
केपी ओलीको साढे तीन वर्ष लामो प्रधानमन्त्रीत्वकालमा उनीपछिको दोसो वरीयतामा थिए, ईश्वर पोखरेल । पछिल्लो महाधिवेशनमा उनीहरू एक–अर्काका प्रतिस्पर्धी भए । त्यसअघिसम्म ओलीको धारणा सुन्ने र त्यसलाई बाहिर ल्याउने आधिकारिक व्यक्ति नै पोखरेल हुन्थ्ये ।
उनै पोखरेलले एकपटक नेताहरूसँग भनेका थिए– ‘अध्यक्षज्यूलाई गाडी (पार्टी र सरकार) सडकको बीचबाट सुुरक्षित चलाउनू भन्यो, तर डिलडिलबाट लैजान मात्र खोज्नुहुन्छ ।’
त्यो सुनेपछि ओलीको सचिवालयका एक सदस्यले प्रतिप्रश्न गरेका थिए, ‘निजामती जागिरजस्तो सजिलो खोजेर राजनीति चल्छ र ?’
संयोगले पोखरेलले भनेझैं पछिल्लो निर्वाचनले केपी ओली मात्र होइन सिंगो एमालेलाई सत्ता राजनीतिको केन्द्रबाट किनारामा पुर्याइदिएको छ । २०८२ को उथलपुथलको एउटा मुख्य पात्र उनै ओली बन्न पुगे ।
ओलीकै हठका कारण यो परिस्थिति आएको आमबुझाइ छ । भदौ २३को जेनजी आन्दोलनको मुख्य ‘ट्रिगर प्वाइन्ट’ ‘सामाजिक सञ्जाल प्रतिबन्ध’को निर्णय थियो । सामाजिक सञ्जाल संसारभरका नेपालीबीच सूचना आदान–प्रदानको सहज साधन मात्र होइन, लाखौं नेपालीको रोजीरोटीको माध्यमसमेत बनेको थियो । सरकारले बन्द गरे पनि प्रयोगकर्ताले ‘भिपिएन’मार्फत सञ्जाल प्रयोग गर्न सक्छन् भन्ने हेक्का राखिएन । विखण्डनको एजेन्डा बोकेका सिके राउत र सशस्त्र गतिविधिलाई नै साध्य मानेर द्वन्द्वतिर फर्किएका नेत्रविक्रम चन्द (विप्लव)सँग बालुवाटारमा वार्ता गरेका ओलीले ‘सुशासनको माग’ राख्नेहरूसँग पनि वार्ता गरेको भए परिस्थितिले अर्कै मोड लिन सक्थ्यो । यहाँनिर ओलीको हठले परिस्थति बिगारेको स्वयं एमाले नेताहरू बताउँछन् ।
सामाजिक सञ्जालमा आफूविरुद्धका टिप्पणी देखेपछि नियन्त्रणको सोच ओलीले सुरुमै बनाएका थिए । तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूले १३ महिना पछि धकेलिदिएको बताएका थिए । सामाजिक सञ्जाल सरकारको सम्पर्कमै नआउने, अदालतको आदेश र प्राविधिक जटिलताका कारण साइबर अपराधको अनुसन्धान सरकारलाई कठिन भएकै हो । तर, नियमनको साटो नियन्त्रणको बाटो रोज्दा ठुलो विद्रोह भयो र ‘राजनीतिक कोर्स’ नै बदलियो । पछिल्लो आमनिर्वाचनसँगै त्यसले वैधता पनि पायो ।
संविधान निर्माण, भारतीय नाकाबन्दी, चुच्चेनक्सालगायत मुुद्दाले उचाइमा पुगेको राजनीतिक व्यक्तित्व उनकै हठका कारण गल्र्यामगुर्लुम ढल्यो । मुख्य प्रतिस्पर्धीसँग साँठगाठ गरेरै पनि सत्तामा जानैपर्ने र सत्तामा पुगेपछि कसैको नसुन्ने ओली हठले उनलाई सत्ताको छेउछाउमै आउन नसक्ने गरी किनारा लगाइदिएको छ ।