२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

संसद्को पहिलो बैठकका चार दृश्य

Nada
रुपेश आचार्य
२०८२ चैत २० गते ०६:३०
Shares
संसद्को पहिलो बैठकका चार दृश्य

काठमाडौं : प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्षले सरकारको रोडम्यापबारे चर्चा गरिरहँदा विपक्षी दलहरू केही आक्रमक र ठट्यौलो ढंगले प्रस्तुत भए । संसदीय इतिहासमै युवा सांसदको बाहुल्य रहेको संसद् अधिकांशका लागि पहिलो अनुभव थियो । रास्वपा सभापति रवि लामिछानेले वर्षौंदेखि उत्पीडन र विभेदमा परेको दलित समुदायप्रति संसद्को रोस्ट्रमबाटै माफी मागे भने एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति गृहमन्त्री सुधन गुरुङले अस्वाभाविक प्रतिक्रिया जनाए ।  

ncell

सुरुमै अवरोध 

निर्वाचनपछिको पहिलो बैठक अध्यादेश टेबुल गर्ने र शुभकामना आदानप्रदान गर्ने बैठक मानिन्छ । तर, बिहीबार सदनको कारबाही सुरु हुनासाथ एमाले सांसदहरूले उठेर अवरोध गरे । सभाध्यक्ष अर्जुननरसिंह केसीले पहिलो बैठकमै विरोध प्रस्तुत नगर्न अनुरोध गरे पनि नबसेपछि एमालेका गुरु बराललाई बोल्ने समय दिइयो । बरालले एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी ढंगले पक्राउ गरेर हिरासतमा राखिएको भन्दै आपत्ति जनाए । उनीहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेपछि बल्ल नियमित कारबाही अघि बढ्यो । 

टिर्सटमाथि कोट पहिरिएका प्रधानमन्त्री 

पोसाक, प्रस्तुति, गतिविधि र मर्यादाका हिसाबले अन्य राजनीतिक मञ्चभन्दा फरक रहने कुराको हेक्का केही नयाँ सभासदहरूले नगरेको स्पष्ट देखिन्थ्यो । स्वयं प्रधानमन्त्री बालेन्द्र शाह टिसर्टमाथि उनको परिचित कालो कोट पहिरिएर सदनमा उपस्थित भएका थिए । यो दृश्य संघीय संसद्का कर्मचारी र पुराना भइसकेका सांसदका लागि अनौठो थियो । 

रविले मागे दलितसँग माफी 

रास्वपा सभापति रवि लामिछानेले आफ्नो सम्बोधनका क्रममा युगौंदेखि सामाजिक विभेद भोग्दै आएका दलितसमक्ष संसद्को रोस्ट्रमबाटै दुई हात जोडेर क्षमा मागेका छन् । यसअघि सरकारले औपचारिक रूपमै राज्यका तर्फबाट क्षमायाचना गर्ने भनिएको थियो । रास्वपा सांसद एवं दलित अभियन्ता खगेन्द्र सुनारले बैठकपछि आफ्नो समुदायले यसप्रति गर्व गरेको प्रतिक्रिया दिएका थिए । राज्यले दलितसामु क्षमायाचना गर्ने कुरा भारतीय र युरोपेली मुलुकमा समेत चर्चाको विषय बनेको उनले टिप्पणी गरे । 

आङदेम्बेको कटाक्ष  

सम्बोधनका क्रममा नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले कार्की आयोगको प्रतिवेदन औपचारिक रूपमै सार्वजनिक नगरेको विषयमा कटाक्ष गरे । ‘त्यो आयोगको प्रतिवेदन पत्रिका हेरेरै थाहा पाउनुपर्ने हो ?’ उनको प्रश्न थियो । 

महावीरको ठट्यौली 

संसद्का एक मात्र स्वतन्त्र सदस्य महावीर पुनको मन्तव्यले सदनमा हाँसोको फोहरा छुट्यो । उनले आफू सांसद हुने सोचको मानिस नभए पनि शिक्षा क्षेत्रको विसंगति रोक्ने कानुन निर्माण गर्न सदनमा आएको बताए । 

जिम्मेवारीबोध भएको छ : युवा सांसद 

बैठकमा सहभागी युवा सांसदहरूले पहिलो बैठकले आफूहरूलाई अत्यन्त जिम्मेवार स्थानमा पुगेको र थप मिहिनेत गर्नुपर्ने अनुभूत गराएको बताएका छन् । रास्वपा सांसद रञ्जु दर्शनाले आफू विगतभन्दा फरक राजनीतिक भूमिकामा प्रवेश गरेका अनुभूति दिलाएको बताइन् । 

‘मैले र मेरो उमेरका थुपै सांसदको लोगो लगाएको देखेपछि यो एउटा पद मात्र नभई बोझिलो जिम्मेवारी पनि भएको महसुस भयो,’ उनले थपिन् । 

कांग्रेस सांसद उर्मिला थपलियाले जिम्मेवार राजनीतिक अभिव्यक्ति दिने थलोमा आफू पुगेको बताइन् । ‘विद्यार्थी नेता हुँदा बोलेजस्तो होइन, गहिरो अध्ययन गर्नुपर्ने रहेछ,’ उनले भनिन् । 

एमाले सांसद ऐन महरले जनताको इच्छा, आकांक्षा र भावनाको प्रतिनिधित्व गर्नुपर्ने दायित्व बहन गर्न गम्भीर हुनुपर्ने महसुस भएको बताए ।

बालेन–हर्क भेट

विगत लामोसमयदेखि सामाजिक सञ्जालमा एक–अर्कालाई छेडखानी र टीकाटिप्पणी गर्दै आएका प्रधानमन्त्री बालेन्द्र शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच संसद्मा भेट भएको छ । संसद् बैठकपछि प्रधानमन्त्री शाहले साम्पाङलाई अँगालो हाल्दै हात मिलाएका थिए । उनीहरूबीच टेलिफोन नम्बर आदान–प्रदानसमेत भएको थियो । बालेन र हर्क दुवै २०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई काठमाडौं र धरानको मेयर जितेका नेता हुन् । उनीहरूको सम्बन्ध हार्दिक नै थियो । तर, गत जेनजी आन्दोलनपछि उनीहरूको सम्बन्ध बिग्रेको हो । साम्पाङले संसद्को पहिलो बैठकमै एमसिसी खारेजको माग राखेका छन् । 

साइकल चढेर संसद् 

रास्वपा सांसद आशिष गजुरेलले पहिलो संसद् बैठकमा सहभागी हुन साइकल चढेर सिंहदरबार पुगेपछि सबैको ध्यान तान्न सफल भए । सार्वजनिक यातायात पूर्वाधार विज्ञसमेत रहेका उनले निजी सवारीसाधनको प्रयोग घटाउने र सुरक्षित सार्वजनिक यातायात प्रयोगलाई प्रवद्र्धन गर्न आफूले साइकल सवारी गरेको बताए । ‘सार्वजनिक यातायात र साइकल प्रयोगलाई प्रोत्साहन गर्ने हो भने डिजेल–पेट्रोलमा बाहिरिने रकम जोगिने र प्रदूषण पनि कम हुनेछ,’ सञ्चारकर्मीहरूलाई उनले भने । 

ताजा खबर

सम्बन्धित खबर