्रको मात्र डर बेचेर भोट बटुल्नु राम्रो होइन । साझा पीडा र साझा भविष्यको भाषा बोल्ने उम्मेदवार लोकतान्त्रिक हो, किनकि लोकतन्त्र डरबाट होइन, चेतनाबाट जन्मिन्छ ।

लोकतान्त्रिक समाज बनाउने उम्मेदवारसँग राम्रो इतिहास मात्र होइन, नियत पनि सफा हुनुपर्छ । जनताको उम्मेदवारले गल्ती स्वीकार्न सकोस् र प्रश्नबाट नभागोस् । ‘सबैभन्दा धेरै बोल्ने’ होइन, ‘सबैभन्दा बढी सुन्ने’ व्यक्ति नै साँचो प्रतिनिधि हो ।

सबैभन्दा महत्वपूर्ण कुरा– त्यस्तो उम्मेदवार नायक बन्न खोज्दैन । ऊ प्रणाली बलियो बनाउन चाहन्छ । किनकि नायकको मृत्युसँगै त्यो विचार पनि ढल्छ, तर संस्थाको निर्माणले आदर्श पुस्तौँसम्म जोगाउन सक्छ ।

हामीले खोज्नुपर्ने उम्मेदवार चमत्कारका गफ गर्ने होइन । ऊ असल छिमेकी जस्तै होस्– काम गर्ने, जवाफ दिने, झूट नबोल्ने, सहयोग गर्ने । लोकतन्त्र जोगाउने जिम्मेवारी उसको मात्र होइन, हाम्रो पनि हो । जबसम्म मतदाता आफैँ जाग्दैन, योग्य उम्मेदवार पनि एक्लो पर्छ । अब निर्णय हाम्रो हो– फेरि रङ हेरेर बहकिने कि चरित्र हेरेर रोज्ने ? लोकतन्त्र मतदानको दिन मात्र होइन, छनोटको चेतनामा बाँच्छ ।

(लेखक भण्डारी, अधिवक्ता हुन् ।)

सम्बन्धित खबर