काठमाडौं : नेपालका कम्युनिस्ट पार्टीहरु छरिएर रहन नहुने मान्यता राख्दै आएका वामदेव गौतमले बुधबार नयाँ पार्टी नै घोषणा गरे । पार्टी घोषणा गरेपछि उनको छटपटी निकै बढेको छ । उनी कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई भेटेर सके सबै कम्युनिस्टहरुसँग एकता नसके आफ्नो पार्टीसँगको एकताको पहल गरिरहेका छन् ।
वामदेव गौतमले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे । ओलीलाई भेट्न गौतम बिहीबार बिहान बालकोटस्थित ओली निवास गएका थिए । भेटमा गौत्तमले ठूलो पार्टीको हैसियतमा एमालेले कम्युनिस्टहरुबीच एकताको अभियान सुरु गर्नुपर्ने मत राखे ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीलाई भेटेका हुन् ।
गौतमले ओलीपछि अन्य नेताहरुसँग पनि भेटवार्ता गरेका छन् । प्रचण्डसँग पनि भेटेर गौत्तमले कम्युनिस्टहरुबीच एकता गर्नुको विकल्प नरहेको बताए । नेताहरुका अनुसार, कम्युनिस्ट एकताका लागि सबैले लचकता अपाउनुपर्ने प्रस्ताव गौत्तमले प्रचण्डसामु राखेका छन् ।
गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतसँग पनि भेट्ने तय भएको छ । निरन्तर कम्युनिस्ट एकताका लागि अभियान चलाउँदै आएका गौत्तमको पार्टी नै घोषणा गरेपछि छटपटी बढेको हो । गौतमले आफ्नै नेतृत्वमा १४ असारमा मात्रै नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका छन् । बीडी कार्कीलाई सचिव राखेर गौतमले घोषणा गरेको ७५ सदस्यीय केन्द्रीय कमिटी रहेको एकता अभियानले तीन महिनासम्म एकताको प्रयत्न गर्ने जनाएको छ ।
एकता नभए चुनावी तालमेल गर्नुपर्ने गौतमको तर्क छ । यदि तालमेल समेत नभए कम्युनिष्ट आन्दोलन सकिने उनले बताउँदै आएका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि ब्युताउन २ जेठ २०७५ को सहमति संशोधन गर्न सकिने गौतमको सुझाव छ ।
त्यसबेला दुई अध्यक्षको व्यवस्था भएपनि अब एकल अध्यक्ष राखिनुपर्ने गौतमको प्रस्ताव गरेका छन् । अर्का सहअध्यक्ष र कार्यकारी महासचिवको व्यवस्था गर्न सकिने पनि उनको भनाइ छ । गौतम नेकपा विभाजन हुँदै कतैपनि लागेका थिएनन् । तर त्यसबेलाको नेकपा अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बनेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies