२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नेताविहीन प्रमुख प्रतिपक्ष

Nada
जीवन शर्मा
२०८२ चैत २४ गते ०६:३०
Shares
नेताविहीन प्रमुख प्रतिपक्ष

काठमाडौं : प्रतिनिनिधिसभाको निर्वाचनबाट आएको नयाँ संसद्ले सभामुख पाएर संसद्को कार्य नियमित अघि बढिसकेको छ । नयाँ जनादेशअनुसार सरकार गठन भएको समेत करिब दुई हप्ता बित्न लागिसकेको छ । 

ncell

संसद्मा प्रतिनिधित्व गर्ने ६ मध्ये पाँचवटा राजनीतिक दलले संसदीय दलको नेता चयन गरेर नियमित कार्यप्रारम्भ गरिसकेका छन् । तर, संसद्को प्रमुख प्रतिपक्षको हैसियतमा रहेको दोस्रो ठूलो दल नेपाली कांग्रेस अझै संसदीय दलको नेताविहीन छ । विपक्षी दलको नेता संवैधानिक परिषद्को समेत सदस्य हुने व्यवस्था रहेकाले दलको नेतामा आधा दर्जनको दाबी छ ।

कांग्रेसले आज मंगलबारका लागि संसदीय दलको बैठक आह्वान गरेको छ । यद्यपि आजै दलको नेता छनोट हुने निश्चित छैन । दलको नेता छान्नका लागि सकभर सहमतिको प्रयास रहने, नत्र चुनावी प्रक्रियाबाट अघि बढ्ने कांग्रेसको परम्पराअनुसार पनि दलको नेता चयनमा केही दिन लाग्ने कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए ।   

पार्टीको आन्तरिक झगडाका कारण दलको नेता चयनमा विलम्ब भएको नेताहरूले बताएका छन् । संसद्मा रास्वपा, कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति र राप्रपाको प्रतिनिधित्व छ । कांग्रेसबाहेक सबै दलले नेता छनोट गरिसकेका छन् । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्र शाह नै हुन् भने एमालेले रामबहादुर थापा, नेकपाले पुष्पकमल दाहाल, श्रम संस्कृतिले हर्क साम्पाङ र राप्रपाले ज्ञानबहादुर शाहीलाई दलको नेता चयन गरिसकेका छन् । पार्टीभित्रको विवादकै कारण प्रमुख प्रतिपक्षी दल कांग्रेस नेताविहीन अवस्थामा गुुज्रिएको कतिपय नेताहरूले टिप्पणी गरेका छन् ।  

दुई समूहबीच निर्वाचनमा एकता देखिए पनि निर्वाचनतपछि विशेष महाधिवेशनको वैधतासम्बन्धी विवाद फेरि चर्किएको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्व र केन्द्रीय कार्यसमितिको अस्तित्व अस्वीकार गर्दै आएको छ । सभापति गगन थापाकै हस्ताक्षरबाट टिकट लिएर चुनाव लडेका कतिपय नेताहरूले समेत प्रश्न उठाइरहेका छन् । 

कांग्रेसमा विशेषगरी पाँचजना सांसदले दलको नेता बन्ने इच्छा राखेका छन् । सिंगो सदनको प्रमुख प्रतिपक्षी दलको नेता बन्नका लागि सांसदहरू अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, नरेन्द्र केरूङ र निश्कल राईले दाबी गरेका छन् । 

यीमध्ये केसी र आङदेम्बेमध्ये एकजनाले नेताको जिम्मेवारी पाउने नेताहरूको दाबी छ । संस्थापनका हिसाबले अर्जुननरसिंह केसीको नाम अगाडि भए पनि सभापति गगन थापा ‘ससुरालाई दलको नेता बनाएको आरोप आउने’ मा सजग रहेको एक नेताले बताए । संस्थापनइतरबाट सांसद बनेका भीष्मराजले विशेष महाधिवेशनलाई स्वीकार गरेको सन्देश दिएका छन् । आङदेम्बेले गत १६ गते संसद्को पहिलो बैठकमा नेपाली कांग्रेस विशेष महाधिवेशनबाट सुधारिएर आएको बताएका थिए । विशेष महाधिवेशनको निर्णय खारेजीको माग गर्दै पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाका पक्षमा समेत उनी छैनन् । उनका पछिल्ला अभिव्यक्ति र गतिविधिप्रति वर्तमान नेतृत्व सकारात्मक देखिएको छ । 

पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेता आङदेम्बेका पछिल्ला अभिव्यक्तिमा विशेष महाधिवेशनप्रति स्वीकारोक्ति देखिएको छ । संस्थापन लाइनप्रति झुकाव देखिएकाले उनलाई दलको नेता बनाउन नेतृत्व सकारात्मक रहेको एक नेताले मध्यान्हलाई बताए ।  

दलको नेताको प्रमुख दाबेदार देखिएका नेता अर्जुननरसिंह केसीले पनि संसदीय दलको नेता सहमतिमा चयन हुने बताएका छन् । यही हप्ताभित्रै दलको नेता टुंगो लाग्ने उल्लेख गर्दै उनले भने, ‘मंगलबार संसदीय दलको बैठक बस्दै छौं । दुई–तीन दिनभित्रै टुंग्याउँछौं । अहिले को ब्याक हुने, को अगाडि बढ्नेभन्दा पनि सहमतिमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं ।’

कांग्रेसका सभापति गगन थापासहित सबै पदाधिकारी र पूर्वपदाधिकारी समेतले चुनाव हारेपछि दलको नेता को बनाउने भन्ने तनाव देखिएको छ । कार्यक्षमता र अनुुभवका आधारमा केसी नै दलको नेताको स्वाभाविक दाबेदार भए ‘नातावाद’को नाराले उनलाई सहज छैन । केसीले सभापति गगन थापासँग आफ्नो नाता जोडेर प्रहार भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले भने, ‘गगन थापा र मलाई जोडेर प्रहार भइरहेको छ । गगन थापाको आफ्नै हैसियत र व्यक्तित्व छ । म धेरै अगाडिदेखि राजनीतिमा लागेको हुँ, त्यो नातालाई जोडेर व्याख्या गर्नुपर्ने कुनै कारण छैन ।’ 

संसदीय व्यवस्थामा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार समेत हुन् । तर करिब दुईतिहाइ बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूरै समय काम गर्ने मौका पाएको छ । कांग्रेससँग ३८ सिट मात्र रहेकाले भावी प्रधानमन्त्रीमा उसको सम्भावना कमजोर छ । यद्यपि विपक्षी दलको नेताले पाउने सेवासुविधा र संवैधानिक परिषद् सदस्यको हैसियतले सो पदलाई आकर्षक मानिन्छ । 

सम्बन्धित खबर