२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एमालले भन्यो- सेना, प्रशासन र अन्तर्राष्ट्रिय समुदायसँग मित्रवत् सम्बन्ध छ

Nada
२०८२ चैत २० गते २०:२३
Shares
एमालले भन्यो- सेना, प्रशासन र अन्तर्राष्ट्रिय समुदायसँग मित्रवत् सम्बन्ध छ

काठमाडौं : नेकपा एमालेले नेपाली सेना, प्रशासन र अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो सम्बन्ध मित्रवत् रहेको स्पष्ट पारेको छ।  शुक्रबार पार्टीका कार्यबाहक अध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले हालै संसदमा व्यक्त अभिव्यक्तिलाई लिएर देखिएको प्रतिक्रियाको सन्दर्भमा यस्तो धारणा सार्वजनिक गरेको हो ।

ncell

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव लेखराज भट्टले प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेताले दिएको अभिव्यक्तिबारे गम्भीर छलफल भएको जानकारी दिए । उनका अनुसार संविधान र प्रचलित कानुनअनुसार गठन भएका नेपाली सेना, अन्य सुरक्षा निकाय, निजामती प्रशासन तथा अन्तर्राष्ट्रिय समुदायसँग पार्टीको सम्बन्ध पूर्ववत् रूपमा मैत्रीपूर्ण रहेको र भविष्यमा अझ सुदृढ बनाइने निर्णय बैठकले गरेको छ ।

बैठकले फागुन २१ गते सम्पन्न निर्वाचनबाट अभिव्यक्त जनमतको सम्मान गर्दै विजयी सबै जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको जनाएको छ । साथै, भारी बहुमतसहित सरकार गठन गर्न सफल भएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्लाई समेत बधाई दिइएको छ । निर्वाचनमा सहभागी मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, पर्यवेक्षक, सञ्चारकर्मी तथा नागरिक समाजप्रति पनि धन्यवाद व्यक्त गरिएको भट्टले बताए ।

यस्तै, एमालेले पार्टीका महिला कार्यकर्तामाथि भइरहेको साइबर आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको कडा प्रतिवाद गर्न र कानुनी उपचारमा सक्रिय हुन पार्टीपङ्क्तिलाई आह्वान गरेको छ। साइबर आक्रमणमा संलग्न व्यक्तिलाई कानुनअनुसार कारबाही गर्न सरकारको ध्यानाकर्षण समेत गराइएको छ ।

बैठकले वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तथा प्रतिबन्ध लगाउने निर्णयप्रति पनि कडा आपत्ति जनाउँदै सो निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

त्यसैगरी, सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने सरकारको निर्णयप्रति पनि एमालेले विरोध जनाएको छ । यस्तो निर्णयले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने ठहर गर्दै बैठकले उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर