२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

संसद्को ‘लेफ्ट बेन्च’मा ‘जनयुद्ध’का दुई कमान्डर

Nada
रुपेश आचार्य
२०८२ चैत १९ गते ०६:३५
Shares
संसद्को ‘लेफ्ट बेन्च’मा ‘जनयुद्ध’का दुई कमान्डर

काठमाडौं : संसदीय राजनीति असफल भएको भन्दै सशस्त्र विद्रोहको नेतृत्व गरेका नेताहरू हुन्, पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादल । ‘जनयुद्ध’को शान्तिपूर्ण अवतरणपछि संसदीय राजनीतिमा फर्किएका उनीहरू भोलिदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा लेफ्ट मोर्चाको नेतृत्व सम्हाल्दै छन् । 

ncell

पुराना दलहरूमा नेतृत्वको पुस्तान्तरणको चर्को आवाज उठे पनि उनीहरूले नेतृत्व छाड्ने उदारता देखाएनन् । प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी र बादल एमालेको संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भएपछि संसद्को लेफ्ट बेन्चमा पूर्वमाओवादी धारका नेताहरू देखिने भएका हुन् । 

२०६२/६३को परिवर्तनपछि निरन्तर सत्तामा रहेका वामपन्थी दलहरूले २१ फागुनको निर्वाचनमा नमिठो पराजय बेहोरे । एमाले २५ सिट र नेकपा १७ सिटमा खुम्चिएका छन् । 

प्रचण्ड र बादल ‘जनयुद्ध’कालीन साथी हुन् । माओवादी जनयुद्धको तयारीदेखि उत्कर्षसम्म उनीहरूसँगै रहे । प्रचण्ड सुप्रिमो र बादल सैन्य कमान्डर रहे । उनीहरूको सम्बन्धमा भने उतारचढाव आइरह्यो । भूमिगतकालमै प्रचण्डले बादललाई सांस्कृतिक विचलनको कारबाही गरे । २०६५मा ठुलो जनमतसहित संविधानसभामा पुगेपछि प्रचण्ड प्रधानमन्त्री हुँदा बादल रक्षामन्त्री थिए । त्यहीबेला तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई बर्खास्त गर्ने अपरिपक्व निर्णयले प्रचण्ड राजीनामा गर्न बाध्य भए । सो घटनालाई प्रचण्डले आफ्नो गल्ती स्विकारिसकेका छन् । 

त्यसको एक दशकपछि २०७४मा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा बादल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिए । ओली प्रधानमन्त्री हुँदा उनी गृहमन्त्री थिए । तत्कालीन नेकपाको आन्तरिक कलहमा नेतृत्वको रक्षा गर्नुपर्छ भन्दै ओलीको बचाउमा उत्रिएका बादल अन्ततः एमालेको नेतृत्वमा पुगेका हुन् । जेनजी आन्दोलन दमनको अभियोगमा ओली अहिले हिरासतमा छन् । उनी थुनामा रहँदासम्म बादललाई कार्यवाहक अध्यक्ष दिइएको छ । 

बादललाई संसदीय दलको नेता र पार्टीको कार्यवाहक सुम्पेर एमालेले दुई सन्देश दिएको छ । पहिलो, पूर्वमाओवादी धारबाट एमालेमा समाहित नेताकार्यकर्तामाथि कुनै विभेद छैन । त्यसो त एमालेमा पूर्वमाओवादी पृष्ठभूमिका नेताहरू अन्तर्घुलित भइसकेका छन् । एमालेको १०औं र ११औं महाधिवेशनमा त्यो धारका सबैजसो नेता निर्वाचित भएका थिए । पछिल्लोपटक महाधिवेशनमा बादल, लेखराज भट्टजस्ता नेताहरू पदाधिकारीमा लोकप्रिय मतसहित विजयी हुँदा ओलीकै कोर टिमका नेता मानिने विष्णु रिमाल पराजित भएका थिए । ओलीले दिएको दोस्रो सन्देश, नेतृत्वको रक्षा गर्ने नेता पुरस्कृत हुन्छ भन्ने देखिन्छ । जे होस्, प्रचण्ड र बादलले अब प्रतिनिधिसभाको एउटै बेन्चमा दायाँ–बायाँ बसेर भिन्न वाम धारको नेतृत्व गर्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर