
काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार नभेटेको बताएका छन् । हाजिरी जमानीमा रिहा भएलगत्तै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरिएको पनि बताए ।
‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु,’ उनले भनेका छन्, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु । साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’
प्रहरी नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासनप्रति उनले कृतज्ञता ज्ञापन गरे । साथै स्वास्थ्य उपचारमा खटिएका सबैप्रति कृतज्ञ रहेको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु ।’
उनले आफ्नो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।उनले थप उपचारका लागि केही समय अस्पतालमै रहने पनि उल्लेख गरे ।
