
काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र विकसित पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न तहमा योजनाबद्ध रूपमा दबाब सिर्जना भइरहेको टिप्पणी गरेका छन् ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट समूहको बैठकमा बोल्दै उनले पार्टीलाई कमजोर बनाउने किसिमका प्रयासहरू भइरहेको दाबी गरेका हुन् ।
उनले संस्थापन पक्षसँग संवाद र सहमतिको आवश्यकता स्वीकार्य रहेको उल्लेख गर्दै त्यसका लागि आत्मसम्मानमा आघात पुग्ने गरी अघि नबढ्ने स्पष्ट पारे। उनका अभिव्यक्तिलाई गगन थापा प्रति लक्षित रूपमा बुझिएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार कोइरालाले वर्तमान अभ्यासलाई ‘नियन्त्रित लोकतन्त्र’तर्फ उन्मुख भएको भन्दै आलोचना गरेका थिए । साथै, पार्टीलाई कमजोर बनाउने उद्देश्यका साथ विभिन्न प्रकारका रणनीतिक प्रयास भइरहेको उनको भनाइ उद्धृत गरिएको छ ।