२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एमालेमा विशेष महाधिवेशनको माग

Nada
२०८२ चैत २२ गते ०६:१५
Shares
एमालेमा विशेष महाधिवेशनको माग

काठमाडौं : प्रतिनिधि सभा निर्वाचनमा अकल्पनीय हार ब्यहोरेको नेकपा एमाले भित्र विशेष महाधिवेशन माग सुरु भएको छ । 

ncell

पार्टीका युवाहरुको नाममा सामाजिक सञ्जालमार्फत सार्वजनिक एक पत्रमा एमाले विधानका धाराहरु उधृत गर्दै विशेष महाधिवेशन वाञ्छनीय भएको उल्लेख छ । 

पार्टीकै सात जना सचिवालय सदस्य कै पहलमा सुरु भएको भनिएको उक्त पत्रमा हस्ताक्षरकर्ताको नाम र तिनको हस्ताक्षर भने उल्लेख छैन । 

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले अप्रत्यासित पराजय बेहोरेको भन्दै राष्ट्रिय महाधिवेशन माग गरिएको पत्रमा उल्लेख छ । पत्रमा संसदीय राजनीतिमा २०४८ सालदेखि २०८२ सम्म आइपुग्दा एमालेले सबैभन्दा कमजोर निर्वाचन परिणाम भोग्न बाध्य भएको उल्लेख छ । 

‘प्रत्यक्षमा १६५ सिटमा ९ (७.४५ प्रतिशत) र समानुपातिकमा १३.४ प्रतिशत मात्र मत प्राप्त गर्न सक्नु नेकपा एमालेको अहिलेको समग्र कमिटी प्रणाली र नेतृत्वप्रति नै जनताको अविश्वास प्रकट गरेको अवस्था छ,’ अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै हस्ताक्षर गराइएको पत्रमा भनिएको छ, ’राजधानी रहेको काठमाडौं उपत्यकामा १५ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रमा नेकपा एमालेको उम्मेदवारको जमानत जफत हुनु गम्भीर परिस्थिति सिर्जना भएको अवस्थाको उजागर गर्छ’, पत्रमा उल्लेख छ । 

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका पुर्वअध्यक्ष सुजन कडरियाले सुहाङ नेम्बाङलाई संसदीय दलको नेता नबनाइए पछि युवाहरुले तिब्र रुपमा हस्ताक्षर अभियान सुरु गरेको बताए । ‘करिब चार सय जनाको भइसकेको छ यो क्रम बढदै जानेछ’, उनको दाबी थियो । 

यसबारे सोध्दा पार्टी नेता सूूर्य थापाले कसैले विशेष महाधिवेशन चाहँदैमा नहुने बताए । ‘विधानमा विशेष महाधिवेशनबारे व्यवस्था छ त्यसै अनुसार हुन्छ’, उनले भने । पार्टीका पुर्व केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले निर्वाचन परिणामपछि पार्टी आबद्ध युवाहरुले स्वतः स्फूर्त रुपमा विशेष महाधिवेशनको कुरा उठाएको बताए । ‘यसले मूर्त रुप लिनसक्ने सम्भावना छ’ ,उनले भने । 

नेकपा एमालेको गत महाधिवेशनले पारित गरेको विधानमा विशेष महाधिवेशनको प्रबन्ध छ । पार्टीको विधानको धारा ७३ मा ठोस कार्यसूची र उचित कारण दर्शाइ दुई–तिहाइ जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले लिखित रूपमा विशेष महाधिवेशनको माग गर्न सक्छन्। उक्त माग पत्र दर्ता गरेको मितिले ६ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने छ।

धारा ७३ ग मा यसरी माग अनुसार विशेष महाधिवेशन नबोलाए विधानको घारा ७६(ख) आकर्षित भई महाधिवेशन माग गर्ने कमिटी वा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यले महाधिवेशन आयोजक कमिटी बनाएर विशेष महाधिवेशन आयोजना गर्न सक्ने उल्लेख छ । 

एमालेमा विगतदेखि नै नेतृत्व परिवर्तनको आवाज उठाइरहेका इतर समूह र केही युवा नेताले विशेष महाधिवेशनका लागि हस्ताक्षर गराइरहेका हुन् । 

सम्बन्धित खबर