
काठमाडौंः नेकपा एमालेले सरकारले विधिको शासनमा बाधा पुर्याएमा प्रतिवाद गर्ने बताएको छ । सोमवार सिंहदरबारमा बसेको सर्वादलिय बैठकमा एमालेले विधिको शासनलाई प्राथमिकता दिनुपर्ने बताएको हो ।
एमालेका सांसद गुरु बरालले विधिको शासनभित्र सबै गतिविधि कानुनसम्मत हुनुपर्नेमा आफूहरुले जोड दिएको बताए । कानुनको परिपालनमा एमालेले कुनै बाधा अड्चन नपुर्याउने पनि उनले बताए । तर सरकार नै विधिको शासनमा नलागे एमालेले प्रतिवाद गर्ने उनको भनाइ छ । उनले संविधानले प्रदत्त गरेका नागरिकको राजनीतिक, मौलिक र समानताको हकलाई कुनै किसिमको बाधा नपुर्याउन सरकारलाई चेतावनी दिए । नागरिकको मौलिक हक कुण्ठित गरेमा एमालेले प्रतिवाद गर्ने उनले बताए ।
सोमवार बसेको सर्वदलीय बैठकमा प्रतिनिधि सभा नियमावली संसोधन गर्नको लागि १५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरिएको छ । कार्यदलमा प्रतिनिधि सभामा उपस्थित दलहरुको सहभागिता रहनेछ । यस्तै बैठकले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय गरेको छ ।