
काठमाडौं : एमाले संसदीय दल नेतामा जर्बजस्त दाबी गरेका युवा नेता सुहाङ नेम्वाङ प्रतिस्पर्धाको चरणसम्म आइपुग्दा पछि हट्नुप¥यो । पार्टी संस्थापनको आग्रह अस्वीकार गरेका उनले अन्तिममा दलको नेता उठ्न प्रस्तावक र समर्थकसमेत पाउन सकेनन् । फलस्वरूप उपाध्यक्ष रामबहादुर थापा बादल संसदीय दलको नेतामा सर्वसम्मत भए ।
३६ वर्षीय सुहाङ झन्डै दोब्बर उमेरका बादलविरुद्ध प्रतिस्पर्धा गर्न तयार भएका थिए । एमालेभित्रका मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत उनलाई दलको नेता देख्न चाहेका थिए । तर, पार्टी नेतृत्व तयार भएन । ‘लोकतान्त्रिक अभ्यास गरिएको हो । यसलाई नकारात्मक रूपमा लिनुहुँदैन,’ बादल दलको नेता चुनिएपछि नेम्वाङले भने, ‘हतोत्साहित हुनुपर्ने कुनै कारण छैन । मैले एक पाइला चालेको हो । यस्ता पाइला चालिरहनुपर्छ ।’
नेम्वाङले उम्मेदवारीको फारम लिइसकेका थिए । पटकपटक कोसिस गरे पनि महासचिव शंकर पोखरेलले ‘कन्भिन्स’ गर्न सकिरहेका थिएनन् । प्रस्तावकमा डा. अर्जुन कार्की र समर्थकमा राजेन्द्र राई बस्ने पक्का भइसकेको थियो । तर, अन्तिम समयमा प्रस्तावक र समर्थक नै हच्किएपछि नेम्वाङले उम्मेदवारी दिन पाएनन् ।
सुहाङको दाबीले एमालेवृत्तमा तरंग ल्याएको छ । उपमहासचिव योगेश भट्टराईले वर्तमान अवस्थामा एमालेको व्यापक पुनर्गठनमार्फत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नुपर्नेमा हतारहतार निर्णय गरिएको टिप्पणी गरेका छन् । ‘यस्तो बेलामा संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो, यसबाट सिंगो पार्टीपंक्तिलाई थप चिन्तित बनाएको छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सांसदहरूलाई दबाबमा राखेर जे गरियो, यो राम्रो भएन ।’
सुहाङको दाबीले एमालेको आन्तरिक राजनीतिमा गहिरो प्रभाव पार्ने ठान्छन्, वाम विश्लेषक झलक सुुवेदी । सुहाङले उम्मेदवारी दिनुु र पार्टीका थुुप्रै कार्यकर्ताले उनलाई संसदीय दलको नेतृत्व देऊ भन्ने विचार प्रकट गरिरहेको अवस्था विचारणीय भएको टिप्पणी गर्दै उनी भन्छन्, ‘एकातिर एमालेका युवाहरूले हस्तेक्षप बढाउन थालेको देखिन्छ भने अर्कोतर्फ एमाले नेतृत्वले मुखमा आएका संकट र परिवर्तन बुुझ्न चाहेन ।’
पुराना दलको पुरानै पारा
प्रतिनिधिसभामा झन्डै दुईतिहाइ मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले ३५ वर्षे युवा सांसद बालेन्द्र शाहलाई संसदीय दलको नेता चुनेर प्रधानमन्त्री बनाइसक्दा अन्य पार्टीमा त्यसको छायासम्म देखिएन । संसद्को दोस्रो ठुलो पार्टी नेपाली कांग्रेस आन्तरिक किचलोमा छ । बुधबारसम्म उसले संसदीय दलको नेता छान्न सकेको छैन । संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेसमा संसदीय दलको नेता छान्नेबारे बहससमेत नभएको नेताहरू बताउँछन् । कांग्रेस महामन्त्री प्रदीप पौडेलले मध्यान्हसँग कुरा गर्दै सभामुखको निर्वाचनसँगै संसदीय दलको नेता चयनको प्रक्रिया सुरु गरिने बताए ।
सभामुखको चुनाव २२ चैतमा राखिएको छ । कांग्रेस संसदीय दलको नेतामा युवालाई अघि सार्ने तयारीमा भने देखिँदैन । संस्थापन पक्षले अर्जुननरसिंह केसी र शेखर कोइराला तथा पूर्णबहादुर खड्काले भीष्मराज आङ्देम्बेलाई अघि सार्ने तयारी गरिरहेका छन् । कांग्रेस विवादमा अल्झेका कारण संसदीय दलतर्फ ध्यान दिन नपाएको महामन्त्री पौडेल स्वीकार गर्छन् ।