
काठमाडौँ: श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बनेकी रूबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बन्ने पक्का भएको छ । संसदकै ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गरेपछि उनी कम उमेरकी उपसभामुख बन्दैछिन् । रास्वपासहित नेपाली कांग्रेस र नेकपाले समेत उनलाई समर्थन गरेका छन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका– १४ निबासी २६ वर्षीया रुबी इञ्जिनियरिङकी विद्यार्थी हुन् । उनी बालविवाहको विरुद्धमा आवाज उठाउने अभियन्तासमेत हुन् । मधेश प्रदेशमा विकराल दाइजोप्रथा र बालविवाह न्यूनीकरणमा आवाज उठाउदै आएकी रुबी २०८२ सालको प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिक सांसद बनिन् ।
संसदमा ७ सिटमात्र प्राप्त गरेको श्रम संस्कृति पार्टीले उपसभामुखको दावी गरेको छ । कांग्रेस, एमाले, नेकपा, राप्रपासमेतले दाबी गरेको उपसभामुख पद रास्वपाको समर्थनविना कसैले जित्न सक्ने स्थिति छैन । रास्वपाले सुरुमा राप्रपालाई समर्थन गर्ने जनाएको थियो । रास्वपा सभापति रवि लामिछानेले राप्रपा नेता ज्ञानेन्द्र शाहीलाई फोन गरेरै साथ दिने बताएका थिए । तर, आधा घण्टामै रास्वपाको निर्णय उल्टिएको थियो । रास्वपाले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएसँगै ठाकुरको जित सुनिश्चित भएको हो ।
उनको अगुवाईमा मधेशमा १६ वर्ष नपुग्दै हुने बालविवाहको विरुद्धमा आवाज उठाइएको थियो । रुबीका अनुसार उनको पनि सानै उमेरमा विवाहको कुरा चलेको थियो । परिवारले विवाहका लागि कुरा गरेपछि उनले त्यो प्रस्ताव अस्वीकार गरेर समाजसेवाको बाटो रोजिन् ।
रुबीका बुबा अहिले पनि बैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । विवाहको लागि दाइजो जम्मा गर्नकै लागि मधेशका धेरै चेलीहरूको बुबा, दाजुभाइ आज पनि विदेशमा पसिना बगाइरहेको उनी बताउँछिन् । छोरीलाई दाइजो हैन, सक्षम बनाउनुपर्ने धारणा बोकेर राजनीतिमा लागेकी उनी संघीय संसदमा आफ्ना मुद्दाहरू पोख्ने ठाउँमा पुगेकी छन् ।
रुबि सामान्य परिवारबाट नेपाली राजनीतिमा उदाएकी पात्र हुन् । सामाजिक विभेदले उनलाई राजनीतिमा आउन प्रेरीत गरेको थियो । उनी हर्क साम्पाङलाई सामाजिक सञ्जालबाट नियालिरहेकी थिइन् । सामाजिक सञ्जालबाटै हर्कलाई समर्थन गर्दै आएकी उनको त्यहीँबाट राजनीतिक ढोका खुल्यो । हर्कले उनलाई मधेशी जनजाति क्लस्टरबाट समानुपातिक सांसदको उम्मेदवार बनाए । उनी पार्टीबाट कान्छी सांसद हुँदै उपसभामुख बन्दैछिन् ।
चार बहिनी, दुई भाइ, आमा बुबासहितको पारिवारिक पृष्ठभूमि भएकी रुबीकुमारी शिक्षा र राजनीतिलाई एकसाथ लैजाने योजनामा छिन् । उपसभामुखको कुर्सीमा पुगेर अझै सामाजिक न्यायका लागि आवाज बन्न चाहेको उनी बताउँछिन् । ‘सानै उमेरमा ठूलो जिम्मेवारी काँधमा आउँदैछ । तर, म देशका लागि गर्न सक्छु भन्ने आत्मविश्वास छ’ उनले भनिन् ।
पहिलोपटक सांसद् बनेर उपसभामुख बन्ने अवसर प्राप्त भएकोमा उनी निकै खुशी छिन् । ‘म त मधेशको गाउँकी एउटी छोरी हुँ । यो उपलब्धि सबै मधेशका जनताको हो’ उनले मध्यान्हसँग भनिन्, ‘मलाई धेरै खुसी लागेको छ । सबैप्रति म आभारी छु ।’ उनले मधेशका मुद्दा अझ सशक्त भएर उठाउने प्रतिबद्धतासमेत गरिन् ।