
काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी संसदीय दलको नेता सहमतिमा चयन हुने दाबी गरेका छन् ।
सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् । संसदीय दलको नेताको आकांक्षी नेता केसीले आफूले संघीय संसदमा ज्येष्ठ सदस्यको हैसियतले सभामुखको भूमिका निर्वाह गर्नुपरेकाले पार्टी संसदीय दलको नेता चयनको काममा ढिलाइ हुन गएको समेत स्पष्ट पारे ।
सभामुखको जिम्मेवारीमा बसेका व्यक्तिले पार्टीको गतिविधिमा भाग लिन नपाउने भएकाले पनि कांग्रेस पदाधिकारी बैठकले दलको नेता चयनका लागि आवश्यक निर्णय ढिलाइ गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
नेता केसीले दलको नेतामा केही नेताहरूको दाबी रहेको उल्लेख गर्दै आपसमा छलफल गरेर सहमतीमा चयन हुने जिकिर पनि गरे । उनले २-३ दिनभित्र कांग्रेस संसदीय दलको नेता चयन हुने समेत बताए ।
नेता केसीले सभामुख गरिमामय पद भएकाले संसद्को विशेषाधिकारको संरक्षण हुनेगरी भूमिका निर्वाह गर्नुपर्ने अनुभूति आफूले गरेको पनि प्रतिक्रिया दिए ।