२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु

ADV
भरत प्रधान
२०८१ साउन १९ गते १५:२८
राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु

लिस्बन : पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा दिन राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आइपुगेको छ ।

विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन संकलन गर्न विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली बिहीबार राजधानी लिस्बन आइपुगेको हो ।

टोलीले लिस्बनस्थित गैरआवासीय नेपाली संघ पोर्चुगलको हलमा ‘घुम्ती सेवा शिविर’ सञ्चालन गरेर शुक्रबारदेखि सेवा दिन शुरु गरेको छ । सेवा शुरु भएसँगै शिविरमा सेवाग्राही नेपालीको घुइँचो लाग्न थालेको छ । शुक्रबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र पोर्चुगलमा जन्मेका नेपाली बालबालिकाका गरी एक सय ८३ जनाको ‘बायोमेट्रिक’ विवरण संकलन गरिएको टोली प्रमुख एवम् विभागका निर्देशक मोतिबहादुर श्रीसले जानकारी दिए । 

नयाँ राहदानी बनाउन छ हजारले अनलाइन आवेदन भरेकाले सोही सङ्ख्याको हाराहारीमा दरखास्त संकलन हुने अनुमान गरिएको निर्देशक श्रीसले बताए । समयमै काम सक्ने गरी सेवा दिने प्रयास गरिएको बताउँदै उनले  अपोइन्मेन्ट लिएको दिन र समयमा उपस्थित हुन सेवाग्राहीलाई आग्रहसमेत गरे । 

“अहिले राहदानी बनाउन अग्रिम आवेदन दिएकालाई प्राथमिकता दिएर काम गरिरहेका छौं । आवश्यकता र कामको चाप हेरेर कन्सुलरसम्बन्धी अन्य आकस्मिक र जरुरी सेवा दिने प्रयास गर्नेछौं”, श्रीसले भने ।

दश दिनसम्म सञ्चालन हुने शिविर लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावास, गैरआवासीय नेपाली संघ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली संघसंस्थाले समन्वय र सहजीकरण गरेका छन् । टोलीमा विभागका दुई र फ्रान्सस्थित नेपाली दूतावासका एक गरी तीनजना कर्मचारी सहभागी छन् । टोलीले अगस्त ११ तारिख (साउन २७ गते)सम्म राजधानी लिस्बनमा रहेर राहदानी सेवा दिनेछ । 

केही महिनाअघि पनि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आएर एक सातासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise