२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

इजरायलको केयरगिभरमा महिलाभन्दा पुरुषको आकर्षण बढी

shivam cement
२०८१ साउन १७ गते ०६:३०
इजरायलको केयरगिभरमा महिलाभन्दा पुरुषको आकर्षण बढी

काठमाडौं : इजरायलका वृद्धवृद्धा, अपांगलाई स्याहार गर्ने दीर्घकालीन स्याहार केन्द्रहरुमा रोजगारीमा महिलाको भन्दा पुरुष कामदारको आकर्षण बढी देखिएको छ । इजरायलले दुई हजार नेपाली कामदार लैजान सहमति जनाएअनुसार खुलाइएको आवेदनमा महिलाको भन्दा पुरुष कामदारको आवेदन बढी परेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार संकलन भएका ४ हजार २४ मध्ये पुरुष आवेदकको संख्या २ हजार १ सय १९ र महिला आवेदकको संख्या १ हजार ८ सय १५ रहेकोे छ । यसअघि भएको एक हजार पाँच सय नेपाली लैजाने सहमतिअनुसार आवेदन माग भएको अवस्थामा इजरायलले दुई हजारसम्म लैजाने सहमति जनाएको हो ।

यसअघि इजरायलबाट आठ सय नेपाली कामदारको माग आएको थियो । त्यसमा ५ सय जना मुख्य उम्मेदवार र ३ सय जना वैकल्पिक उम्मेदवार छनोट हुने व्यवस्था थियो । अब सो संख्यामा त्यति नै बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक गरी दुई हजार नेपाली लैजाने सहमति भएको हो । 

आवेदन दिने पुरुष बढी भएपनि छनोट हुने संख्या भने महिलाको बढी हुनेछ । इजरायलले लैजानेमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष हुनेछन् । आवेदन नै कम परेका कारण निवेदन दिनेमध्ये अधिकांश छनोट हुने अवस्था बनेको बताइएको छ । आवेदनमाथि छानबिन र कागजात रुजु गर्ने क्रम नसकिएको भन्दै विभागले आवेदकहरुको अन्तिम सूची प्रकाशन गर्दा आवेदकहरुको संख्या अझै केही घट्न सक्ने बताएको छ । 

इजरायलमा नेपाली केयर गिभरको तलब २ लाख १० हजार छ भने शुरुमा करार अवधि १ वर्षको भए पनि करार अवधि थप गर्दै ५ वर्षसम्म बस्न पाइने भएकाले खाडी तथा मलेसिया जाने भन्दा इजरायल जाने युवाहरुमा आकर्षण देखिएको बताइएकोे छ ।

इजरायलले केयर गिभर मात्रै नभइ भविष्यमा कृषि कामदार लैजाने विषयमा नेपाललाई उच्च प्राथमिकतामा राख्ने केही समयअघि इजरायली राजदूतले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई जानकारी दिएका थिए । 

इजरायल जान चाहनेहरु हाल राजधानीका विभिन्न इन्स्टिच्युटमा अंग्रेजी र हिब्रु भाषाको कक्षा लिइरहेका छन् । कतिपय इन्स्टिच्युट सञ्चालकले वैदेशिक रोजगार विभागका अधिकृतहरुको नाम जोडेर इजरायलको रोजगारी पक्का भन्दै मोटो रकम उठाएको सार्वजनिक भएपछि विभागले छनोट प्रक्रियामा योग्यतामा आधारित पूर्णतः निष्पक्ष हुने भन्दै पास गराउने वा इजरायल पठाउने भन्दै रकम माग गर्नेहरुका विरुद्ध विभाग वा श्रम मन्त्रालयको कल सेन्टरमा उजुरी दिन पनि आग्रह गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise