२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

ओखलढुंगा शृंखलाबद्ध लुटपाट र हत्या प्रकरण : काठमाडौंमा योजना बनाएर लुटपाट गर्न जाने समूह पक्राउ

shivam cement
सपना बोहरा
२०८२ माघ २६ गते ०६:२५
Shares
ओखलढुंगा शृंखलाबद्ध लुटपाट र हत्या प्रकरण : काठमाडौंमा योजना बनाएर लुटपाट गर्न जाने समूह पक्राउ

काठमाडौं : ओखलढुंगाको चिशंखुगढी–६ भदौरेमा लुटपाट गर्न गएका धनबहादुर राना मगरले ८० वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको प्राण लुटे । राई दम्पतीका घरमा धनमाल लुट्न गएका मगरले उनीहरूको ज्यानसमेत लिएका छन् । उनले कानमा लगाउने सुन, एक जोर सिक्री र केही नगद लुटपाट गरी कोदालोले वृद्ध दम्पतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले माघ २३ गते काठमाडौंबाट पक्राउ गरेर जिल्ला अदालत ओखलढुंगाबाट ज्यानसम्बन्धी कसुर तथा डाँका चोरी मुद्दामा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ । उनीहरूले काठमाडौंमा बसेर योजना बनाउने र लुटपाट गर्न जाने गरेको प्रहरीले जनाएको छ । 

यसअघि ओखलढुंगाका मिलन भनिने संगम राई, विनोद राई, प्रकाश भुजेल र दार्जे भनिने अशोक भुजेलले पनि गहना, पैसा लुटपाट गरेर एक दम्पतीको हत्या गरेका थिए । प्रहरीले उनीहरूको साथबाट हत्या तथा लुटपाटमा प्रयोग भएको चक्कु, ७.६५ एमएमका गोलीका खोका, मोबाइल, गरगहना, नगद बरामद गरेको छ । पहिलो हत्यामा पनि संलग्न राई दोस्रो घटनामा पनि संलग्न भएपछि प्रहरी पाँच दिनपछि पक्राउ गर्न सफल भएको थियो । 

यस्तै, ओखलढुंगाकै चिशंखुगढी गाउँपालिका–६ भदौरेमा गत पुस १५ गते स्थानीय ६० वर्षिय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरमाथि कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ  । घरेलु हतियार प्रयोग गरी दम्पतीको हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । हत्यापश्चात् गोठमा स्याउलाले छोपेर राखेको अवस्थामा मगर दम्पती शव भेटिएको थियो । लुटपाट गर्ने सो समूहले उनीहरूको साथबाट नगद र गरगहना लुटपाट गरी लगेका थिए । 

त्यस्तै, सिद्धिचरण नगरपालिका–४ चार्खुमा गत असोज २६ गते राति स्थानीय एकल महिलाको पनि हत्या भयो । ५२ वर्षीय रत्नकुमारी कटवाल (कार्की)को पनि घरेलु हतियार प्रयोग गरी हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । हतियारधारी समूहले बन्चरोले दाहिनेपट्टीको कञ्चट तथा कानको भागमा प्रहार गरी उनको वीभत्स हत्या गरेका थिए । हत्यापछि नगद तथा गरगहना लुटपाट गरे । 

सबै हत्याका घटना केलाएर हेर्दा सबै घटना सम्पत्ति लुटपाट गर्ने उद्देश्यले घटाइएको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक मदन केसी पछिल्लो घटनाक्रमलाई विश्लेषण गर्दा पहिले धन लुट्ने त्यसपछि हत्या गर्ने गरेको बताउँछन् । लुटेरा समूहले एकल वृद्धवृद्धालाई निशानामा पारेर धन, पैसा लुटने गरेको उनले बताए । लुटपाट गर्ने र हत्या गर्ने गिरोह नै हुन सक्ने उनले बताए । पहिलेका घटनाको सफल अनुसन्धान भएको छ । यी पछिल्ला दुवै घटना पनि उही प्रकृतिका भएकाले छिट्टै अपराधी नजिक पुगिने उनले बताए । 

प्रजिअको कमान्डमा स्विप अपरेसन 

ओखलढुंगामा शृंखलाबद्ध हत्या हुन थालेपछि प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको कमान्डमा स्विप अपरेसन चलाइएको छ । सिद्धिचरण नगरपालिका–४ को चार्खु, कालीबेली जंगलमा अपरिचित व्यक्तिहरू शंकास्पद तरिकाले हिँडडुल गरेको देखेपछि स्थानीय त्रसित छन् । स्थानीयले चार्खु, कालीबेली जंगलमा चार÷पाँच जना अनुहार नचिनिने गरी छोपेका अपरिचित मानिसहरू शंकास्पद तरिकाले हिँडडुल गरेको देखेपछि प्रशासनलाई खबर गरेका थिए । त्यसलगत्तै प्रमुख जिल्ला अधिकारी मंग्रातीसहित जिल्लाका सुरक्षा निकायका प्रमुखको उपस्थितिमा स्विप अपरेसन चलाइएको हो ।

अपरेसनमा प्रजिअ मंग्रातीको कमान्डमा प्रहरी नायब उपरीक्षक मदन केसी, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक महेश विक्रम केसी र दुर्गा बक्स गणका प्रमुख सेनानी सुरेन्द्र देउजाको कमान्डमा ४० जनाको टोलीले संयुक्त अपरेसन गरेको थियो । 

प्रहरीले दिएको जानकारी अनुसार शंकास्पद व्यक्तिसँग हातहतियार हुन सक्ने तथा उक्त स्थानमा पछिल्लो समयमा क्रमबद्व घटेको घटनालाई मध्यनजर गरी सो अपरेसन गरिएको हो ।

सम्बन्धित खबर