
काठमाडौं : प्रतिनिधिसभाले आइतबार सभामुखको निर्वाचन सम्पन्न गरेपछि सोमबारदेखि उपसभामुखको निर्वाचन र सम्भावित उम्मेदवारबारे विभिन्न आकलन सुरु भएका छन् । सभामुखमा रास्वपाका डिपी अर्याल निर्वाचित भइसकेका छन् ।
संवैधानिक परिषद् सदस्यको हैसियतसमेत रहने उपसभामुख चयनमा संसद्मा झन्डै दुईतिहाइ शक्ति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका निर्णायक हुनेछ । उपसभामुख उही दलबाट बन्न नमिल्ने भएकाले संसद्मा रहेकामध्ये रास्वपाबाहेकका दलबाट निर्वाचित हुनुपर्ने संवैधानिक बाध्यता छ ।
यसैअनुरूप अर्को दललाई उपसभामुख दिँदा गैरवामपन्थी वा निर्वाचनमा आफूूसँग सिधा टक्कर परेका दलबाहेकलाई समर्थन गर्ने मुडमा रास्वपा नेता छन् । ‘पहिलो त एमालेलाई हुँदैहुँदैन भन्ने हो । त्यसबाहेक हर्क साम्पाङको श्रम संस्कृति पार्टी विकल्प बन्न सक्छ,’ पार्टी नेतृत्वलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर हर्क साम्पाङको अभिव्यक्ति र अस्थिर चरित्रका कारण रास्वपाले विकल्प खोजी रहेको छ ।’
पछिल्लो समय राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही र रास्वपा सभापति रवि लामिछानेबीच संवाद हुनुलाई पनि उपसभामुखको निर्वाचनसँग जोडेर हेर्न थालिएको छ । शाही र लामिछानेबीच गत शनिबार दिउँसो एक घन्टा वार्ता भएको थियो । संविधानतः सभामुख र उपसभामुख फरक दल र लिंगका निर्वाचित हुनुपर्ने हुन्छ । सभामुखमा पुरुष भएपछि अब उपसभामुखका लागि महिला हुनु अनिवार्य छ ।
उपसभामुख पद मात्र नभएर संवैधानिक परिषद्को सदस्य पनि हो । परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहन्छन् । ‘राष्ट्रिय सभाका अध्यक्ष वाम पृष्ठभूमिको भएको र उपसभामुख पनि दिँदा सरकारलाई अप्ठ्यारो पार्न सक्ने अवस्था रहन सक्छ,’ ती नेताले भने ।
रास्वपा स्रोतका अनुसार सभापति रवि लामिछाने उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिन चाहन्छन् । उक्त पार्टीबाट एक मात्र महिला सांसद खुश्बु ओली छिन् । यसैगरी प्रधानमन्त्री बालेन्द्र शाहको रुचि भने श्रम संस्कृति पार्टीलाई दिनेछ । श्रम संस्कृतिकी रुवि कुमारीको सम्भावना बढी रहेको रास्वपा स्रोतले जनाएको छ ।
सभामुख आफ्नो दलको भएपछि उपसभामुखमा रास्वपाले कसलाई सघाउँछ भन्ने जिज्ञासा सर्वत्र छ । ‘आफूले गर्न चाहेको काम संवैधानिक परिषद्मा कतै नअड्कियोस् भन्ने सोच सत्तारुढ रास्वपाको छ । विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपाले उपसभामुखमा दाबी रहने बताए पनि औपचारिक निर्णय गरेका छैनन् । नेकपा एमालेले पनि यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छैन ।
सोमबारको संसद् बैठकपछि सञ्चारकर्मीहरूले यसबारे सोध्दा रास्वपा सांसद खुश्बु ओलीले पार्टीले उपसभामुख पदका लागि कुनै निर्णय नगरेको बताइन् । ‘पार्टीले यस विषयमा निर्णय गर्ला, मेरो चाहना के हो भन्ने कुराले यसमा खासै अर्थ राख्दैन ।’
सबै दलले उठाउने सम्भावना
उपसभामुखमा साना–ठूला, नयाँ–पुराना सबै राजनीतिक दलले उम्मेदवारी दिने मनस्थिति बनाएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलका नेताको चयनपछि मात्र उपसभामुखबारे निर्णय गर्ने सांसद उर्मिला थपलियाले बताइन् । यसैगरी नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लका अनुसार संसदीय दलका नेता पुष्पकमल दाहालले उपसभामुखमा नेकपाका तर्फबाट उम्मेदवार रहने जानकारी सांसदहरूलाई दिएका छन् ।