२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

बालेनको घरमा चोरी : नख्खु कारागारबाट फरार कैदी मुख्य योजनाकार

shivam cement
२०८२ माघ २५ गते १७:०३
Shares
बालेनको घरमा चोरी : नख्खु कारागारबाट फरार कैदी मुख्य योजनाकार

काठमाडौं : काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) बस्दै आएको डेरामा चोरी भएको घटना सार्वजनिक भएपछि धेरैले चासो राखे । तर अनुसन्धान अघि बढ्दै जाँदा यो चोरी कुनै सामान्य घटना मात्रै नभई जेलबाट भागेका एक पेसेवर चोरको नेतृत्वमा चलिरहेको संगठित गिरोहको काम भएको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले ललितपुरको नख्खु कारागारबाट फरार भएका मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये मुख्य व्यक्ति हुन्- काठमाडौं–१६ बालाजु स्थायी घर भएका ४२ वर्षीय मनिष (विष्णुबहादुर) राजवाहक ।

राजवाहक यसअघि चोरी मुद्दामा साढे तीन वर्ष कैद सजाय भोगिरहेका थिए । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका उनी त्यसपछि उपत्यकाका विभिन्न स्थानमा चोरी गर्दै हिँडिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उनले बालेनको डेरासहित कम्तीमा पाँच स्थानमा चोरी गरेको स्वीकार गरेका छन् । उनी विशेषगरी निर्माणाधीन घरहरूलाई ‘टार्गेट’ बनाउँदै धारा, टुटी, फलामे सामग्री, तथा बसोबास भएका घरबाट चाँदीका गिलास, कचौरा, थाली, दियो र अन्य महँगा सामान चोर्ने गर्थे ।

राजवाहकलाई माघ २३ गते बाँसबारीस्थित एक गेस्ट हाउसबाट पक्राउ गरिएको हो । उनी बस्दै आएको कोठाबाट वर्ल्डलिंक लेखिएको राउटर, सीसी क्यामेरा, चोरीमा प्रयोग हुने पिलास, सलाई रेन्ची, रेती, स्क्रु ड्राइभर, ज्याकेटलगायत औजारहरू बरामद भएका छन् ।

काठमाडौं महानगरपालिका–४ चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको बालेन बस्ने कोठामा ताला फोडेर चोरी गरिएको थियो । यही घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरी गिरोहसम्म पुग्न सफल भएको हो ।

राजवाहकले सो कोठाबाट चोरी गरेका सामानमध्ये केही आफ्ना सहयोगीमार्फत लुकाउने र बेच्ने व्यवस्था मिलाएका थिए ।

राजवाहकसँग मिलेर चोरीका सामान लुकाउने र बिक्री वितरण गर्ने दुई जना पनि पक्राउ परेका छन् ।

पहिलो, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ घर भई हाल गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का । उनी बालुवा डिपो सञ्चालन गर्दै आएका व्यक्ति हुन् । प्रहरीले उनी बैंकिङ कसुर मुद्दामा फरार सूचीमा रहेको व्यक्ति भएको जनाएको छ ।

खड्काको भक्तपुर ठिमी नगरपालिका–दुवाकोटस्थित घरबाट चाँदीका थाली, कचौरा, रिङ, नटबोल्ट, साथै सुनजस्तो देखिने झुम्का, चन्द्रमा, सिक्री, लक्ष्मीको मूर्ति भएको गहना बरामद गरिएको छ। राजवाहक र खड्काबीच करिब आठ वर्षदेखि चिनजान रहेको र एउटै ठाउँमा काम गर्ने क्रममा सम्बन्ध बढेको खुलेको छ ।

दोस्रो सहयोगी हुन् डोटीको दिपायल सिलगडी नगरपालिका–६ घर भई हाल धादिङको धुनीबेशी–७ लप्से बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ। उनी यसअघि जबरजस्ती करणी मुद्दामा सजाय भोगिसकेको व्यक्ति भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सञ्जयले चोरीका ल्यापटपहरू लुकाउन सहयोग गरेका थिए। उनले राजवाहकलाई ८ हजार रुपैयाँ दिएर दुई वटा ल्यापटप धितोमा राखेको खुलेको छ। उनको कोठाबाट बालेनको डेराबाट चोरी गरिएको एप्पलको म्याकबुक प्रो, डेल कम्पनीको ल्यापटप, चार्जर, झोला र सीसीटीभीको डीभीआर बरामद गरिएको छ ।

सञ्जय र राजवाहकबीच चिनजान रामेछाप कारागारमा रहँदा भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार तीनै जनालाई नियन्त्रणमा लिएर चोरी तथा संगठित अपराध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार गिरोहले यसअघि पनि उपत्यकाका विभिन्न स्थानमा चोरी गरेको हुन सक्ने आशंका छ । त्यसबारे विवरण संकलन भइरहेको छ ।

सम्बन्धित खबर