२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

shivam cement
भरत प्रधान
२०८२ फागुन ७ गते ११:५५
Shares
नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन : नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार पोर्चुगलको राजधानी लिस्बनमा बस्ने भएकाे छ । 

बैठकमा सहभागी हुन परराष्ट्र सचिव अमृत बहादुर राई नेतृत्वको तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल बुधबार लिस्बन आइपुगेको छ । राई नेतृत्वको टोलीलाई पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । टोलीमा परराष्ट्रका सहसचिव एवं युरोप महाशाखाका प्रमुख गणेश प्रसाद ढकाल र उपसचिव उत्तम घिमिरे रहेका छन् ।

बैठकको सहअध्यक्षता सचिव राईले गर्ने बताइएको छ । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूका साथै राजदूत पौडेल र दूतावासका अधिकारीहरू सहभागी रहने लिस्बनस्थित नेपाली दूतावासले जनाएको छ ।

बैठकमा नेपाल-पोर्चुगलबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गरिनुका साथै साझा चासोका क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यका विषयमा छलफल हुनेछ । दुबै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी हुने उक्त बैठकमा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने तथा आपसी हित, व्यापार, पर्यटन, आर्थिक सहकार्य र सहयोग अभिवृद्धिबारे छलफल हुने बताइएको छ । 

बैठकमा पोर्चुगलमा रहेका आप्रवासी नेपालीको अवस्था, कागजी प्रक्रियामा देखा परेका समस्या र नेपाली समुदायको हित लगायतका विषयमासमेत विशेष प्राथमिकताका साथ छलफल गरिने परराष्ट्र सचिव राईले जानकारी दिए । पोर्चुगलवासी नेपालीले भोग्नुपरेका समस्या र तिनको समाधानका लागि बैठकमा विशेष ध्यानाकर्षण गराईने उनले बताए । साथै, प्रहरी रिपोर्ट तथा अन्य कागजी प्रक्रियामा देखिएका जटिलतासहित पोर्चुगलवासी नेपाली समुदायको समग्र हितसँग सम्बन्धित विषयमा गहन छलफल गरिने राईले बताए ।

पोर्चुगल भ्रमणका क्रममा सचिव राईले पोर्चुगलको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने, नेपाली दूतावासको औपचारिक उद्घाटन गर्ने तथा पोर्चुगलमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको राजदूत पौडेलले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डल आगामी आईतवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

नेपाल–पोर्चुगल परामर्श संयन्त्र सन् २०१८ मा स्थापना भएको हो । 
 

सम्बन्धित खबर