
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई अर्थात् हर्क साम्पाङ हाल दार्चुलाको व्यास गाउँपालिका दुईस्थित घट्टेखोलामा छन् । उनी त्यसक्षेत्रमा भ्रमण वा अन्य उद्देश्यका लागि गएका होइनन् । बरु त्यस क्षेत्रमा काठा दुम्लिङ र आसपासका गाउँलाई जोड्ने घट्टे खोलामा पुल बनाउँदै छन् । गत आइतबारदेखि साम्पाङ नेतृत्वको करिब ३० जनाको टोलीले पुल बनाउँदै छ । उक्त टोली खोलाको छेउमा स–साना टेन्ट बनाएर बसेको छ । नेपाली भूमिमा बाटो नभएपछि महाकाली नदीमा तुइन तरेर भारतीय भूमि हुँदै सदरमुकाम जानुपर्ने बाध्यता व्यास गाउँपालिकाबासीमा छ । पुल बनेपछि स्थानीयलाई दैनिक जीवनयापनमै सहज हुनेछ ।
झट्ट हेर्दा प्रतिनिधिसभा सदस्य किन पुल बनाउन हिँडेका होलान् भन्ने प्रश्न जन्मिन्छ । किनभने सांसदको मुख्य काम कानुन बनाउने हो । तर, हर्क आफू जुन पृष्ठभूमिबाट राजनीतिमा आए त्यसलाई नै ब्रान्ड बनाउन खोज्दै छन् । श्रमप्रधान राजनीतिलाई निरन्तरता दिएरै थप राजनीति अगाडि बढाउन खोज्दै छन् । यसनिम्ति प्रतिनिधिसभाको पाचौं ठुलो दलको नेता भएर पनि उनी सडक, पुल, बाँध वा पानी आयोजना्जस्ता आधारभूत पूर्वाधारमा जनतासँगै हात मिलाएर अगाडि बढिरहेको सन्देश प्रवाह गरिरहेका छन् ।
मेयरमा पनि उनी यसैगरी उदाएका थिए । २०७९ सालमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित हुनुअघि र निर्वाचित भएपछि पनि उनले श्रमदानको संस्कृतिलाई निरन्तरता दिए । जसले उनलाई स्थानीय जनतामा लोकप्रियता दिलायो । मेयर भएकै अवधिमा उनले धरानको पानी समस्या समाधानमा काम गरे । सडक सुधार, स्वच्छता अभियानजस्ता परियोजना अगाडि सारे र त्यसमा स्वयं नागरिक सहभागिता सुनिश्चित गर्दै शासक–नागरिक साझेदारीको नयाँ मोडल प्रस्तुत गरे ।
साम्पाङ मेयरको रूपमा काम गर्दै थिए । गत भदा २३ र २४ मा जेनजी आन्दोलन भयो । आन्दोलनपछि २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन भयो । निर्वाचनमा साम्पाङ श्रम संस्कृति पार्टीको स्थापना गरेर होमिए । श्रमप्रधान राजनीतिलाई आधार बनाएर स्थापित पार्टीले मूल सिद्धान्त नै श्रमदान, आत्मनिर्भरता र समुदाय–आधारित विकास भनेको छ । पार्टीको चुनाव चिह्न नै माटो राखिएको छ । यसले श्रमसँग सम्बन्ध जनाउँछ ।
प्रतिनिधिसभा सदस्य भएर पनि उनले आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय सडक निर्माण, पानी आपूर्ति, कृषि सुदृढीकरण, स्वास्थ्य सेवाको पहुँच विस्तार र शिक्षा प्रणाली सुधारको एजेन्डा छाडेका छैनन् । गफ गर्ने तर काम नगर्ने राजनीतिलाई बदल्न राजनीतिमा आएको बताउँछन् । यसलाई ढाडस दिने उनका विगतका कामका उदाहरणसमेत छन् ।
एउटा उदाहरण हो– धरान पानी परियोजना । धरानमा पानीको अभावलाई समाधान गर्न हर्कले स्थानीय सहभागितामा पाइपलाइन बिछ्याउने अभियान चलाए, जहाँ सयौं स्वयंसेवक सहभागी भए । ९८ दिनभन्दा कम समयमा पानीको समस्या समाधान गरे । यो अभियानले देखायो कि सरकारी अनुदान र ठुलो बजेटकै भरमा मात्र होइन, जनशक्ति र सामूहिक श्रमदानले पनि महत्वपूर्ण प्रगति सम्भव छ ।
अर्को उदाहरण छ– वृक्षरोपण र वातावरण संरक्षण । धरानमा हर्कको नेतृत्वमा वृक्षरोपण अभियान चलाइयो, जहाँ हजारौं विरुवा रोपिएका छन् र त्यसमा स्थानीय समुदायलाई वृक्ष संरक्षणमा समावेश गरिएको छ । यसले प्राकृतिक सन्तुलनमा भाग लिन र दिगो पर्यावरण संरक्षणको संदेश फैलाउन मद्दत गरेको छ । अर्थात्, साम्पाङ सिर्फ सडक÷पानी होइन, समग्र सामाजिक र वातावरणीय उत्थान लाई पनि श्रमधानमार्फत अघि बढाउन खोजिरहेका छन् ।
राष्ट्रवादको राजनीतिमा नजर
प्रतिनिधिसभामा एउटा शक्तिको रूपमा उपस्थित भएपछि साम्पाङ राष्ट्रवादको राजनीतितर्फ लहसिएका छन् । भारतीय सीमा क्षेत्रका नागरिकलाई सास्ती भयो भन्दै उनी दार्चुलाको व्यास गाउँपालिका–२ स्थित घट्टेखोलामा पुल बनाउन गएका हुन् । उनले राजनीतिमा श्रमदानलाई सँगै लैजान खोजिरहेका छन् ।
उनी केवल विधायक बनिरहन खोजिरहेका छैनन् । यसनिम्ति उनले हर्कवाद भन्ने नयाँ विचार नै अगाडि सारेका छन । उनको व्याख्याअनुसार हर्कवाद भनेको र श्रम, आत्मनिर्भरता, समुदाय–सहयोग र स्थानीय शासनलाई जोड दिने नीति वा दर्शन हो । यसले परम्परागत राजनीतिक भाषणवादभन्दा व्यवहार र योगदानवादलाई बढी महत्व दिन्छ ।
हर्कवादका मूल तत्वको रूपमा श्रमसम्मान रहेको छ । जहाँ सबै काम सम्मानित र आवश्यक छ भन्ने मान्यता हुन्छ । आत्मनिर्भर विकासको कुरा गरिएको छ । जसअन्तर्गत विदेशी कर्जा भोकका बजेटभन्दा स्थानीय श्रम र स्रोतलाई प्राथमिकता दिने नीति तय गर्नुपर्ने भनिएको छ । समुदाय–आधारित निर्णय भनेर नीति केवल सत्ता केन्द्रमा होइन, जनतासँग मिलेर विकासै–निर्माण गर्न हो भन्ने भाष्य स्थापित गर्न खोजिँदै छ ।
यही नीतिअन्तर्गत साम्पाङले अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी) खारेज गर्नुपर्ने बताउँदै आएका छन् । प्रतिनिधिसभाको बैठकमा पनि यो विषय उठाएका छन् । नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने भन्दै विदेशी सहयोग लिँदा ख्याल गर्नुपर्ने बताएका हुन् ।
तर, अब हर्कले अहिले प्राप्त गरेको शक्तिले मुलुकको नीति बदलिनेवाला छैन । यस निम्ति थप राजनीति दह्रिलो बनाउन सक्नुपर्छ । उनले सन्देश दिएका छन्– देश निर्माण केवल कागजमा लिखित नीति र भाषणबाट हुँदैन, देशले न्याय, विकास र समृद्धि श्रमबाट पाउँछ । हर्कको श्रमले विश्वास जितेको छ । यही विश्वासले उनको राजनीतिक यात्रालाई राष्ट्रिय स्तरको बनाएको छ ।