– उपेन्द्र झा
अहिले राजनीतिक वृतमा राजनीतिक वैकल्पिक शक्ति निर्माणको होडबाजी चलिरहेको छ । कतिपय स्थानीय चुनावलाई लक्षित गरेर नयाँ पार्टी बनाए र केही सीट जितेर अस्तित्वमा पनि आएका छन् । अहिले न्यूज २४ टि.भी संचालक रवि लामिछानेले मंगलबार हजारौं आफ्ना समर्थकबीच राष्ट्रिय सभागृहमा बढो तामझामका साथ आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन् । यसरी शीर्ष ५ पार्टीसँगै १ सय २५ भन्दा बढी पार्टी देशमा सुशासन ल्याउन र देशलाई समृद्ध बनाउन राजनीतिक प्रतिस्पधार्मा होमिएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र विभाजित माओवादी पार्टीको विकल्पमा राष्ट्रिय पार्टी निमार्णका लागि बडो जोश, जाँगर र उत्साहका साथ बाबुराम भट्टराईले खडा गरेको नयाँशक्ति पार्टी ०७४ को चुनावमा आपूmबाहेक एउटा पनि सीट जित्न पाएन । पार्टीले राजनीतिक प्रतिष्ठा स्थापित गर्न नसकेर भट्टराईका अनेक सहकर्मीहरू मातृ पार्टीमा फर्किए । बाबुराम अनाथ जस्तै भएर अन्ततः उपेन्द्र यादबको पार्टीसँग एकीकृत गर्न पुगे । समान स्वार्थ र महत्वाकांक्षाको टकरावमा उकुसमुकुसको स्थितिमा लामो समयदेखि बैचेन भट्टराई मधेशी सांसद र केन्द्रीय सदस्यको भए बहुमत नभए ४० प्रतिशतको संख्या लिएर आफ्नो नेतृत्वमा अलग पार्टी घोषणा गर्न ठीक पारेका छन् । यो सुनौलो अवसर मधेशी सांसदहरूले नै जुराई दिएका छन् ।
स्थानीय चुनावमा शहरी क्षेत्रका सचेत मतदाताले बाहुबली पार्टीहरूको बलियो उपस्थितिका बाबजूद स्वतन्त्र व्यक्तिलाई मत दिएर आफ्ना वितृष्णा पोखेका छन् । देशभरि ठूलो संगठन र सघन नेटवर्क भएको पार्टीहरूले बाटो बिराए, देशलाई सञ्चालन गर्न सकेन । स्वार्थ प्रतिस्पर्धामा लागेर देशमा आर्थिक, सामाजिक, राजनीतिक, कूटनीतिक अराजकता ल्याएर देशलाई संकटमा धकेल्यो, मतपत्रबाट जनताले ठूला पार्टीलाई यही सन्देश दिन खोजेको हो । यसलाई राष्ट्रिय मुद्दा बनाएर नवअवसरवादीहरू सत्तामा छिर्ने प्रयासमा नयाँ वैकल्पिक शक्ति निर्माणका कुरा गर्दै छन् । जनताको वितृष्णालाई आधार बनाएर पार्टी निर्माण गरेकाहरू बाबुराम भट्टराई, रविन्द्र मिश्र, उज्ज्वल थापाहरूको के हविगत भयो ? एक सीट पनि जित्न नसकेर पार्टी विरामावस्थामा पुग्यो । चुनावको बेला अवसरवादीहरूको जमात लिएर काठमाडौंमा घोषणा हुने पार्टीहरूले राजनीतिक वृतको खेलमा सहभागि हुन ४÷५ वटा सीट पनि चुनावमा ल्याउन सकेन भने त्यो पार्टीको कुनै भविष्य हुँदैन । घोषित पार्टीहरूको राजनीतिक धरातलमा संगठन हुँदैन, अवसर नपाएर अवसरवादीहरू छोडेर जान्छन् । त्यसपछि पार्टीमा गुट, उपगुट बन्न थाल्छ र पार्टीको भविष्यमाथि प्रश्नचिन्ह खडा हुन्छ । स्थानीय चुनावमा शहरी मतदाताहरूले ४ वटा स्वतन्त्र जिताएर शीर्ष दलहरूलाई सच्चिन संकेत गरेका हुन् । तर, शीर्ष दलहरू आउट अफ ट्र्याकमा छन् । आफ्नो जिम्मेवारी बोध गराउन मतदाताहरूले त्यसरी स्वतन्त्रलाई ल्याएर आक्रोश पोखेका हुन् ।
राज्यसत्ता संचालकको रूपमा जिम्मेवारी बहन गर्ने जनादेश पाएका व्यक्तिहरू देश र जनताप्रति कुनै माया नहुनुदुर्भाग्यपूर्ण कुरा हो । देशलाई संकटपूर्ण अवस्थामा पुर्याउने यही तीन दल हो, तर पनि यिनमा आत्मआलोचना छैन । सबैले एक अर्कामाथि दोषारोपण गर्ने प्रयासमा छन् । आफू ठीक र अरू सबै बेठीक सोच राख्ने नेताहरू आफ्नो कार्यकर्ताको नजरमा देउता होला, देशको नजरमा कुपात्र नै ठहरिन्छ । आमूल परिवर्तन गर्ने दाबाका साथ आएका माओवादी राज्यसत्तामा आमूल परिवर्तन त गर्न सकेन, आफै रूपान्तरित भएर यथास्थितिमा पुगे । यथास्थितिके व्यथा बोक्न नसकेर माओवादी पार्टीछिन्नभिन्न भयो । माओवादीको यस्तो हविगत किन भयो यसको हजारौं कारण होला तर, मुख्य कारण भने राज्यसत्ता नै हो । जतिसुकै क्रान्तिकारी विचार राखेपनि, बलिदानी संघर्ष उठाएर आएपनि सत्ता समक्ष आत्मसमर्पण गर्ने प्रथा नै चलेको छ । मधेशी, जनजाती, थारू, दलित, महिला, मुश्लिम आदि अधिकारका लागि जोसुकै संघर्ष वार्तामा टुँगिएको छ र केही मागहरू (राज्यसत्तालाई बढि क्षति पुर्याउन नसक्ने) पूरा गरि बाँकी सबै माँगहरू रद्दीको टोकरीमा फालिएका छन् ।
अधिकार माग्ने दलहरू आफ्नो माग छाडरे राज्यसत्ताको सुख सुिवधा भोग्न रमाए । अधिकारवादी पार्टीहरूको वैचारिक विचलनका कारण उसकोे लोकप्रियता बढ्नुको सट्टा क्षयीकरणमा पुग्यो । आन्दोलनबाट आर्जित राजनीतिक प्रतिष्ठा कम हुँदै पार्टीको अस्तित्वमाथि प्रश्न खडा गरिदिएको छ । क्षेत्रीय पार्टीको रूपमा उदाएका जसपा जातीवादी पार्टीमा रूपान्तरित भएर राजनीतिक प्रतिष्ठा बढाएको कि घटाएको विचारणीय कुरा त छँदछ, जातीवादी साख पनि बचाएर राख्न सकेन । सुनिन्छ यादव सांसदहरू विरक्तिएर बाबुराम भट्टराईलाई पार्टी फोडन् सहयोग गर्दैछन् । अधिकारवादी पार्टीहरूको यसरी क्षयीकारण राम्रो कुरा त होइन, तर यसका सञ्चालकहरूलाई भएको नारद मोह पनि क्षयीकरणका दोस्रो कारण हुन् । जसपामा पार्टी विभाजनको पीडा, लोसपामा चार नेताबीचको अन्तद्र्वन्द्वले राजनीतिक साख घटेर पार्टीको प्रतिष्ठालाई पनि घटाएको छ । आज फेरि जसपा लोसपासँग सहकार्य गर्न एकीकरण खोज्दैछ ।
यी त भए साना पार्टीको दुर्दशा । ठूला पार्टीहरूको पनि समीक्षा गरौँ । नेपाली कांग्रेस पनि कुनै बेला बहुमत पाएर फुटेको थियो । बहुमत ल्याएर देशको लागि निर्वाध काम गर्न खोज्दा नेपाली कांग्रेस पार्टी फुट्नुलाई संयोग भन्नेहरूको भ्रमलाई बहुमत ल्याएको एमाले फुटेर तोडी दिएका छन् । जतिसुकै सीट आएपनि आफ्नो मौलिक अधिकार केही नरहेको, अदृश्य शक्तिको गुलाम भएर राजनीति गर्नेले देश र जनताको लागि केही गर्न नसक्ने साबित गरि दिएका छन् । शक्तिकेन्द्रको प्यादाको रूपमा सञ्चालित यी शीर्ष दलको यो अवस्था छ भने परिवर्तन चाहने साना दलहरूको के महत्व ? कटूनीतिक असन्तुलनका कारण देशको भित्र र बाहिरको सुरक्षा व्यवस्था खलबलिएको छ । अमेरिका र चीनको तनावपूर्ण स्थिति नेपालमा घनीभूत रूपमा देखिएको छ । देशको परनिर्भरता निर्वाध बढ्दै गएको छ । आकाशिएको महँगी तथा करको भारले अवसरहीन जनता तनावपूर्ण अवस्थामा रहेको छ । खर्च धान्न नसक्ने जनताको आक्रोश श्रीलंकाली सरकारलाई ध्वस्त गरेजस्तै यहाँ पनि नफुट्ला भन्न सकिँदैन । मधेशवाणीबाट
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies