मध्यान्ह संवाददाता
काठमाडौं, १६ असार । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर रुपमा उकालो लाग्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार नियमित रुपमा मूल्य समायोजन गर्न नसक्दा नेपाल आयल निगम आर्थिक रुपमा संकटको अवस्थामा पुगेको छ । आर्थिक संकटका कारण पेट्रोलियम पदार्थको आयात गर्न नै नसक्ने अवस्थामा पुगेपछि निगमले राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएको छ । बैंकले निगमलाई नेपाल सरकारको जमानीमा ३ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ ऋण दिएको छ । बैंकले अहिले बजारमा चलेको भन्दा धेरै कम ब्याजदरमा आयल निगमलाई कर्जा लगानी गरेको हो ।
निगमले काठमाडौंको टेकुमा रहेको आफ्नै स्वामित्वको २९ रोपनी जग्गा धितोमा राखेर ऋण लिएको जनाएको छ । भारतबाट महँगोमा तेल किनेर नेपालमा सस्तोमा बेचिरहेको नेपाल आयल निगम निरन्तर घाटामा गएपछि बैंकहरुबाट ऋण लिन बाध्य भएको हो । अर्थमन्त्रालय स्रोतका अनुसार ३ प्रतिशत ब्याजमा ३ अर्ब रुपैयाँ ऋण दिने विषय सहमति भइसकेको छ । ‘मंगलबार अर्थमन्त्रालयमा ३ प्रतिशत ब्याजमा ऋण दिने विषयमा सहमति भइसकेको छ, बुधबार नै पैसा निकासा गर्ने निर्णय पनि भइसकेको छ ।’
ऋणमा सरकार जमानी बसेको छ । भोलि निगमले ऋण तिर्न नसकेमा सरकारले सो विषयको जवाफदेही बन्नु पर्ने हुन्छ । उसो त राष्ट्रिय वाणिज्य पनि पूर्ण रुपमा नेपाल सरकारको स्वामित्वमा रहेको वाणिज्य बैंक हो । अर्थमन्त्रालय स्रोतका अनुसार सरकारले निगमको ५ अर्ब रुपैयाँ पनि फिर्ता गरेको छ । यसअघि निगम नाफामा रहेको समयमा सरकारले निगमबाट ५ अर्ब रुपैयाँ लिएको थियो । अहिले निगमले सो रकम फिर्ता मागेपछि अर्थ मन्त्रालयले पनि फिर्ता गरिसकेको छ । मासिक रुपमा अरबौं घाटामा रहेको आयल निगम ऋण लिएर पनि पेट्रोलियम पदार्थको नियमित रुपमा आपुर्ति गर्न सक्ने अवस्था भने रहेको छैन् । निगमको अगाडि मूल्य समायोजन वा सरकारको जमानी एउटा अनिवार्य हुनुपर्ने अवस्था रहेको देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies