
काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३१ बस्ने धादिङ थार्के गाउँपालिका–७ घर भएका २४ वर्षीय अन्जन भुजेल र काठमाडौं महानगरपालिका–२६ बस्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका–४ घर भएका ३१ वर्षीय नविन दमाई रहेका छन् ।
पक्राउ मध्ये अन्जनले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १७ लाख १० हजार रूपैयाँ र नविनले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ६० हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अन्जनलाई काठमाडौं महानगरपालिका–३१ बाट र नविनलाई काठमाडौं महानगरपालिका–३२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।