काठमाडौं : आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । मंगलबारदेखि बिहिबार सम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्ने सम्भावना रहेकोले मनसुन थप सक्रिय हुन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आगामी तीन दिन देशको पहाडी भूभागमा पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनुका साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने छ । त्यसैले यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ ।
मंगलबार रातिदेखि बुधबार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । सदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा पनि भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै कर्णाली प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा/झरी भई एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
बुधबार देशभर सामान्यदेखि पूर्ण बदली भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।
बिहीबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा÷झरी र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies