काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभा अवरुद्ध गरेको छ ।
मंगलबार बसेको बैठकमा एमालेका सांसदले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने र यसबारेमा सरकारलाई निर्देशन दिनुपर्ने भन्दै विरोध जनाएका हुन् ।
बैठकमा एमाले सांसदहरुले विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन दिए ।
अध्यक्ष तिमिल्सिनाले मूल्यवृद्धिका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अर्को बैठकमा सम्बन्धित मन्त्रीलाई जवाफ दिन निर्देशन दिए ।
अध्यक्ष तिमिल्सिनाको निर्देशनपछि पनि एमाले मुख्य सचेतक खिमलाल भट्टराईले सम्बन्धित मन्त्रीले स्पष्ट जवाफ नदिई सदनको कामकारबाही अगाडि बढ्न नसक्ने र आफूको विरोध रहिरहने बताए ।
एमालेले मूल्यवृद्धिबाट प्रभावित जनतलाई राहत प्याकेजसहित सहुलियत दिन स्पष्ट योजना ल्याउन माग गरे ।
एमालेको अवरोधपछि अध्यक्ष तिमिल्सिनाले मंगलबार कार्यसूचीमा रहेको विनियोजन विधेयकका विभिन्न शीर्षकको छलफल अर्को बैठकमा हुने गरी बैठक स्थगित गरे । राष्ट्रिय सभाको अर्को बैठक बुधबार बोलाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies