
काठमाडौं : भारतको पश्चिम बंगाल राज्यमा देखिएको निपाह भाइरसले एसियामै त्रास सिर्जना गरेको छ । कुनै खोप वा औषधि समेत नबनिसकेको यो भाइरबाट बंगालका दुई जना संक्रमित भएपछि यसको त्रास बढेको हो । भारतमा यो भाइरस देखिएको भने पहिलोपटक होइन । सन् १९९८ मा मलेसियाबाट सुरु भएको यस भाइरसको प्रकोप सन् २००१ मा पनि पश्चिम बंगालमै देखिएको थियो । दोस्रोपटक सन् २०१८ मा केरला राज्यमा फैलिएको यस भाइरसबाट कम्तीमा १७ जनाको मृत्यु भएको थियो । सन् २०२३ मा पनि सोही राज्यमा दुई जनाको ज्यान गएको थियो ।
त्यसबेला मानिसको ज्यानै लिएको भाइरस पुनः देखिनु खतराको संकेत भएको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । भारतको स्वास्थ्य मन्त्रालयले भने मंगलबार राति विज्ञप्ति जारी गर्दै उन्नत निगरानी, प्रयोगशाला परीक्षण तथा क्षेत्रीय अनुसन्धानमार्फत संक्रमण फैलिन नदिइएको बताएको छ । साथै ती दुई जनासँग सम्पर्कमा आएका १ सय ९६ जनामा भाइरसको परीक्षण गर्दा नतिजा नकारात्मक आएको पनि मन्त्रालयले जनाएको छ ।
यो रोग लागे मानिसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म रहेको छ । यसले गर्दा समुदायमा त्रास बढेको सरुवारोग विशेषज्ञ डा. पुनको भनाइ छ । निपाह भाइरस चमेरालगायका चरा, सुंगुर र मानिसबाट मानिसमै पनि सर्ने उनी बताउँछन् । निपाह संक्रमणको सुरुवाती चरणमाा ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने र वान्ता हुनेजस्ता लक्षण देखा परे पनि यो कडा रूपमा देखिए मस्तिष्कमा सुजन भई संक्रमित ४८ घण्टामै कोमामा उनको भनाइ छ । यसबाट हुन सक्ने मृत्युदर ७५ प्रतिशतसम्म भनिए पनि अधिकांश संक्रमितको मृत्युदर ७० प्रतिशतभन्दा माथि नै देखिएको उनले बताए । साथै कतिपयको मृत्युदर शतप्रतिशत नै रहेको पनि उनी बताउँछन् । नेपालमा भने यो भाइरस भित्री नसकेको उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले भारतसँग नेपालको खुला सीमानाका भएकाले जोखिम तीव्र रूपमा बढ्न सक्ने बताए । उनले नेपालमा यो भाइरस भित्रिन नदिन भारतसँगका १३ वटै सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए । स्वास्थ्यकर्मीहरूलाई परीक्षणका लागि नाकामा खटाइ सकिएको पनि उनको भनाइ छ । त्रिभुवन विमानस्थल र भैरहवा विमानस्थलमा पनि ‘हेल्प डेस्क’मार्फत स्क्रिनिङ भइरहेको बताए । नेपालसँगै थाइल्यान्डले पनि पश्चिम बंगालबाट उडान हुने तीनवटा विमानस्थलमा यात्रुहरूको स्वास्थ्य परीक्षण सुरु गरेको छ ।
निपाह भाइरसका लक्षण र रोकथाम
लक्षणहरू : सुरुमा ज्वरो, टाउको दुख्ने, खोकी, श्वासप्रश्वासमा समस्या हुन्छ । पछि मस्तिष्क सुन्निने (इन्सेफलाइटिस), कोमा र मृत्यु हुन सक्छ ।
सर्ने तरिका : चमेरोले टोकेका वा दूषित फलफूल÷खजुरको काँचो रस खाँदा र संक्रमित व्यक्तिको ¥याल, खकार वा शारीरिक सम्पर्कबाट (एक मानिसबाट अर्को मानिसमा) सर्न सक्छ ।
रोकथामका उपायहरू :
काँचो खजुरको रस नपिउने ।
चमेरोले टोकेका फलफूल नखाने ।
संक्रमितसँग सम्पर्क भएमा तुरुन्तै स्वास्थ्य जाँच गराउने ।
हात धुने, मास्क लगाउनेजस्ता सामान्य सावधानी अपनाउने ।