
काठमाडौं : सुर्खेत प्रहरीले १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान टुंग्याएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले झन्डै तीन हप्ता लगाएर घटनाको अनुसन्धान टुंग्याएको हो । विकको मृत्यु प्रकरणमा प्रहरीले सामूहिक बलात्कार नभएको निष्कर्ष निकालेको छ ।
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा इनिशाको मृत्यु सामूहिक बलात्कारबाट नभई मुख्य अभियुक्तसँगको शारीरिक सम्पर्कका क्रममा लागेको गहिरो चोट र त्यसबाट भएको रक्तस्रावका कारण भएको उल्लेख छ ।
प्रतिवेदनअनुसार फागुन २३ गते बिहान करिब साढे पाँच बजे इनिशा घरबाट निस्किइन् । विद्यालय बिदाको दिन भए पनि ट्युसन पढ्न जाने बहाना बनाएर उनी घरबाट निस्केकी थिइन् । आमासँग उनले दुई घण्टामा फर्किने भनेकी थिइन् ।
मुख्य अभियुक्त अनमोल गौली पनि खजुरास्थित आफन्तको घरबाट निस्कन्छन् । त्यहाँबाट उनी अटोरिक्सा चढेर रेडियो नेपाल प्रादेशिक कार्यालयअगाडि ओर्लिएर उत्तरतर्फ लाग्छन् । अघिल्लो रातमै विक र गौलीले बनाएको योजनाअनुसार वीरेन्द्रनगर–१ गैरीगाउँ पुग्छन् । दुवैजना देउतीथान निस्कने सडक भएर प्रदेश आयुर्वेद अस्पतालअगाडिको बाटो हुँदै उत्तरको जंगलतर्फ जान्छन् । बिहान ६ः२६ बजेको सिसिटिभी फुटेजमा दुवैजना अस्पतालअगाडिको बाटो हुँदै जंगलतर्फ हिँडिरहेको देखिन्छ । केही मिनेटपछि उनीहरू गाउँ पार गर्दै जनजागरण सामुदायिक वनभित्र प्रवेश गर्छन् । बिहान ६ः३० बजे स्थानीय एक महिलाले जंगलतर्फ जाँदै गरेको देखेकी थिइन् ।
जंगलमा उनीहरूले करिब दुई घण्टा समय बिताउँछन् । त्यसबीचमा उनीहरूबीच शारीरिक सम्पर्कसमेत भइसकेको हुन्छ । शारीरिक सम्पर्कपछि अत्यधिक रक्तस्राव सुरु हुन्छ । केही बेरमै इनिशा बेहोस हुन्छिन् । गौलीले विकलाई बचाउनका लागि कृत्रिम सास दिन्छन्, उनलाई झकझक्याउँछन् । जुत्ता र मोजा खोलेर पैतालामा मालिस गर्छन् । तर विकले कुनै प्रतिक्रिया दिँन्नन् ।
त्यसपछि गौलीले अत्तालिएर बिहान ८ः२५ बजे साथी दीपेश ढकाललाई फोन गर्छन् । ढकालले सवारीसाधन नभएका कारण ढिलो हुने जानकारी गराउँछन् । गौलीले अन्य दुईजना साथीलाई पनि पटक–पटक फोन गर्छन् । तर, तीनैजना समयमै पुगेनन् ।
बिहान ९ः०७ बजे दीपेश बल्ल घटनास्थलनजिक पुगे । ९ः११ बजे अन्य दुई साथी पनि त्यहाँ पुगे । त्यतिबेला, उनीहरूले इनिशालाई बेहोस अवस्थामा र अनमोललाई अर्धअचेत अवस्थामा देख्छन् ।
साथीहरूमध्ये एकजना गाउँतर्फ झरेर स्थानीयलाई अस्पताल लैजान सहयोग माग्छन् । त्यसपछि स्थानीयहरू घटनास्थल पुगेर प्रहरीलाई खबर गर्छन् । प्रहरी घटनास्थल पुग्दा अनमोल घटनास्थलमै थिए भने इनिशा बेहोस अवस्थामै थिइन् ।
प्रहरीले अर्धअचेत देखिएका गौलीलाई तत्कालै प्रदेश अस्पताल कालागाउँ पुर्यायो । तर इनिशाको सास नचलेको भेटिएपछि बाँकी अनुसन्धान थाल्यो । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापासमेत घटनास्थल पुगेका थिए ।
यता, ८ बजे फर्किन्छु भनेर गएकी छोरी ९ बजेसम्म पनि नफर्केपछि इनिशाकी आमाको मन अत्तालिन्छ । केहीबेरमा आमालाई छोरी बेहोस भएर लडेको खबर पुग्छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीका अनुसार मुख्य अभियुक्त गौलीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दायर गरी जन्मकैदको माग गरिएको छ ।
मुख्य अभियुक्तबाहेक तीनजनाले घटनास्थलमा उपस्थित भएर पनि पीडितलाई बचाउने प्रयास नगरेका कारण उनीहरूविरुद्ध पनि कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको उनले जानकारी दिए ।