२०८२ चैत १६ गते सोमवार / Mar 30 , 2026 , Monday
२०८२ चैत १६ गते सोमवार
Ads

रास्वपाको सरकार र पुँजी बजार

himalayanlife
नरेन्द्रमान श्रेष्ठ
२०८२ चैत १६ गते ०६:००
Shares
रास्वपाको सरकार र पुँजी बजार

निर्वाचनपछि खुलेको सेयर बजारको पहिलो दिन नेप्सेमा सकारात्मक सर्किट लागेको थियो । नेप्से करिब ६ प्रतिशतले बढेर १६० अंकभन्दा बढी उकालो लागेको थियो । तर त्यसपछिका दिनमा भने ठुलो उत्साह देखिएन । निरन्तर बजार उकालोमा देखिए पनि शपथआसपाससँगै भने बजारमा उत्साह रहेन । प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाहको औपचारिक आगमनपछिको पहिलो दिन बजारमा असाध्यै ‘पेनिक’ अवस्था आयो । बजार ७१.०५ अंकले घट्यो । यसले प्रश्न उठाएको छ– के रास्वपाको सरकारलाई सेयर बजारले पत्याउँदैन ? किन लगानीकर्ता विश्वस्त भएनन् ?

कतिपयले पहिलो दिनको तीव्र वृद्धिपछिको गिरावटलाई ‘करेक्सन’ पनि भनेका छन् । यद्यपि, सम्भावित यति ठुलो अंकको गिरावटलाई ‘करेक्सन’ मात्रै भन्ने वा अन्य कोणबाट बुझ्ने ? आगामी दिन बजार कसरी जाला, प्रश्न उब्जिएको छ । 

निर्वाचनअघि नै बजारमा ठुलो उत्सुकता थियो– अबको सरकार कस्तो बन्छ ? पुँजी बजारमैत्री नीति आउँछ कि आउँदैन ? लगानीकर्ताहरूको मुख्य अपेक्षा स्थिर र दीर्घकालीन सरकारप्रति नै देखिन्छ । किनभने, राजनीतिक अस्थिरता र सत्ताको खिचातानीले विगतमा पनि सेयर बजारलाई प्रभावित गरेको छ । तर, जब सरकार बन्यो र जसरी सुरुआत दिनदेखि नै धरपकडको अवस्था बन्यो, लगानीकर्ता अन्योलमा परे । विशेषगरी सडकमा पोखिएको पुरानाको आक्रोशले लगानीकर्तालाई अन्योलमा पुर्‍याएको छ । 

नेपालको सेयर बजारमा करिब ७५ लाख लगानीकर्ता आबद्ध छन् । सरकारले यस क्षेत्रबाट अर्बौं रुपैयाँ राजस्व संकलन गर्दै आएको छ । यस्तो अवस्थामा सरकारले लगानीकर्ताको विश्वास बढाउने वातावरण बनाउन आवश्यक छ । जसका निम्ति आमलगानीकर्ताको मनोविज्ञान सही बनाउनेगरी काम गर्नुपर्छ । आवेगमा निर्णय लिँदा त्यसले समग्रको मनोविज्ञानलाई हल्लाउने अवस्था रहन्छ । 

सँगै विगतका उदाहरण हेर्दा, राजनीतिक दलहरूको भागबन्डा, अस्थिरता र नेताहरूका गैरजिम्मेवार अभिव्यक्तिले बजारमा नकारात्मक असर पारेका उदाहरणहरू छन् । केहीका उदाहरणका लागि, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई ‘अनुत्पादक क्षेत्र’ भनेपछि बजारमा ठुलो गिरावट आएको थियो । त्यसैगरी, अन्य नेताहरूका अभिव्यक्तिले पनि बजारमा नकारात्मक मनोविज्ञान सिर्जना गरेको देखिन्छ । धितोपत्र बोर्ड, राष्ट्र बैंक, नेप्सेलगायत निकायमा गरिएका नियुक्ति र निर्णयले पनि असर गर्ने गरेका पाइन्छ ।

वास्तवमा, सेयर बजार अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो । कतिपयले यसलाई ‘अर्थतन्त्रको ऐना’ पनि भन्छन् । यसले देशभर छरिएका पुँजीलाई एकत्रित गरी उद्योग, बैंक, बिमा, जलविद्युत् र अन्य क्षेत्रमा लगानी प्रवाह गर्न सहयोग पुर्‍याउँछ । तर बजार केवल नीतिले मात्र होइन, हल्ला र सामाजिक सञ्जालबाट फैलिने भ्रमले पनि प्रभावित हुने गरेको छ । गलत सूचना, अफवाह र गैरजिम्मेवार अभिव्यक्तिले लगानीकर्ताको मनोबल कमजोर बनाउँछ । यसका साथै, बजारभित्र केही विकृति र विसंगतिहरू पनि रहेका छन् । ती समस्या समाधान गर्न सरकार, नियामक निकाय र लगानीकर्ता सबैले पहल गर्न आवश्यक छ ।

नेप्से घट्नु–बढ्नु स्वाभाविक प्रक्रिया हो । बजार कहिले बढ्छ, कहिले घट्छ— यही यसको स्वभाव हो । तर लगानी गर्दा भिडको पछि लागेर होइन, कम्पनीको आधारभूत अवस्थाको अध्ययन गरेर निर्णय लिन आवश्यक हुन्छ । कम्पनीको वित्तीय विवरण, सूचकांक, नाफा–नोक्सान र भविष्यको सम्भावना हेरेर मात्र लगानी गर्न उपयुक्त हुन्छ । बढ्दो ट्रेन्ड हेरेर मात्र लगानी गर्दा जोखिम बढ्न सक्छ । सेयर बजारमा लगानी गर्ने उद्देश्य नाफा कमाउनु हो, घाटा व्यहोर्नु होइन । तर सबैले नाफा गर्छन् भन्ने पनि सुनिश्चित छैन । त्यसैले सचेत र सूचित लगानी आवश्यक हुन्छ । 

आज नेपालको करिब २० प्रतिशत जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सेयर बजारसँग जोडिएको छ । यस्तो ठुलो बजारलाई पुँजी बजारमैत्री बनाउन सरकारको महत्वपूर्ण भूमिका हुन्छ । सरकार, नेता, सांसद, नियामक निकाय र सरोकारवालाहरूले नकारात्मक वा भ्रमपूर्ण अभिव्यक्ति दिनुको सट्टा सकारात्मक नीति निर्माणमा ध्यान दिनुपर्छ । अबको सरकारको मुख्य जिम्मेवारी पनि यही हो– विश्वास जगाउने, स्थिर नीति ल्याउने र पुँजी बजारलाई उचाइमा पुर्‍याउने ।

सम्बन्धित खबर