
काठमाडौं : शुक्रबार दिउँसो परेको चट्याङ लागेर गुल्मीमा तीनजना घाइते भए । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर २ दर्लिङमा चट्याङ लागेर ३२ वर्षकी गोमा खड्का, २८ वर्षकी निरू खड्का र २९ वर्षकी विष्णु खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारूका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।
त्यस्तै, चट्याङ लागेर उदयपुरका त्रियुगा नगरपालिका–१० बाँसबारीका ५५ वर्षीय शेरबहादुर कार्की घाइते भए । हावाहुरी र वर्षासँगै परेको चट्याङले कार्कीको दुवै हात डढेर गम्भीर घाइते भएका छन् । चट्याङकै कारण खोरमा रहेका केही बाख्रासमेत मरेको छ ।
शुक्रबारदेखि हावाहुरी र वर्षासँगै परेको चट्याङले देशभर १० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यू्नीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३० वटा चौपायमा समेत क्षति भएको छ ।
जलवायु परिवर्तनले चट्याङ निम्त्याइरहेको छ । जसका कारण वैशाखदेखि चैत ७ गतेसम्म तीन सय ९३ जनालाई चट्याङ लागेको प्राधिकरणका सूचना अधिकारी शान्ति महतले जानकारी दिएकी छन् । त्यसबाट ४७ जनाको मृत्यु भएको छ भने दुई सय ९२ जना घाइते भएका छन् । उनका अनुसार चार सय ८४ जना परिवार प्रभावित भएका छन् ।
नेपालमा चट्याङको असर बढीजसो चैत, वैशाख र जेठ महिनामा पर्ने गर्छ । यद्यपि, जलवायुको परिवर्तनको कुनै नियम नहुने र जतिबेला पनि आउन सक्ने मौसमविद्हरूको भनाइ छ ।
के हो चट्याङ ?
प्राधिकरणका अनुसार चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो । विपरीत दिशाका बादल आपसमा जुध्दा ‘करेन्ट’ उत्पन्न हुन्छ र त्यसबाट ठुलो आगोको मुस्लो निस्किन्छ । यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ । दुई बादल जुधेपछि ठुलो आवाज निस्किन्छ ।
एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टसम्मको करेन्ट उत्पन्न हुन्छ । यो तापक्रम र आगोको मुस्लो जमिनबाट १० किलोमिटर माथिसम्म हुन्छ । यो जमिनसम्म आउने हो भने ठुलो जनधनको क्षति हुन्छ । ‘क्युमोलो निम्बस’ नामको बादलबाट उत्पन्न हुने चट्याङ भने यदाकदा जमिनसम्म आउने गर्छ र यसैले भौतिक र मानवीय क्षति गर्छ ।
महतका अनुसार चट्याङबाट अधिकांशको खुला ठाउँमा मृत्यु हुने गरेको छ । गाईभैंसी चराइरहेका वा खेतबारीमा काम गरिरहेको अवस्थामा मृत्यु भएको पाइएको छ । विशेषगरी पानी जमेको ठाउँ, ठुलो रुख र अग्ला विद्युतीय टावरहरूमा चट्याङ पर्ने गरेको उनी बताउँछिन् ।
बिजुली चम्किएको समयमा घरबाहिर वा खुला ठाउँमा नहिँड्न्, ठुला रुखका फेदमा नबस्न र बिजुली चम्केका बेला विद्युतीय यन्त्रहरू प्रयोग नगर्न प्राधिकरणले सुझाएको छ ।