काठमाडौं : यो वर्ष अर्थात २०७९ साल, मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो, भारी वर्षा, डुबानलगायतका कारण २० लाख जना प्रभावित हुने जनाएको हो ।
‘प्रारम्भिक रूपमा यसवर्ष मनसुनजन्य विपद्बाट १७ लाख जनसंख्या प्रभावित हुने अनुमान गरिएको थियो’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने ‘मनसुन नजिकिँदै जाँदा जिल्लागत र प्रदेशगत रूपमा गरिएको अध्ययन अनुसार लगभग २० लाख जनसंख्या र चार लाख २१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।’
२०२० सम्म गृह मन्त्रालयको डिआरआर पोर्टल, विपद् पोर्टल, जलोत्पन्न प्रकोप विभाग र विश्व खाद्य कार्यक्रमबाट उपलब्ध तथ्यांकको आधारमा संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालयको सहयोगमा २०७९ सालको मनसुनमा प्रभावित हुनसक्ने जनसंख्याको आँकलन गरिएको उनले बताए ।
विपद्का घटनाबाट सबैभन्दा बढी प्रदेश नं. १ मा पाँच लाख ७० हजार दुई सय ८४ र सबैभन्दा कम कर्णाली प्रदेशमा लगभग ५४ हजार नौ सय ५५ जना प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।
यसवर्ष मधेश प्रदेशमा चार लाख ६५ हजार चार सय ९५, बागमती प्रदेशमा एक लाख ४६ हजार आठ सय २८, गण्डकी प्रदेशमा एक लाख १९ हजार एक सय ९८, लुम्बिनी प्रदेशमा तीन लाख ७९ हजार नौ सय दुई र सुदूरपश्चिम प्रदेशमा दुई लाख ६३ हजार तीन सय १३ जना प्रभावित हुने अनुमान प्राधिकरणको छ ।
२०७९ सालको मनसुन जेठ १८ गतेबाट सुरू भई असोज १४ गतेसम्म रहने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । यस चार महिनाको मनसुनको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने हुने सम्भावना रहेको छ ।
प्रदेश नं. १ का तराईका भूभागहरू, बागमती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी यो वर्षको मनसुनको समयमा देशका अधिकांश भूभागमा अधिकतम तापक्रम औसत र औसतभन्दा कम हुने र अधिकांश भागमा न्यूनतम तापक्रम औसत तथा औसतभन्दा बढी हुने अनुमान गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies