
कोभिड महामारीमा उनी संक्रमितको उद्धारमा जुटेका थिए । जेनजी आन्दोलनमा पनि सुरुमा स्वयंसेवक बनेर प्रदर्शनमा सहभागी सुधन गुरुङ अन्ततः सो आन्दोलनकै नेता बन्न पुगे । प्रहरी दमनपछि तितरबितर भएको जेनजी आन्दोलन बटुलेर २४ भदौको प्रतिरोधको माहोल बनाउने पात्रका रूपमा पनि उनलाई लिइन्छ ।
जेनजी आन्दोलनको मर्म भन्दै रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका तत्कालीन मेयर बालेन्द्र शाहलाई एकठाउँ उभ्याउने पनि उनै गुरुङ हुन् । जेनजी आन्दोलनदेखि रास्वपाको जितसम्म भूमिका निर्वाह गरेर गुरुङ वर्ष राजनीतिको टप टेनभित्र परेका छन् ।
गोरखाबाट चुनाव जितेर अहिले उनी गृहमन्त्री छन् । सरकार बनेको दुई सातामै एक दर्जन धेरै हाई प्रोफाइल नेता तथा व्यवसायीलाई पक्राउ गरेर अहिले पनि उनी चर्चामै छन् ।
जब २३ भदौमा जेनजी अगुवाहरू भ्रष्टाचारविरोधी नारा लिएर सुशासनका पक्षमा सरकारमा शान्पिूर्ण आन्दोलनमा निस्किए । सो आन्दोलनताका उनी ‘हामी नेपाल’का प्रतिनिधि भएर आन्दोलनकारीलाई पानी बाँड्ने स्वयंसेवकका रूपमा माइतीघर पुगेका थिए । युवाहरूले प्रदर्शन अघि बढाउँदा उनी पानी बाँड्दै थिए । तर, जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण प्रदर्शनको अनुमतिका लागि निवेदन दिने पनि उनै गुरुङ थिए ।
२३ र २४ भदौको विध्वंसमा उनको संलग्नताप्रति अहिले पनि प्रश्न उठाइन्छ । जलेका संसद् भवनदेखि बालुवाटारसम्म गुरुङ देखिन्छन् । उनीसँगै टिओबी समूह पनि देखिएकाले जेनजी आन्दोलनको एउटा संदिग्ध पात्रका रूपमा गुरुङलाई लिइन्छ । तर, आन्दोलनका सहिदको अन्त्येष्टिदेखि परिवारलाई दिएको सहानुभूति, घाइतेको उपचारमा देखाएको सक्रियता र बिथोलिएको राजनीति ट्रयाकमा ल्याउन उनले खेलेको भूमिकाको प्रशंसा हुने गर्छ ।
भदौ २४ पछिको उनको भूमिका एकाएक फेरि आन्दोलनकै मूल नेतृत्वकर्ताजस्ता देखिए । आन्दोलनको रापतापले राजनीतिक नेतृत्वविहीन भएको मुलुकमा प्रधानमन्त्री बनाउनेदेखि सरकारको बचाउमा उनको भूमिका देखियो । नेपाली सेनाले चलाएको छलफलमा उनी अगुवाका रूपमा प्रस्तुत भए । त्यसबेला कतिपयले जेनजी अगुवा तथा आन्दोलनकारीले उनलाई आन्दोलन ‘हाइज्याक’ गरेर आरोपसमेत लगाए ।
सुशीला कार्की नेतृत्वको सरकार बन्दा खेलेको भूमिका र अन्तरिम सरकारमा उनको हस्तक्षेपले आममान्छे चकित थिए । गुरुङले आफ्नै समर्थनमा सरकार बनेको दुई दिनपछि नै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै मध्यरातमा बालुवाटारमा प्रदर्शनसमेत गरेका थिए । यद्यपि, कार्कीले उनलाई ‘जेठो छोरा’ भन्ने गरेकी थिइन् । उनै गुरुङ संसदीय राजनीतिमा आउनासाथ मुलुकको शक्तिशाली दुईतिहाइको सरकारका गृहमन्त्री भएर काम गर्दै छन् ।