
दम्माम, साउदी अरब : साउदी अरबमा कार्यरत नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र खेलकुद भावना सुदृढ गर्ने लक्ष्यसहित ‘१४औं दम्माम च्याम्पियन कप–२०२६’ आयोजना हुने भएको छ ।
युनाइटेड नेपाल फुटबल क्लब दम्माम (युनाइटेड एफसी) ले मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमादान ईद (इद–उल–फित्र) को अवसर पारेर प्रतियोगिता सञ्चालन गर्न लागेको हो । प्रतियोगिता आगामी मार्च १८ देखि साउदी अरबको पूर्वी क्षेत्र खोबरस्थित अजेजिया फुटबल मैदानमा सुरु हुनेछ ।
आयोजक क्लबका अध्यक्ष ओमबहादुर कुमालका अनुसार प्रतियोगिताको विजेता टोलीले ७ हजार साउदी रियाल (करिब २ लाख ६६ हजार रुपैयाँ) नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ३ हजार ५ सय साउदी रियाल (करिब १ लाख ३३ हजार रुपैयाँ) नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर तथा प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लगायत विभिन्न व्यक्तिगत विधामा पनि आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ ।
अध्यक्ष कुमालले प्रतियोगिताले साउदीमा रहेका नेपालीहरूलाई खेलमार्फत एकताबद्ध गर्ने, भाइचाराको सम्बन्ध प्रगाढ बनाउने र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । रमादान ईदजस्तो पवित्र पर्वको सार्वजनिक बिदा पारेर प्रतियोगिता आयोजना गर्नुको उद्देश्य समुदायमा खुशियाली र अपनत्वको भावना अभिवृद्धि गर्नु रहेको उनले बताए ।
प्रतियोगितामा साउदी अरबमा क्रियाशील नेपाली फुटबल टिम तथा क्लबहरूले सहभागिता जनाउन सक्नेछन् । टिम दर्ता शुल्क ७ सय साउदी रियाल तोकिएको छ ।
यसअघि दम्माममा आयोजित तेस्रो दम्माम च्याम्पियन कप–२०८२ को उपाधि पनि आयोजक युनाइटेड एफसीले नै जितेको थियो । बकर ईद (इद–उल–अजहा) को अवसरमा २०२५ जुन ६ देखि ८ (जेठ २३–२५) सम्म तीन दिन सञ्चालन भएको उक्त प्रतियोगिता नेपाली समुदायमा उत्साहपूर्ण रूपमा सम्पन्न भएको थियो ।