२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पोर्चुगलस्थित महावाणिज्यदूतावासको सेवा बन्द

ADV
भरत प्रधान
२०८१ साउन १६ गते २०:३०
पोर्चुगलस्थित महावाणिज्यदूतावासको सेवा बन्द

लिस्बन : पोर्चुगलको राजधानी लिस्बनमा रहेको अवैतनिक महावाणिज्यदूतावासको सेवा बन्द भएको छ । महावाणिज्यदूतावासले मंगलबार एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको जनाएको हो । फ्रान्सको पेरिसमा रहेको नेपाली दूतावासबाट कामकारबाही र सेवा बन्द गर्न निर्देशन आएको जनाउँदै मंगलवारबाटै कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको महावाणिज्यदूतावासले जनाएको छ ।

दूतावासले पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त भइसकेको भन्दै कामकारबाही बन्द गर्न निर्देशन दिएबमोमिज सेवा बन्द गरिएको महावाणिज्यदूतावासले जनाएको छ । दूतावासको निर्देशनमा कार्यालयको सम्पूर्ण सेवा बन्द भएको जनाउँदै महावाणिज्यदूतावासले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

दूतावासले मौखिक रुपमा ठाडो आदेश दिएर कार्यालयको दैनिक कामकारबाही र सेवा बन्द गर्न भनेपछि दूतावासको निर्देशनबमोजिम नै सेवा बन्द गरिएको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकर बहादुर हमालले जानकारी दिए ।

नेपाल सरकारको प्रतिनिधिका रुपमा रहेर दश वर्षसम्म आफूले गरेको सेवा र योगदानको दूतावासले अवमूल्यन गरेको हमालले गुनासो गरे । दूतावासको यस्तो खालको आदेश र अपमानजनक व्यबहारले आफूलाई दुखित तुल्याएको बताए ।

‘राजदूत नियुक्त भएपछि मेरो कार्यभार स्वतः सकिन्छ । कार्यालयको कामकारबाही र सेवा स्वभाविकरुपमा बन्द हुन्छ । त्यसमाथी मेरो कार्यअवधि पनि जुलाईमै सकिदै छ । कार्यालयको काम कार्वाही र सेवा बन्द गर्ने पनि त प्रकृया होला नि । तर यसरी हतारमा तत्काल बन्द गर्नु भन्ने आदेशले यहाँका हजारौं नेपालीले दुःख पाउने भएका छन् । उनीहरुका कागजी कामहरु प्रभावित हुने भएका छन्,’ हमालले चिन्ता व्यक्त गर्दै भने ।

महावाणिज्यदूतावासको सेवा बन्द भएसँगै पोर्चुगलमा रहेका नेपाली प्रत्यक्ष प्रभावित हुने भएका छन् । सोमबार मात्रै सरकारले परराष्ट्रका सहसचिव प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि राजदूत सिफारिस गरेको छ । यसअघि पोर्चुगलका लागि राजदूत सिफारिस भएका सनिल नेपाल भने पोर्चुगल आउन नपाइ फिर्ता बोलाइएका थिए । हालसम्म नेपाली दूतावास नभएको पोर्चुगलमा महावाणिज्यदूतावासले विगत १० वर्षदेखि राहदानीलगायतका कन्सुलरसम्बन्धी सेवा दिँदै आएको थियो ।  

सरकारले सन् २०१४ मा हमाललाई अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो भने सन् २०२० मा उनलाई महावाणिज्यदूतमा पदोन्नतिसमेत गरेको थियो ।

यता फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले भने महावाणिज्यदूतावासले भने जस्तो कामकारबाही र सेवा बन्द गर्न निर्देशन नदिइएको बताए । उनको कार्यअवधि सकिएका कारण कार्यवधि थप गर्न र निरन्तरताका लागि दूतावाससँग समन्वय र सहजीकरण गर्न भनिएको राजदूत भट्टराईले बताए ।

‘कार्यवधि सकिएका कारण कतिपय काममा कानूनी समस्या आइनपरोस् भन्नका लागि र उहाँले गर्नुभएको योगदान र सेवाको सम्मानका लागि समन्वय र सहजीकरण गर्न भनिएको हो,’ राजदूत भटराईले भने ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise