म्यानपावर कम्पनीलाई एक करोड, विभिन्न आर्थिक सुविधा र सन्ततिलाई छात्रवृत्ति तथा बीमा सुविधा
काठमाडौं : अकस्मात वैदेशिक रोजगार व्यवसायीको मृत्यु भएमा त्यस्तो कम्पनीले एक करोड रूपैयाँ सहयोग पाउने व्यवस्था हुन लागेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग मिलेर वैदेशिक रोजगार व्यवसाय कोष सञ्चालन सम्बन्धी मापदण्ड २०७९ तर्जुमा गरेकोे छ । मन्त्रालयले मापदण्ड स्वीकृत गरेपछि कोष कार्यान्वयनमा आउने छ ।
वैदेशिक रोजगार व्यवसायीले राखेको धरौटी रकमको ब्याज लगायतको आर्थिक स्रोतबाट उक्त कोष सञ्चालन हुने छ । वैदेशिक रोजगार ऐनमा २०७५ सालमा भएको संशोधनमा उक्त कोष स्थापना र सञ्चालनको प्रावधान राखिएको भएपनि करिब ४ वर्षपछि वैदेशिक रोजगार व्यवसायीका लागि बहुप्रतिक्षित कोष कार्यान्वयनमा आउन लागेको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक संयोजक रहने कोष सञ्चालन समितिमा संघका अध्यक्षसहित संघले मनोनयन गर्ने एक व्यवसायीसहित दुई जना व्यवसायी र तीन जना सरकारी कर्मचारी रहने छन् । यस्तै महानिर्देशकसहित मन्त्रालयका कानून उपसचिव र अर्का एक उपसचिव सदस्य रहने व्यवस्था गरिएको छ भने अन्य कर्मचारी विभागले खटाउने छ । कोषको कार्यालय विभागमा राख्ने सहमति भएको छ ।
संघका संयोजक विमलप्रसाद ढकालले कोषले व्यवसायीको क्षमता अभिवृद्धि अन्तर्गत कार्यालय व्यवस्थापन, लेखा प्रणालीको सुदृढीकरण, कम्पनी सञ्चालन, स्वच्छ भर्ना प्रक्रियाका लागि तालिम, श्रम गन्तव्य मुलुकका रोजगारदातासँग तालिम तथा गोष्ठी, आकर्षक नयाँ श्रम गन्तव्यको खोजी तथा जब फेयर, उत्कृष्ट व्यवसायीको सम्मान, वैदेशिक रोजगार व्यवसायका अध्ययन अनुसन्धान लगायतका काम गर्ने मापदण्ड बनाएको जानकारी दिए ।
वैदशिक रोजगार नियमावलीमा विभागको मुद्धति खातामा जम्मा भएको रकमबाट प्राप्त ब्याजको ७५ प्रतिशत रकम कोषमा जम्मा गरी उक्त रकमबाट प्राप्त ब्याजको २५ प्रतिशत रकम वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसाय कोषको नाममा खाता खोली त्यसबाट वैदेशिक रोजगार व्यवसायीहरुको व्यावसायिक क्षमता अभिवृद्धि, कल्याणकारी कार्य र वैदेशिक रोजगार प्रवद्र्धनसम्बन्धी अध्ययन अनुसन्धानको कार्य गरिने उल्लेख छ ।
कोषको रकमबाट म्यानपावर कम्पनीको सेयरधनी सञ्चालकको स्वास्थ्य र दुर्घटना बीमा, प्राकृतिक विपत्ति, आगजनी, हुलदंगा, तोडफोड भई म्यानपावर कम्पनी सञ्चालकको कार्यालय, सवारी साधन क्षति भएमा वैदेशिक रोजगार ऐन २०६४ को दफा ११ अनुसार आर्थिक सहायता गर्ने, म्यानपावर कम्पनीलाई विदेशमा मुद्दा लड्नु परे सहयोग दिने, युद्ध, महामारी संक्रामक रोगका कारणले कुनै कम्पनीको कार्यालय बन्द भई कामदार विदेश पठाउन नसकेको अवस्थामा आर्थिक सहयोग गर्ने र म्यानपावर कम्पनीका सञ्चालका सन्तानलाई छात्रवृत्ति प्रदान गरिने छ ।
८ सय ६० व्यवसायीले नगद धरौटी वापत करिब साढे ४ अर्ब रुपैयाँ जम्मा गरेका छन् । व्यवसायीहरुले नगद धरौटी राखेको करिब ४ वर्षको अवधिमा ब्याजबाट करोडौं रूपैयाँ आम्दानी भएपनि कोष सञ्चालन गर्ने मापदण्ड नभएको कारणले कार्यान्वयन भएको थिएन ।
संघले यसअघि उक्त कोषबाट प्राप्त भएको ब्याज मध्येबाट नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोष र कामदार उद्धार कोषमा दुई÷दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies