मनोज परियार, ध्वनी सम्पादक
एउटा सुन्दर श्रवणयोग्य सिर्जना तयार हुन धेरै हातहरुको महत्वपूर्ण योगदान रहेको हुन्छ । गीत संगीत सुन्दा जति आनन्द महसुस हुन्छ । त्यसभित्र डुबेर आफ्नो सिर्जना गर्नेहरुको गुनासो बेग्लैछ । गीत स्रोता माझ सफल हुन्छ । त्यही गीतलाई श्रवणयोग्य बनाउन लागि पर्ने पर्दा पछाडिका पात्रहरु ओझेलमा रहेर पनि आफ्नो कर्ममा दिनरात नभनी खटिरहेका हुन्छन् ।
त्यस्तै व्यक्तित्व हुन् लमजुङ भोटेओडारका मनोज परियार । उनी अहिलेका चर्चित ध्वनी सम्पादक हुन् । आफ्नै क्षेत्रमा मात्र आफुले गरेको कामको मुल्यांकन हुने र आम स्रोता माझ आफुले सिर्जना गरेको कामको जानकारी हुन नसक्दा दुखित छन् उनी । पर्दा पछाडि रहेर गीत संगीतलाई सिङ्गार्ने कार्यमा महत्वपूर्ण भूमिका निभाउनेहरुको पनि सञ्चार माध्यमहरुले कुन विधामा कसले काम गरेको हो भन्ने नाम समेत उल्लेख नगरि दिँदा आफुहरु ओझेलमा परेको उनको ठम्याई छ ।
पाँच सय भन्दा बढी गीत र केही फिल्मका गीतमा ध्वनी सम्पादनको कार्य गरिसकेका ध्वनी सम्पादक मनोज परियारको कामको मुल्यांकन गर्दै विभिन्न संघसंस्थाले सम्मान समेत गरेको छ । उनले ज्योति फिल्म एण्ड म्युजिक अवार्ड २०७७ मा ‘सर्वोत्कृष्ट ध्वनी सम्पादन अवार्ड’, बिराट म्युजिक एण्ड फिल्म सम्मान २०७८, हिमालयन इन्टरनेशनल सम्मान २०७८, निमस अवार्ड २०७८, मिलाप स्रष्टा सम्मान २०७८, तीज छायाँ छबी म्युजिक अवार्ड २०७८, क्वालिटी म्युजिक अवार्ड २०७८, स्पासीब ब्बलेर इन्टरनेशलन फिल्म फेष्टिवल ‘जुरी अवार्ड २०२२’ लगायतका सम्मानबाट सम्मानित भइसकेका छन् ।
भविष्यमा पनि यसै क्षेत्रमा सक्रिय रहने सोच लिएर आफ्नो कर्ममा निरन्तर लागि परिहेका कुशल ध्वनी सम्पादक मनोज परियारले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीः
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
ध्वनी सम्पादनको कार्यमै व्यस्त छु ।
ध्वनी सम्पादन भनेको के हो ?
ध्वनी सम्पादन भनेको साउण्डको मेरुदण्ड हो । साउण्डलाई पूर्णरुप दिनेको नै ध्वनी सम्पादकको हो । जब एउटा गीत तयार पार्न गीतकार, संगीतकार, गायक, एरेन्जरको भूमिका भएजस्तै ध्वनी सम्पादकको पनि महत्वपूर्ण भमिका हुन्छ । गीतमा प्रयोग हुने बाजागाजा, भोकल आदि सानो–सानो कुरालाई मिलाएर श्रृंगार कार्य नै सम्पादन हो ।
कहिले देखि यो क्षेत्रमा हुनुहुन्छ ?
पूर्ण रुपले यो पेशा अंगालेको चाँही २०७० सालबाट हो । अहिले पनि सक्रिय छु ।
एउटा गीत वा फिल्म पूर्ण रुपमा तयार हुनलाई ध्वनीको कत्ति महत्व हुन्छ ?
सबैभन्दा महत्वपूर्ण भूमिका नै ध्वनी सम्पादकको हुने गर्छ । जसरी एउटा कुकले स्वादिष्ट खाना तयार गर्नको लागि जति महत्वपूर्ण भूमिका खेलेको हुन्छ । खानालाई कस्तो स्वादको बनाउने भन्ने कुरा कुकको हातमा भएजस्तै एउटा गीत वा फिल्मलाई कस्तो प्रकारको सजावट गराउने भन्ने नै ध्वनी सम्पादकको हातमा हुन्छ । जब एउटा गीत रेकर्डिङ हुन्छ त्यो पूर्ण रुपमा काँचो माटो जस्तै हुन्छ र त्यसलाई सजावट गरेर एउटा राम्रो आकृति दिने काम भनेकै ध्वनी सम्पादकको हो ।
आफुले गरिरहेको कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
पूर्ण रुपमा सन्तुष्ट छु र त २०७० सालदेखि आजसम्म निरन्तर यसै क्षेत्रमा छु । र, भविष्यमा पनि यही क्षेत्रमा निरन्तर हुनेछु ।
यो क्षेत्रमा आर्थिक अवस्था कस्तो छ ?
आर्थिक हिसाबले कुरा गर्नुपर्दा पहिले भन्दा अहिले अलि राम्रो छ । जब आफ्नो डिमाण्ड मार्केटमा बढ्न थाल्छ तब नै राम्रो कमाई हुने हो । मेरो कुरा गर्नुहुन्छ भने कामको कुनै समस्या छैन । काम भएपछि दाम त हुने नै भयो त्यसैले सन्तुष्ट छु ।
तपाईले गरेको सिर्जना आम समुदायमा पुगेपनि स्रोता, दर्शकहरुले नामसम्म पनि नसुन्दा कस्तो महसुस हुन्छ ?
अति नै दुःख लाग्छ । पर्दा पछाडि काम गर्ने भएर होला खासै नामले चिनिदैन र जतिपर्दा अगाडिको भूमिका हुन्छ । त्यति नै पर्दा पछाडिको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । पर्दा पछाडि काम गर्ने हामी जस्तोलाई मिडियावालाहरुले पनि चासो र महत्व नदिने हुँदा आमसमुदायले चिन्ने त कुरै भएनजति चिन्छन् । आफ्नो कामको आधारमा यसै क्षेत्रका व्यक्तिहरुले चिन्छन् । गीतकार, गायक, गायिका र संगीतकारको गीत वा भिडियो सार्वजनिक हुँदा समाचारमा नाम उल्लेख गरिएको हुन्छ । त्यसमा हाम्रो पनि मिहेनत परेको हुन्छ र पनि नाम नआउँदा सारै दुःख लाग्छ ।
अहिलेसम्म के–कस्ता सिर्जनाहरुमा ध्वनी सम्पादन गर्नु भो ?
आजको दिनसम्म आउँदा लोक, लोक दोहरी, पप, आधुनिक, फिल्म, भजन, राष्ट्रिय गीत, देउडा, काठे, विज्ञापन, विभिन्न भाषाभाषीका गीतहरु सम्पादन गरिसकेको छु ।
यो काममा अप्ठ्यारो पक्ष के–के हुन ?
सुष्म रुपले दिमाग लगाएर गरिने यो जटिल काम हो । यसको लागि हामी कहाँ प्रयाप्त अध्ययन गर्ने ठाउँ पनि छैन । सरकारी पक्षबाट पनि यस क्षेत्रलाई खासै महत्व नदिएको हुनाले धेरै गाह्रो छ । नेपालमा पनि ध्वनी सम्पादन सम्बन्धि अध्याय नगर्न सकिने एउटै भएपनि राम्रो कलेज वा प्रशिक्षण केन्द्र भइ दिएको भए यस क्षेत्रमा आउन चाहनु हुनेहरुले बुझेर, सिकेर आउन सजिलो हुन्थ्यो । डिजिटल प्रविधिले फड्को मारेको वर्तमान अवस्थामा राज्यले यस तर्फपनि ध्यान दिने हो भने विश्व समुदायमा नेपाली गीत संगीतको अझै राम्रो प्रभाव पर्ने थियो ।
अन्त्यमा, एउटा गीत तयार हुन कति समय लाग्दछ ?
ध्वनी सम्पादन भनेको अलि गाह्रो काम भएकोले ठ्याक्कै यति नै समय लाग्छ भन्न सकिदैन । किनभने त्यो कस्तो ट्रयाक छ । त्यसैमा भरपर्छ । प्रोफेशनलहरु काम अलि छिटो हुने गर्दछ भने नयाँहरुकोमा अलि धेरै समय लाग्ने गर्दछ । यस्ता पनि कामहरु गरेको छु । जुन तयार गर्नलाई २,३ दिनसम्म लागेका छन् । प्रोफेशनल कलाकारहरुको काम लगभग ८,९ घण्टामा तयार हुन्छ ।
नयाँहरुको गीत तयार गर्न झण्डै एक दिन लाग्छ । समयको लागि कस्तो ट्रयाक छ, कस्ता बाजा बजेका छन, कस्तो गाउनु भएको छ त्यसमा नै भरपर्दछ । राम्रो ट्रयाक छ भने छिट्टै हुन्छ । कलाकारमा आजभोलि रियाजको कमि छ । अहिले प्रविधिले फड्को मारेको अवस्था छ । त्यस कारणले गर्दा सम्पादन गर्न अति धेरै समय लाग्ने गर्दछ । यतिनै लाग्छ भन्न सकिने अवस्था छैन । त्यो ट्रयाकमा भरपर्दछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies